देशको घाटा पछिल्लो समयकै उच्च, विदेशी सन्चिती घट्यो



काठमाडौं । देशबाट भित्रनेभन्दा बाहिरिने रकमको अन्तर(शोधानान्तर) घाटा पछिल्लो एक दशक यताकै उच्च रकममा पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांक अनुसार शोधानान्तर २४ अर्ब ७३ करोड रुपैयाँले घाटामा छ ।

चालु आर्थिकवर्षको सुरुवातदेखि नै शोधानान्तर घाटामा रहदै आएको छ । देशमा आउने रकमभन्दा जाने रकम बढी भएपछि शोधानान्तर घाटा हुन्छ । यसले बैकिङ प्रणालीमा मुख्य रुपमा तरलता संकटको अवस्था सिर्जना गर्छ । जुन अहिले नेपालको बैकिङ प्रणालीले भोगिरहेको छ ।

नेपालमा पछिल्लो दशकमा शोधानान्तर घाटा आर्थिक वर्ष २०६६÷६७ सालमा थियो । त्यो बेला शोधानान्तर घाटा २४ अर्ब सम्म पुगेको थियो । यो पटक शोधानान्तर घाटाले सबै रेकर्डलाई जित्ने सम्भावना बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले ८ महिनाको आर्थिक स्थितीको प्रतिवेदन सार्वजनिक गर्दै आयातको स्तर बढ्दै जादा शोधानान्तर घाटा बढ्दै गएको भनेको छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो ८ महिनामा ५३ अर्ब रुपैयाँको निर्यात भएको छ । जबकी आयात ७ खर्ब ६७ अर्ब रुपैयाँको भएको छ ।

शोधानान्तरलाई थेग्ने रेमिटेन्सको बृद्धिदरमा आएको कमीको कारण यसको शोधानान्तर घाटा चुलिएको हो ।

८ महिनामा ४ खर्ब ७१ अर्ब रुपैयाँको रेमिटेन्स आएको छ । अघिल्लो वर्षभन्दा यो ४.९ प्रतिशतले बढी हो ।

शोधानान्तर घाटा बढ्न थालेसँगै देशको विदेशी सन्चितीपनि घट्न थालेको छ ।

२०७४ असार मसान्तसम्ममा १० खर्ब ७९ अर्ब रहेको विदेशी सन्चिती माघ मसान्तसम्ममा १० खर्ब ४९ अर्बमा झरेको छ ।

अहिले रहेको विदेशी सन्चितीले करिब १० महिनाको बस्तु तथा सेवा आयात भने धान्न सक्छ ।


क्लिकमान्डु