सरकार र बैंक दुबै असहयोगी, देशैभर घट्यो घरजग्गा कारोबार



काठमाडौं । देशैभर घरजग्गाको कारोबार घटेको छ । सरकारले नयाँ प्लटिङमा रोक लगाएपछि र बैंक तथा वित्तीय संस्थाको ब्याजदर महंगो भएपछि घरजग्गाको कारोबार घटेको हो ।

घरजग्गाको कारोबार घटेपछि त्यसको प्रत्यक्ष असर घरजग्गा क्षेत्रबाट उठ्ने राजस्वमा देखिएको छ ।

चालू आर्थिक वर्षको फागुन महिनासम्ममा घरजग्गा क्षेत्रबाट १३ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको भूमिसुधार तथा व्यवस्थापन विभागले जनाएको छ । गत वर्ष फागुन महिनासम्ममा १४ अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

विभागका अनुसार फागुन महिनामा मात्र २ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष फागुन महिनामा १ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

महिनागत आधारमा विश्लेषण गर्दा माघभन्दा फागुनमा घरजग्गा कारोबार थप घटेको देखिएको छ ।

माघ महिनामा देशभरबाट घरजग्गाबाट २ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । फागुनमा आउँदा यो घटेर २ अर्ब रुपैयाँमा रहेको छ ।

बैंकको ब्याजदर र सरकारको नीतिको कारण घरजग्गाको कारोबार घटेको घरजग्गाका एक व्यवसायीले बताए ।

‘प्लटिङ रोक्ने नीतिसँगै कारोबार धेरै क्षेत्रमा बढेको छैन, जग्गा किन्न चाहनेलाईपनि मुल्य घट्ने अनुमानको आधारमा आएका छैनन्,’ ती व्यवसायीले भने ।

चैत महिनामा कारोबार अझै घटेको अनुमान व्यवसायीको छ ।

अघिल्लो वर्ष र यो वर्षको महिनागत आधारमा घरजग्गाको कारोबार विश्लेषण गर्दा अघिल्लो वर्ष सबैभन्दा बढी राजस्व मंसिर महिनामा उठेको थियो ।

फागुन महिनासम्मको तथ्यांक हेर्दा अघिल्लो वर्ष मंसिर महिनामा मात्र २ अर्ब ३२ करोड रुपैयाँ राजस्व उठेको थियो । यो वर्ष भने फागुन महिनासम्ममा बढी कारोबार भने पछिल्लो ३ महिनामा भएको देखिन्छ । पुस महिनामा घरजग्गा क्षेत्रमा २ अर्ब ४ करोड, माघमा २ अर्ब १६ करोड रुपैयाँको राजस्व संकलन भएको छ ।

काठमाडौं उपत्यकाको हकमा फागुन महिनासम्ममा घरजग्गाबाट ८१ करोड रुपैयाँ उठेको छ । काठमाडौं उपत्यकाको घरजग्गा कारोबारमा बाहिरभन्दा थप ०.५ प्रतिशत बागमति सभ्यताको लागि शुल्क लाग्ने गर्छ ।

काठमाडौं उपत्यकामा काठमाडौं जिल्लामा ६ वटा मालपोत कार्यालय छ भने ललितपुर र भत्तपुरमा एक/एकवटा मात्र रहेको छ ।

जसमा काठमाडौं जिल्लामा डिल्लीबजार मालपोतले फागुन महिनासम्ममा १४ करोड रुपैयाँ, टोखाले ३ करोड १६ लाख, साँखुले ४ करोड १४ लाख, मनमैजुले ४ करोड २१ लाख, कंलकीले १४ करोड ५२ लाख, चावहिलले ११ करोड ५३ लाख रुपैयाँ राजस्व उठाएका छन् ।

यस्तै ललितपुरले १७ करोड ९२ लाख र भत्तपुरले ११ करोड ४६ लाख रुपैयाँ राजस्व उठाएका छन् ।


पुष्प दुलाल