फेरि को छिर्यो सेयर बजारमा ?




काठमाडौं । विगत लामो समयदेखि घटिरहेको सेयर बजारमा यो साताको सुरुदेखि नै उछाल आयो । साताको पहिलो दिन ४४.२६ अंकले बढेको नेप्से परिसुचक सोमबार ६.८७ अंकले घटेको छ ।

नेप्सेको यो साताको ट्रेण्ड हेर्दा कति अंकले बढ्यो वा घट्यो भन्ने कुराले खासै माने राखेन । आइतबार ९१ करोड ७७ लाख रुपैयाँका सेयर खरिद विक्री भएकोमा सोमबार ९४ करोड ९६ लाख रुपैयाँ बराबरका सेयर खरिद विक्री भए ।

निकै लामो समयपछि दैनिक १ अर्ब रुपैयाँको हाराहारीका सेयर खरिद विक्री भएका छन् । यो रकम निकै नै उत्साहप्रद हो । कारोबार रकममा उल्लेख बृद्धि हुनुले बजार घट्नु वा बढ्नुभन्दा पनि लगानीकर्ता बजारको अवसर कुरेर बसेका छन्, मौका मिल्नासाथ किन्न वा बेच्न तयार छन् भन्ने सन्देश मिल्छ ।

आइतबारको बजार बृद्धिपछि माडवारी समुदाय फेरि सेयर बजारमा फर्केको भन्ने खालका हल्ला पनि चले । माडवारी समुदाय सेयर बजारबाट बाहिरिएको वा फर्केको भन्ने हल्ला आफैमा परिपक्क होइन । किनभने सिद्धार्थ बैंक, एनएमबी बैंक, एनआइसी एशिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सनराइज बैंक जस्ता धेरै यस्ता सुचिकृत कम्पनी छन्, जसमा प्रमुख सेयर हिस्सा माडवारी समुदायकै छ ।

अहिले नेपाली पुँजी बजारको मार्केट क्यापिटलाइजेसन १५ खर्ब रुपैयाँभन्दा बढीको छ । ५० लाख कित्ता सेयर भएको ब्यक्ति वा समुहले २ लाख कित्ता सेयर किनेर वा बेचेर कुनै असर पर्दैन । यस्तो अबस्थामा सो समुहले २ लाख कित्ता सेयर किन्यो वा बेच्यो भने पनि बजारबाट बाहिरियो वा भित्रियो भन्न मिल्दैन । लगानीकर्ताले लगानी वा जोखिम ब्यवस्थापनको लागि यस्तो कार्य गरिनै रहेको हुन्छ ।

बजारमा खेलिरहेको कुन पक्षले कतिबेला सेयर किन्छ वा बेच्छ तथा कतिबेला ‘एग्रेसिभ’ वा कतिबेला ‘साइलेन्ट’ हुन्छ भन्ने कुराले नेपाली सेयर बजारको गतिमा फरक पार्छ । अहिलेको बजारको बृद्धि वा कमी यही कुराले निर्धारण गरिरहेको छ ।

त्यसो भए आइतबार र सोमबार एकाएक बजारमा किन यस्तो उत्साह आयो भन्ने प्रश्न पनि स्वभाविक रुपमा उठ्छ । यसको सोझो कारण करिब २ महिनादेखि ओरालो लाग्न थालेको बजारमा लगानीकर्ताले लगानीको अबसर देखेर नै हो ।

अघिल्लो साताभर जसो पनि बजार घटेको थियो । गत साता किनेको सेयर यो साता बेच्नेले पनि फाइदा कमाए । सेयर बजारमा दीर्घकालिन लगानीको साथै अल्पकालको बजार अबसर पनि उत्तिकै महत्वपूर्ण हुन्छ । बजारमा अल्पकालिन लाभ बढी हुने देखिएपछि साविककै लगानीकर्ताले तत्काल सेयर खरिद विक्री गरेका हुन सक्छन् ।

यस्तै चैत मसान्तमा बैंकको ब्याज तिर्ने रकमको ब्यवस्थापन पनि एक प्रकारले भइसकेको हुन सक्छ । यस्तो अबस्थामा बैंकमा सेयर धितो राखेर कर्जा लिएका लगानीकर्ताले मार्जिन कलको त्रासबाट मुक्ति पाए । बैंकको ब्याज तिर्ने अन्तिम समयमा आएर बजार बढ्दा त्यसले लगानीकर्तालाई मार्जिन कलको समस्या पनि केही हल भयो ।

नेपाली सेयर बजारमा संस्थागत लगानीकर्ताको संख्या कम छ । नागरिक लगानी कोष र कर्मचारी संचयकोषले बजारमा स्थायित्व ल्याउने गरी भूमिका निर्वाह गरिरहेका छैनन् । सिमित संख्या र सानो पुँजी भएका म्युचुअल फण्डले बजारलाई स्थायित्व दिन सक्ने अबस्था अहिले छैन ।

बीमा कम्पनीहरुले सेयरमा लगानी गरिरहेका हुन्छन् । तर, अहिले सेयर बजारले जुन प्रतिक्रिया देखाएको छ, यस्तो अबस्थामा बीमा कम्पनीहरु पनि हौसिएर लगानी गर्ने आँट गर्न सक्ने अबस्थामा छैनन् ।

नेपाली सेयर बजारमा लगानी गर्नु भनेको फाइदा मात्रै खानु हो भन्ने मनोविज्ञान स्थापित भएको लामो समय भइसकेको छ । सेयर किनेपछि नोक्सानी ब्यहोर्न पर्दैन र हुदैन भन्ने संख्यात्मक रुपमा ठूलो जमान बजारमा छ । चिलिमेपछिका केही जलविद्युत कम्पनी र कृषि विकास बैंकले आफ्ना ऋणीलाई सेयर दिएपछि सेयर किनेपछि पैसा कमाइन्छ भन्ने मनोविज्ञान दुर्गम गाउँसम्म पुगेको छ ।

सहरका उद्यमी, ब्यापारी, कर्मचारी, शिक्षक, डाक्टर, वकिल, पत्रकार, विद्यार्थी, राजनीतिज्ञ लगायत सबै तह र तप्का सेयर बजारप्रति आकर्षित छ । अझ भनौं कि पैसा कमाउनको लागि सेयर बजारमा लगानी गर्नुपर्छ भनेर लगानी गरिरहेको छ । यस्तो अबस्थामा सेयर बजारमा कुनै समुह आउँन बाँकी नै छैन । सबै यसअघि नै आइसकेका छन् । बजारमा खेलिरहेको कुन पक्षले कतिबेला सेयर किन्छ वा बेच्छ तथा कतिबेला ‘एग्रेसिभ’ वा कतिबेला ‘साइलेन्ट’ हुन्छ भन्ने कुराले नेपाली सेयर बजारको गतिमा फरक पार्छ । अहिलेको बजारको बृद्धि वा कमी यही कुराले निर्धारण गरिरहेको छ ।


क्लिकमान्डु