स्वेतपत्रमा टिप्पणी गर्नुअघि यस्तो तयारी गरेका थिए डा. महतले




काठमाडौं । चैत १६ गते अर्थमन्त्री डा. युवराज खतिवडाले देशको आर्थिक अबस्था बारेको स्वेतपत्र सार्बजनिक गरे । उनले अहिले अर्थतन्त्रको अबस्था राम्रो नरहेको मात्रै भनेनन्, विगतका सरकारले गरेको निजीकरणदेखि बजेट तर्जुमा र आयोजना छनोटमै खोट देखाए ।

अर्थमन्त्रीको यस्तो टिप्पणीप्रति पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले असहमति जनाएका छन् । चैत १९ गते आफ्नो निवासमा केही संचारकर्मीलाई बोलाएर डा. महतले आफ्नो असहमति सार्बजनिक गरेका हुन् ।

डा. महतले यस्तो असहमति सार्बजनिक गर्न राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुलाई पनि बोलाएका थिए । डा. महतले बोलाएको समयभन्दा अगाडि नै पुगेर केही पूर्वउपाध्यक्षहरु बाहिरिएका स्रोतले बतायो ।

‘नेपाली काँग्रेसको सरकारका बेलामा योजना आयोगका उपाध्यक्ष बनाइका ब्यक्तिहरु र काँग्रेस निकट अर्थशास्त्रीहरुलाई पनि सँगै राखेर उहाँले पत्रकारसँग कुरा गर्न खोज्नु भएको थियो, उहाँहरुले पत्रकारसँगको कुराकानीमा आफूहरु नबस्ने तर आवश्यक सबै सहयोग गर्ने भन्नुभएपछि डा. महत एक्लै प्रस्तुत हुनुभएको हो,’ महत निकट स्रोतले भन्यो ।

डा. महतले भने आफूले पूर्वउपाध्यक्षहरु तथा केही अर्थशास्त्रीहरुसँग छलफल गरेपछि संचारकर्मी मार्फत आफ्नो धारणा सार्बजनिक गरेको बताए ।

‘मैले आफ्नो धारणा सार्बजनिक गर्नुअगाडि उहाँहरुसँग छलफल गरेको थिएँ, सबैको कुरा एउटै थियो, छलफलमा निकालिएको निष्कर्षलाई समेटेर नै मैले धारणा सार्बजनिक गरेको हूँ,’ डा. महतले क्लिकमाण्डूसँग भने ।

डा. महतले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा. जगदीशचन्द्र पोखरेल, डा. शंकर शर्मा, डा. गोविन्दराज पोखरेल र डा. स्वर्णिम वाग्लेलाई बोलाएका थिए । यस्तै काँग्रेस निकट मानिने अर्थशास्त्री डा. विश्व पौडेल र पूर्वमुख्य सचिब डा. बिमल कोइरालालाई पनि बोलाएका थिए ।

डा. महतले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा. जगदीशचन्द्र पोखरेल, डा. शंकर शर्मा, डा. गोविन्दराज पोखरेल र डा. स्वर्णिम वाग्लेलाई बोलाएका थिए । यस्तै काँग्रेस निकट मानिने अर्थशास्त्री डा. विश्व पौडेल र पूर्वमुख्य सचिब डा. बिमल कोइरालालाई पनि बोलाएका थिए ।

डा. महतले बोलाउँदा डा. शंकर शर्मा र डा. जगदीशचन्द्र पोखरेल बाहेकका अर्थशास्त्री तथा योजनाविज्ञहरु महतलाई भेट्न गएका थिए । नजानेमध्येका डा. पोखरेल विराटनगर भएका कारण सो दिन महतकोमा जान पाएका थिएनन् भने डा. शर्मा किन गएनन् भन्ने खुलेको छैन ।

डा. वाग्ले, डा. कोइराला, डा. गोविन्दराज पोखरेल र डा. विश्व पौडेल चैत १९ गते नै डा. महतसँग भेट्न गएका थिए । सो भेटमा सबै अर्थशास्त्री तथा योजनाविदहरुले आफूहरुले सहयोग गर्ने तर पत्रकारसँगको भेटमा उपस्थित नहुने भन्दै विहानै भेटेर निस्किएका थिए ।

अर्थमन्त्री डा. खतिवडाले विगत सरकारका नीति, कार्यक्रम र कार्यशैली नै खराब थिए भनेपछि यसको दोष पूर्वअर्थमन्त्रीहरु, योजनाविद तथा सरकारी उच्च निकायमा बस्नेहरुले समेत लिनुपर्नेछ । अर्थमन्त्री डा. खतिवडा नेपाल राष्ट्र बैंकको पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष पनि हुन् ।

किन बोल्दैन काँग्रेस ?
अर्थमन्त्री डा. खतिवडाले स्वेतपत्र आर्थिक रुपमाभन्दा पनि राजनीतिक पूर्वाग्रहको कारण आएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

‘आर्थिक अबस्थाको स्वेतपत्र भनेपछि आर्थिक रुपमा नै आउनु पर्ने थियो, तर उहाँले राजनीतिक पूर्वाग्रह राखेर स्वेतपत्र सार्बजनिक गर्नुभएकोले हामीले यसलाई राजनीतिक रुपमा नै बुझेका छौं,’ प्रवक्ता शर्माले क्लिकमाण्डूसँग भने ।

नेपाली काँग्रेसले स्वेतपत्रबारे आफ्नो संस्थागत धारणा चाँढै सार्बजनिक गर्ने प्रवक्ता शर्माले बताए । ‘राजनीतिक पूर्वाग्रहको आधारमा स्वेतपत्र बनाएर त्यसैगरी प्रस्तुत गरिएको छ, नेता खुमबहादुर खड्काको निधनका कारण पार्टीले ३ दिनसम्म शोक मनाउने भनेको थियो, अब चाँढै नै हामी संस्थागत धारणा सार्बजनिक गर्दैछौं,’ शर्माले भने ।


क्लिकमान्डु