काठमाडौ-इस्लामाबादको एकतर्फि हवाई भाडा ९ सय डलर, दुइतर्फि १ डलर !




काठमाडौं । सरकारी निकायले अधिकारको दुरुपयोग कुन हदसम्म गर्छन् भन्ने एउटा उदाहरण क्लिकमाण्डूले प्राप्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले आफ्ना कर्मचारी, विशिष्ट तथा अतिविशिष्ट ब्यक्तित्वहरुको विदेश भ्रमणमा जादा चाहिने टिकट खरिदमा यस्तो बिकृति भेटिएको हो ।

परराष्ट्रले काठमाडौंबाट इस्लामाबाद जान एकतर्फि हवाइ भाडा ९०० अमेरिकी डलर र दुईतर्फि हवाइ भाडा १ डलर कबुल गरेको ट्राभल एजेन्सीसँग टिकट खरिद गर्ने सम्झौता गरेको छ ।

झट्ट सुन्दा साह्रै सस्तो भएकोले सम्झौता गरिएको जस्तो लाग्न सक्छ । तर, यसको पछाडिको राज भने अर्कै छ ।

त्यो राज के हो भने पहिला काठमाडौंबाट इस्लामाबादसम्म जाने मात्रै टिकट काट्ने र फर्कने बेलामा इस्लामाबादबाट काठमाडौं फर्कने फेरि एकतर्फि टिकट काट्ने उद्देश्यले यो कार्य भएको हो ।

परराष्ट्रले २०७४ माघ १० गते सिं लिंक ट्राभल एण्ड टूर्ससँग यस्तो सम्झौता गरेको थियो । मन्त्रालय आफैले गरेको एकतर्फि भाडादरभन्दा महंगो र दुइतर्फि भाडादर भन्दा अप्रत्यासित रुपमा सस्तो दरमा गरेको सम्झौता गरिएको छ ।

क्लिकमाण्डूलाई प्राप्त कागजात अनुसार मन्त्रालय आफैले गरको अनुमानित भाडादरमा काठमाडौं इस्लामाबादको एकतर्फि भाडादर प्रतिब्यक्ति ७२८.८६ अमेरिकी डलर छ । तर, सिलिंकसँग प्रतिब्यक्ति ९ सय अमेरिकी डलरमा सम्झौता भएको छ ।

दुइतर्फि भाडादर भने अनौठो छ । मन्त्रालय आफैले अनुमानित भाडादरमा प्रतिब्यक्ति ८७३ अमेरिकी डलर भनेको छ । तर, सि लिंकले प्रतिब्यक्ति १ अमेरिकी डलरमा दुइतर्फि हवाइ टिकट दिन्छु भनेर सम्झौता गरेको छ ।

यस्तो बिकृति काठमाडौं क्वालालम्पूर रुटमा पनि छ । मन्त्रालयले गरेको अनुमानित भाडादरमा एकतर्फिको ३२० डलर र दुइतर्फिको ७१६.५० डलर भनेको छ । तर, सि लिंकसँग सम्झौता गर्दा एकतर्फिको ३९५ डलर र दुइतर्फिको १ डलरमा टिकट दिने भनिएको छ ।

काठमाडौं अबुधाबीको भाडामा पनि यस्तै अनौठो काम भएको छ । मन्त्रालयले गरेको अनुमानित भाडामा एकतर्फिको ५१८ अमेरिकी डलर छ भने सम्झौता गर्दा ६०० डलरमा गरिएको छ । दुइतर्फि अनुमानित भाडादर ५३७.५० डलर भएकोमा सम्झौता गर्दा सि लिंकले १५ डलरमा दिन्छु भनेको छ ।

काठमाडौं बैंककको हवाइ टिकटमा पनि यस्तै विकृति देखिएको छ । मन्त्रालयले एकतर्फि भाडादर ४५०.५२ डलर भनेको ४५० डलरमा सम्झौता भएको छ । जबकि दुईतर्फिको ६०५ डलर अनुमान मन्त्रालयको भएकोमा सि लिंकले १३ डलरमै दिन्छु भनेको छ ।

काठमाण्डौं क्यानबेरा (अस्ट्रेलिया) को भाडा दर पनि यस्तै छ । मन्त्रालयले एकतर्फि भाडादर प्रतिब्यक्ति ९२१ डलर हुने अनुमान गरेकोमा सि लिंकले प्रतिब्यक्ति १०५० अमेरिकी डलर लिने गरी सम्झौता गरिएको छ । सो रुटमा दुइतर्फि भाडादर १६०९.५१ अमेरिकी डलर हुने मन्त्रालयले अनुमान गरेकोमा सि लिंकले जम्मा २३ डलरमै दिन्छु भनेर सम्झौता गरेको छ ।

सि लिंकले सार्बजनिक खरिद ऐन अनुसार बोलपत्र प्रतिस्पर्धाबाट यस्तो जिम्मा पाएको थियो । मन्त्रालयले २०७४ असोज १८ गते बोलपत्र आब्हान गरेको थियो ।

मन्त्रालयले यस्तो विकृत ढंगबाट सम्झौता गरेपछि सो विरुद्ध सार्बजनिक खरिद अनुगमन कार्यालय अन्तरगतको सार्बजनिक खरिद पुनराबलोकन समितिमा उजुरी परेको थियो । सो उजुरी माथि समितिले अध्ययन गरेर सो सम्झौता खारेज गर्न निर्देशन दिइसकेको छ ।


क्लिकमान्डु