उर्जामन्त्री ज्यू, हाइड्रो पावरको सेयर हुनेलाई ‘खोजी-खोजी छोरी दिने’ बनाउन यसो गर्नुस्



जलविद्युतको सेयरमा गरिने लगानीलाई आधार मानी उर्जा मन्त्रीले भर्खरै मात्र दिएको अभिव्यक्ति हाँसो र मजाकको विषय बन्यो । विशेषगरि सेयर बजारमा लगानी गर्ने लगानीकर्ताका समाजिक सन्जालका भित्तामा यसले निकै चर्चा पाएको पाइयो ।

कसैको सम्पति वा दाइजोलाई आधार मानेर छोरीको बिहे वा छोराको बिहे गर्ने जस्ता अभिव्यक्ति उर्जा मन्त्रीले दिनुले उनको कार्यक्षमता कति कमजोर छ भन्ने देखाउँछ । उर्जा मन्त्रीले यति हल्का कुरा गरेर वा भनेर जलविद्युतका लगानीकर्तालाई न आकर्षित गर्न सकिन्छ न त आत्मविश्वास नै बढ्छ ।

मन्त्रीको यसप्रकारको सोच किमार्थ राम्रो होइन । यद्यपि यसलाई सकरात्मक रुपमा लिएर ब्याख्या गर्ने हो भने साँच्चै उनले भनेजस्तै हुनका लागि सबैभन्दा पहिला के कस्ता कामहरु गर्न आवश्यक छन् भन्ने बुझ्न जरुरी छ ।

जलविद्युतको सेयरमा सर्वसाधारण आकर्षित गर्न न्यून आय भएका लगानीकर्ताले समेत बचत गरि र लगानी गर्न प्रोत्साहित गर्न जलविद्युत क्षेत्रका लगानीकर्ताका समस्यामा यी मन्त्री पहिला छिर्न आवश्यकछ । जस्तो जलविद्युत क्षेत्रमा संस्थापकले गर्ने अनियमितता, आयोजनाको अनावश्यक लागत वृद्धि गरि संस्थापक मोटाउने, समयमा काम सम्पन्न नगर्ने, समयमा प्रसारणलाइन नबन्ने कुरालाई कसरी नियमन गर्न सकिन्छ । र, सर्वसाधारणको विश्वास बढाउन सकिन्छ भन्नेमा सोच केन्द्रित हुनुपर्छ ।

यस्तै सर्वसाधारण लगानीकर्ताले जलविद्युतको सेयरमा लगानी गर्ने न्यूनतम् पूर्वाधार जस्तोः आफ्नै गाँउमा डिम्याट खाता खोल्ने, त्यहीँबाट सेयरमा लगानी गर्न र बिक्री गर्न सक्ने, उनकै खातामा लाभांश जम्मा हुने र त्यसको म्यासेज उनको मोवाइलमा नेपालीमा जाने, लगानीको सुरक्षा र पारदर्शिता बढाउने, सेयरमा लगानीको फाइदा र जोखिमका बारेमा सिकाउने काम गर्न सकियो भने राम्रो हुन्छ ।

यस्तै जलविद्युत आयोजनामा काम गर्नेको तलबबापत केहि प्रतिशत सेयर दिने केहि नगद दिने, सेयरमा तलब लिनेको तलब नगदमात्र लिनेको भन्दा बढीदिने, बीमा गरेबापत २० हजारमा कर छुट दिएजस्तो सरकारी तथा निजी क्षेत्रका कर्मचारीलाई जलविद्युतको संस्थापक तथा प्राथमिक सेयरमा लगानी गरे बापत एउटा निश्चित रकम बराबरमा कर छुट दिनेजस्ता योजनाले कुनै न कुनै रुपमा लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ । र, उनीहरुको आत्मविश्वास पनि बढ्छ ।

यस्तै बैदेशिक रोजगारीमा गएका सर्वसाधारणले यस्ता उत्पादनमुलक क्षेत्रमा लगानी गरे उनको लगानीमा सरकारले दश प्रतिशत थपिदिने व्यवस्था गर्न सके उनीहरुलाई आकर्षित गर्न सकिन्छ । जस्तो उनीहरुले कुनै जलविद्युत आयोजनाको सेयरमा ५० हजार लगानी गरे ५ हजार सरकारले सेयर बिक्रीका निश्चित शर्तमा निःशुल्क लगानी गरिदिने ।

जसकारण उनको कुल सेयर ५५ हजारको हुने व्यवस्था हुन सक्यो भने अवश्य पनि अनुत्पादक क्षेत्रमा हुँदै आएको रेमिट्यान्स उत्पादनमुलक क्षेत्रमा प्रबेश गर्छ भने बैधानिक माध्यमबाट बैदेशिक मुद्रा नेपाल भित्रिने हुण्डिजस्ता अवैधानिक माध्यमको प्रयोगमा कमी आउँछ । त्यस्तै जलविद्युत लगायतका क्षेत्रमा लगानी जुटाउन पनि सजिलो हुन्छ ।

अन्यथा यसप्रकारले छोरीको बिहे, छोराको बिहेजस्ता कुरा गरेर समाजमा सम्पतिमा आधारित बिहे, दाइजोमा आधारित बिहे जस्ता विकृतिका कुरा गरेर न त जलविद्युतको विकास हुन्छ न तलगानीकर्ता नै आकर्षित हुन्छन् ।

भट्टराई सेयर बजार विश्लेषक हुन ।


पुष्प दुलाल