कति पर्ला रसुवागढी र साञ्जेनको आइपिओ ? यस्तो छ हिसाब




काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको आइपिओमा आवेदन गर्नेले न्यूनतम ७० कित्ता र अधिकतम १०० कित्तासम्म शेयर पाइने देखिएको छ ।

रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले गत फागुन ११ देखि ३० गतेसम्म आइपिओ बिक्री गरेका थिए ।

सिआश्वा प्रणालीका आधारमा लिइएको आवेदनको सबै प्रोसेसिङको काम भइरहेकाले एकाध दिन भित्रै शेयर बाँडफाँड गर्ने तयारी गरिएको छ ।

रसुवागढी आयोजनाका प्रमुख माधव कोइरालाले शेयर बाँडफाँडका लागि नेपाल धितोपत्र बोर्ड, बिक्री प्रबन्धक र कम्पनीबीच छलफल भइरहेको र केही दिन भित्रै बाँडफाँड गरिने बताए ।

‘बढीमा चार दिन, नत्र दुई दिन भित्रै शेयर बाँडफाँड गर्ने तयारी गरिएको छ,’ उनले भने ।

दुवै कम्पनीले माग गरेको तुलनामा करिब ६ गुणा बढी आवेदन परेको जनाएका छन् ।

दुवै कम्पनीमा सञ्चयकर्ताका लागि २ अर्ब ४ करोड ५९ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको २ करोड ४ लाख ५९ हजार ५ सय ९५ कित्ता शेयर छुट्ट्याइएको थियो । ती आवेदनबाट ११ अर्ब रुपैयाँ संकलन भएको छ ।

रसुवागढीमा २ लाख र सान्जेनमा १ लाख ८३ हजारभन्दा बढी सञ्चयकर्ताले आवेदन दिएको आयोजना प्रमुखले जानकारी दिएका छन् । यस आधारमा न्यूनतम ७० र बढीमा १०० कित्तासम्म शेयर पाउने अवस्था देखिएको छ ।

सि–आस्बा प्रणालीबाट माग गरिएको सेयरको विवरण सूचीकृत गर्ने काम आज सकिने बताइएको छ । केही बैंकले विवरण सूचीकृत गर्न थप केही समय मागेका छन् ।

सञ्चयकर्तालाई छुट्ट्याइएको सेयर बाँडफाँडपछि दुवै कम्पनीले यही चैत ५ गतेबाट संस्थापक संस्था (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, रसुवाका सम्बन्धित स्थानीय नियका) र ऋणदाता संस्थाका कर्मचारीका लागि शेयर बिक्री गर्नेछ ।

संस्थापक संस्थाका कर्मचारीका लागि रसुवागढीले २३ करोड ९४ लाख ७३ हजार ५ सय रुपैयाँको २३ लाख ९४ हजार ७ सय ३५ किता शेयर बिक्री गर्नेछ ।

यस्तै, ऋणदाता संस्थाका कर्मचारीका लागि पनि ६ करोड ८४ लाख २१ हजार रुपैयाँको ६ लाख ८४ हजार २ सय १० कित्ता शेयर बिक्री गर्नेछ ।

सान्जेनले संस्थापक संस्थाका कर्मचारीका लागि १२ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको १२ लाख ७७ हजार ५ सय कित्ता शेयर बिक्री गर्ने जनाएको छ ।

ऋणदाता संस्थाका कर्मचारीका लागि ३ करोड ६५ लाख रुपैयाँ बराबरको ३ लाख ६५ हजार कित्ता शेयर बिक्री गर्न लागिएको हो ।

संस्थापक र ऋणदाता संस्थाका कर्मचारीले यही चैत १३ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

कर्मचारी सञ्चय कोषका कार्यबाहक प्रशासकीय प्रमुख दिपक रौनियारका अनुसार नेपालको धितोपत्र बजारमा सञ्चयकर्ताको लगानी विस्तारका लागि भएको यो प्रयासले सकरात्मक प्रभाव पर्नेछ ।

‘रसुवागढी र साञ्जेनको शेयरमा आवेदन दिने सञ्चयकर्ताले न्यूनतम १०० कित्ता सेयर पाउँछन्,’ रौनियारले भने ।


क्लिकमान्डु