ब्याजमा ५ प्रतिशतभन्दा बढी नाफा खाने बैंकले नगद लाभांश दिन नपाउने




काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले लिने गरेको ब्याज अन्तर (स्प्रेड) दरमा कडाइ गरेको छ । स्प्रेडदर ५ प्रतिशतभन्दा बढी हुने बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना सेयरधनीलाई प्रदान गर्ने नगद लाभांशमा रोक लगाइने भएको छ ।

राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै यस्तो ब्यवस्था गरिएको जानकारी दिएको छ । यस्तो ब्यवस्था आगामी असोजदेखि कार्यान्वयन हुनेछ । यो ब्यवस्था बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको हकमा लागू हुनेछ ।

२०७५ असोज मसान्त पश्चात आर्थिक बर्षको कुनै समयमा औसत ब्यादर अन्तर ५ प्रतिशतभन्दा बढी भए राष्ट्र बैंकले त्यस्ता बैंक तथा वित्तीय संस्थाहरुलाई ३ प्रकारको कारबाही गर्ने भएको छ ।

त्यस्तो कारबाहीमा बाणिज्य बैंकको शाखा कार्यालय नभएका स्थानीय तहबाहेकका स्थानमा शाखा खोल्न नदिने, भूकम्प पीडितलाई प्रदान गरिने बाहेकका पुनरकर्जा सुबिधा नदिने र सो आर्थिक बर्षको बोनस सेयरको कर प्रयोजन बाहेकका नगद लाभांश घोषणा तथा वितरण गर्न रोक लगाउने राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस्तै स्थानीय तहमा शाखा खोल्नको लागि पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ताकेता गरेको छ । सबै स्थानीय तहमा बैंक शाखा पुर्याउन राष्ट्र बैंकले गरेको पहल अनुसार बाणिज्य बैंकले स्थानीय तह तोकेरै फलानो स्थानीय तहमा फलानो बैंक जाने भन्ने तय भएको थियो । तय भएका स्थानमा बाणिज्य बैंकहरुले आगामी असार मसान्तभित्रमै शाखा स्थापना गरिसक्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

‘प्रतिपद्धता गरेका स्थानमा बाणिज्य बैंकहरुले न्यूनतम पूर्वाधार पुगेका स्थानहरुमा चालु आर्थिक बर्ष भित्रै शाखा कार्यालय स्थापना गरिसक्नु पर्नेछ, स्थानीय तहमध्ये बैंकिङ सुबिधा नपुगेका र २०७४ पुस मसान्तसम्ममा बाणिज्य बैंकहरुबाट शाखा कार्यालय खोल्ने प्रतिबद्धता समेत प्राप्त हुन बाँकी रहेका स्थानीय तहमध्ये कुनै दुई तहमा शाखा कार्यालय खोलेमा मात्र बाणिज्य बैंकहरुलाई काठमाडौं महानगरपालिका तथा ललितपूर महानगरपालिकाभित्र एउटा शाखा कार्यालय खोल्न स्वीकृति प्रदान गरिनेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।


क्लिकमान्डु