यस्तो पो भएछ अर्थमन्त्री र गभर्नरबीचको भेटमा




काठमाडौं । फागुन १४ गते डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भए । सपथग्रहण लगत्तै उनी पद बहालीका लागि मन्त्रालय पुगे । सामान्यतः मन्त्रीले पदबहाली गर्ने समयमा सो मन्त्रालय मातहत निकायका प्रमुखले स्वागत गर्ने चलन छ ।

तर, अर्थमन्त्री खतिवडाको स्वागतमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपाल देखिएनन् । राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी स्वागतका लागि उपस्थित थिए ।

अनि बजारमा विभिन्न प्रकारका अड्कलबाजी सुरु भए । कतिपयले त अर्थमन्त्री र गभर्नरबीच सम्बन्ध राम्रो नभएको भन्नसम्म भ्याए । यहीबीचमा अर्थमन्त्री डा. खतिवडा र गभर्नर डा. नेपालबीच सम्बन्ध राम्रो नभएकोले गभर्नर डा. नेपाल तनाबमा रहेका भन्नेसम्मको गसिप पनि बजारमा चलिसकेको छ ।

यो हल्ला र अड्कलबाजीलाई बल पुग्ने केही आधार पनि थिए । अर्थमन्त्री डा. खतिवडा आफ्नै पार्टीका महासचिब इश्वर पोखरेल र पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका खास विश्वासपात्र तथा पार्टी सचिब प्रदीप ज्ञवालीले लोभ गरेको अर्थमन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीबाट जिप्ट्याएर अर्थमन्त्री बन्न सफल भएका थिए । अर्थात डा. खतिवडा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीका खास मान्छे हुन् भन्ने प्रमाणित भएको थियो ।

गभर्नर डा. नेपालको पृष्ठभूमी पनि फरक थिएन । नेपाली काँग्रेसका तत्कालिन पार्टी सभापति तथा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले आफ्नै आर्थिक सल्लाहकार रहेका डा. नेपाललाई गभर्नरमा नियुक्त गरेका थिए ।

काँग्रेस सभापति प्रधानमन्त्री बनेको बेलामा डा. नेपाललाई गभर्नर बनाइएको थियो भने एमाले अध्यक्ष प्रधानमन्त्री बनेका बेला आफ्नै पार्टीका महत्वपूर्ण राजनीतिक सारथीले लोभ गर्दागर्दै तिनीहरुलाई पाखा लगाएर डा. खतिवडालाई अर्थमन्त्री बनाइएको छ ।

यति भएपछि डा. खतिवडा पार्टी अध्यक्षले पत्याइएका खास एमाले र डा. नेपाल पार्टी सभापतिले पत्याइएका खास काँग्रेस हुन् भनेर थप भनिरहनु परेन । यस्तै परिवेशमा अर्थमन्त्री डा. खतिवडाले गभर्नर डा. नेपाललाई राजनीतिक पूर्वाग्रह राखेर प्रतिशोध साध्लान् वा अर्थमन्त्रीले भनेका उचित कामलाई पनि गभर्नरले राजनीतिक दृष्टिबाट हेर्दै आफूमाथि इगो साधेको रुपमा लेलान् भनेर अनुमान गर्नु अड्कलगिता मात्रै थिएन पनि ।

तत्कालिन माओबादी शान्तिप्रक्रियामा आएर संविधानसभाको पहिलो निर्वाचन भएपछि ठूलो दलको नाताले सरकार बनाउन सफल भयो । सो सरकारको अर्थमन्त्री डा. बाबुराम भट्टराई भए । अहिलेका गभर्नर डा. नेपाल सो समयमा धितोपत्र बोर्डको अध्यक्ष थिए । तत्कालिन अर्थमन्त्री डा. भट्टराईसँग आफ्नो सोच र कार्यशैली नमिलेको भन्दै उनले पदबाट राजिनामा दिएका थिए । यही नजिरलाई स्मरण गर्दै कतिपयले गभर्नर डा. नेपालले राजिनामा दिने भन्नेसम्मको हल्ला पनि फिजाए ।

अर्थमन्त्री डा. खतिवडा र गभर्नर डा. नेपालबीचको सम्बन्धको अर्काे परिवेश पनि पेचिलो थियो । डा. खतिवडा गभर्नर बनेपछिका केही महिना राष्ट्र बैंक नीतिगत अस्थिरतामा फसेको थियो । आज आएको सर्कुलर केही दिनभित्रै फिर्ता हुने र त्यसबाट ‘ब्याक’ भएको अर्काे सर्कुलर केही दिन पछि नै आउने गरेको थियो ।

त्यस्तो नीतिगत अस्थिरता भएपछि पूर्वगभर्नरहरु गणेशबहादुर थापा, दीपेन्द्र बहादुर क्षेत्री, सत्येन्द्रप्यारा श्रेष्ठलगायत मात्रै होइन, राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर राणासमेतले त्यस्तो अस्थिर नीतिको सार्बजनिक आलोचना गर्न थालेका थिए । अनि तत्कालिन गभर्नर डा. खतिवडाले सबै पूर्वगभर्नरहरुलाई ब्यक्तिगत रुपमा भेटेर राष्ट्र बैंकको नीतिको सार्बजनिक आलोचना नगरिदिन अनुरोध नै गरेका थिए । त्यसपछि पूर्वगभर्नरहरुले राष्ट्र बैंकको नीतिको सार्बजनिक आलोचना मथ्थर पारेका थिए ।

तर, डा. खतिवडाले ‘ठेस लागेर औला फुट्दा सबैलाई दुख्छ’ भन्ने अनुभूत गर्न सकेनन् । राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाको चुक्ता पुँजी कम्तिमा ४ गुणाले बढाउने निर्णय सार्बजनिक गरेपछि डा खतिवडाले त्यसको भोलिपल्टदेखि नै सो नीतिको सार्बजनिक आलोचना गरिरहेका छन् । त्यस्तो आलोचना पनि गभर्नर डा. नेपालप्रति बढी केन्द्रीत थियो ।

यी र यस्तै परिवेशले अर्थमन्त्री र गभर्नरबीच सम्बन्ध राम्रो नभएको तर्क गर्नेहरुलाई सहयोग गरिरहेको थियो ।

तर, खास कुरा त्यस्तो थिएन । डा. खतिवडा अर्थमन्त्री बनेको दिन गभर्नर डा. नेपाल धुलिखेलमा एउटा कार्यक्रममा सहभागी थिए । कार्यक्रम सकिएर उनी काठमाडौं फर्कदा अर्थमन्त्रीको पदबहाली कार्यक्रम सकिएकोले उनी त्यहाँ उपस्थित हुन पाएका थिएनन् ।

धुलिखेलको कार्यक्रम सकेर हतार हतार फर्कदा पनि आफू आइपुग्न ढिला भएको कारण अर्थमन्त्रीको पद बहाली कार्यक्रममा सहभागी हुन नपाएको गभर्नर डा. नेपालले बताए ।

डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी पनि अर्थमन्त्री र गभर्नरबीच कुनै समस्या रहेको आफूलाई अनुभूत नभएको बताउँछन् । डा. खतिवडा अर्थमन्त्री बनेपछि आफूले ५ पटक भेटिसकेको र यी सबै भेटमा त्यस्तो कुनै महसुस नभएको उनको भनाइ छ ।

अर्थमन्त्रीज्यूले तपाइहरुले राम्रो गर्नुभएको रहेछ भनेर प्रशंसा पनि गर्नुभएको थियो,’ डेपुटी गभर्नर शिवाकोटी भन्छन् ।

‘उहाँ (डा. खतिवडा) अर्थमन्त्री बनेपछि २ चोटी मन्त्रालयमा, २ चोटी घरमा र एकचोटी बाटोमा भेटिसकेको छु, यी भेटमा अर्थमन्त्रीबाट गभर्नरप्रति कुनै नकारात्मक धारणा रहेको संकेत मैले पाइनँ,’ डेपुटी गभर्नर शिवाकोटी भन्छन् । उनी एमाले कोटाबाटै राष्ट्र बैंकको डेपुटी गभर्नर बनेका हुन् ।

अर्थमन्त्री डा. खतिवडाले पदबहाली गर्ने समयमा अर्थमन्त्रालय पुग्न नपाएका गभर्नर डा. नेपालले त्यसको भोलिपल्ट नै अर्थमन्त्री डा. खतिवडालाई मन्त्रालयमा भेटेका थिए । सो भेटपछि त्यसको भोलिपल्ट अर्थात फागुन १६ गते राष्ट्र बैंकको तर्फबाट अर्थमन्त्रालयमा अर्थमन्त्रीलाई ब्रिफिङ गर्ने कार्यक्रम तह भएको थियो ।

‘फागुन १६ गते अर्थमन्त्री र गभर्नरलाई सँगै राखेर राष्ट्र बैंकको तर्फबाट मैले ‘पावर प्वाइन्ट प्रेजेन्टेसन’ गरेको थिएँ, मेरो प्रस्तुतीका केही बिषयलाई अर्थमन्त्रीज्यूले तपाइहरुले राम्रो गर्नुभएको रहेछ भनेर प्रशंसा पनि गर्नुभएको थियो,’ डेपुटी गभर्नर शिवाकोटी भन्छन् ।

सो ब्रिफिङमा गभर्नर डा. नेपालले राष्ट्र बैंकको टोली नै लिएर गएका थिए । दुई जनै डेपुटी गभर्नर र राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख यस्तो प्रस्तुतीमा जाने चलन भए पनि डेपुटी गभर्नर शिवराज श्रेष्ठ बिदेश रहेका र अनुसन्धान विभाग प्रमुख नरबहादुर थापा बिदामा रहेका कारण सो दिन डेपुटी गभर्नर शिवाकोटी र अनुसन्धान विभागका कार्यबहाक प्रमुख पिताम्बर अधिकारी गभर्नर डा. नेपालसँगै अर्थमन्त्रालय गएका थिए ।

‘प्रस्तुतीकरणको बेलामा म बिदेश भएको कारण गएको थिइनँ, नरबहादुरजी बिदामा हुनुहुन्थ्यो, अर्थमन्त्रीज्यूूले बैदेशिक लगानी भित्र्याउन र वित्तीय स्थायित्वमा बढी जोड दिन भन्नुभएको थियो भनेर त्यहाँ जाने साथीहरुले भन्नुभएको छ,’ अर्का डेपुटी गभर्नर श्रेष्ठ भन्छन् ।

गभर्नर डा. नेपालले सोमबार (हिजो) पनि अर्थमन्त्री डा. खतिवडासँग भेट गरेका थिए । सो भेटमा अर्थमन्त्रालयले अन्तिम तयारी गरेको बजेटको मध्याबधी समीक्षा लगायतको बिषयमा छलफल भएको बताइएको छ ।

अहिले पनि अर्थमन्त्री र गभर्नरबीच भेटघाट नभएको भन्ने हल्ला फैलिरहेको छ । तर, यस्तो कुरामा कुनै सत्यता नभएको डेपुटी गभर्नर शिवाकोटी बताउँछन् ।

‘अर्थमन्त्री र गभर्नरबीच चाहिएको बेलामा जतिखेर पनि भेट भइरहेको हुन्छ, हिजो (सोमबार) पनि गभर्नरज्यूले अर्थमन्त्री भेट्नु भएको थियो,’ शिवाकोटी भन्छन् ।


क्लिकमान्डु