बचत खातामा ८ प्रतिशतभन्दा बढी ब्याज नदिने बैंकरको सहमति



काठमाडौं । ब्याजदर अत्याधिक बढी भएको भन्दै बैंकहरुहरुले घटाउने सहमति गरेका छन् । खासगरी बचत र मुद्दति निक्षेपमा बैंकहरुले दिने ब्याजदर १ प्रतिशत पनि फरक नभएपछि बैंकरहरुबीच ब्याजदर घटाउने सहमति भएको हो ।

शुक्रबार नेपाल बैंकर्स संघले सबै वाणिज्य बैंकका सीइओहरुलाई बोलाएको बैठकमा ब्याजदरमा एकरुपमा कायम गर्ने सहमति भएको संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

‘केही समययता एक दर्जन बैंकको मुद्दति र बचतको ब्याजदरबीचको फरक १ प्रतिशत पनि छैन, आधा दर्जनजति बैंकको भने अझै पनि ठूलो अन्तर छ,’ एनबी बैंकका प्रमुख कार्यकारी समेत रहेका ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘हामीले यसरी फरक नगरी अन्तराष्ट्रिय मापदण्डअनुसार ब्याजदरमा एकरुपता गर्ने सहमति गरेका हौं ।’

ढुंगानाले कति प्रतिशत ब्याजदर कायम गर्ने सहमति भएको भन्नेबारे खुलाएनन् । तर, बैठकमा सहभागी एक बैंकरका अनुसार अब बचतमा ८ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति भएको छ ।

‘अन्तराष्ट्रिय मान्यतामा मूल्यवृद्धिभन्दा केही बढी मात्रै बचतमा ब्याज दिने चलन छ, हामीकहाँ मूल्यवृद्धि ४ प्रतिशतको हाराहारीमा मात्रै छ, तर ५ प्रतिशत मात्रै बचतको ब्याज दिने अवस्था भने छैन,’ ढुंगानाले भने, ‘उपयुक्त विन्दू राखेर त्यो भन्दा बढी नदिने भन्ने सहमति भएको छ ।’

उपयुक्त बिन्दूभन्दा बढी ब्याज दिइरहेका बैंकहरुले आइतबार नै उपयुक्त बिन्दुमा झार्नुपर्ने समहतिमा उल्लेख छ ।

मुद्दति निक्षेपमा ११÷१२ प्रतिशत ब्याज दिइरहेका बैंकहरुले बचतमा १० प्रतिशत ब्याज दिन थालेका थिए । मुद्दति निक्षेपमा पनि १३÷१४ प्रतिशतसम्म ब्याज दिन थालेपछि केही समय अघि बैंकर्स संघले ११ प्रतिशत भन्दा बढी नदिने सहमति गरेको थियो ।

मुद्दतिमा सहमतिको पालना गरेका बैंकर्सहरुले बचतमा ब्याज बढाएर निक्षेप तान्ने प्रतिस्पर्धा तीब्र बनाएपछि बचतमा पनि ८ प्रतिशतभन्दा बढी नदिने सहमति गरेका हुन् ।

ब्याजदर बढी हुँदा मुलुकमा लगानीको वातावरण नबन्ने र लगानीको वातावरण नबन्दा सरकारले लक्ष्य गरेअनुसारको आर्थिक विकास हुन नसक्ने भएकाले सरकारलाई सहयोग गर्ने उद्देश्यका साथ ब्याजदरमा स्थिरता ल्याउने प्रयास गरिएको ढुंगानाको भनाई थियो ।


क्लिकमान्डु