होली खेल्दा मोबाइलाई यसरी जोगाउनुहोस्




काठमाडौं । रंगहरुको पर्व भनिए पनि होलीमा पानीको प्रयोग बढी नै हुन्छ । मोबाइल पनि साथमा राखेर फोटो खिच्ने रहर सबैमा हुन्छ । होली खेल्दा मोबाइल, घडी तथा महँगा ग्याजेटहरु लगाएर हिँड्ने यो जमानामा होलीबाट ती सामग्रीहरु जोगाउन हम्मेहम्मे नै पर्छ ।

पानीले भिज्नबाट कसरी जोगाउने ?

जिप-लक पाउचको प्रयोग
बजारमा सजिलै पाइने जिप–लक पाउच वाटरप्रुफ प्याकेट हो । सस्तो मूल्य, सरल तथा पुनः प्रयोग गर्न सकिने विशेषताहरुका कारण यसलाई होलीमा मोबाइल तथा ग्याजेटहरू जोगाउन प्रयोग गर्न सकिन्छ ।

वाटरप्रुफ मोबाइल ब्याग
मोबाइल नै बोक्न बनाइएका वाटरप्रुफ ब्यागहरु पनि बजारमा प्रशस्त पाइन्छन् । बिशेष सुविधायुक्त यी ब्यागमा फोन राखेर बाहिरैबाट प्रयोग गर्न मिल्छ भने केही ब्यागलाई पाइन्ट वा बेल्टमा बाँध्न मिल्ने सुविधा हुन्छ । यसले गर्दा मोबाइलको सुरक्षामा न्यूनतम ध्यान दिँदा पनि हुन्छ ।

बेलुनको छाला
एउटा बेलुन फुलाउने र उक्त फुलेको बेलुनमा मोबाइल टाँसेर थिच्दै क्रमशः बेलुन उल्टो हुने गरी बेलुनभित्र मोबाइल हाल्ने । त्यसो गर्दा फोन बेलुनभित्र छिरेपछि त्यसमा भएको सम्पूर्ण हावा निकालेर बेलुनलाई बाँध्ने । यसबाट पनि फोनलाई होलीको रंग र पानीबाट जोगाउन सकिन्छ ।

वाटरप्रुफ स्प्रे कोट
बजारमा बिभिन्न ब्रान्डका वाटरप्रुफ स्प्रे उपलब्ध हुन्छन् । उक्त स्प्रे फोनमा छर्किए ६ देखि १२ महिनासम्म फोन वाटरप्रुफ हुन्छ । यसले गर्दा होलीमा पानीको प्रयोग भए पनि मोबाइल सुरक्षित रहन्छ ।

मोबाइल भिज्यो ?  यी कार्य गर्दै नगर्नुहोस्
फोन अन गर्ने गल्ती नगर्नुहोस । त्यसैगरी फोनका कुनै पनि बटन नथिच्नुहोस । पानी निस्कन्छ भनेर फोनलाई हल्लाउने गल्ती पनि नगर्नुहोस । पानी सुकाउन फोनमा फुक्ने काम गर्दा पानी थप फिँजिन सक्छ । त्यसैले यो गल्ती पनि नगर्नुहोस् र फोनलाई आगोको छेउमा राखेर तताउने कार्य पनि नगर्नुहोस ।

के गर्ने ?
फोन भिजिसकेर पनि अन नै छ भने अफ गर्नुहोस ।
मोबाइल जोगाउन प्रयोग गरिएको खोल निकाल्नुहोस् साथै मेमोरी कार्ड तथा सिमकार्ड पनि फोन बाहिर झिक्नुहोस । मोबाइलबाट ब्याट्री पनि झिक्नुहोस ।
भिजेको मोबाइललाई सुख्खा कपडाले पुछ्नुहोस्, याद राख्नुहोस् यसो गर्दा मोबाइलमा पानी फैलन दिनुहुँदैन । फोनको पानी कपडाले सोसेजति सोस्न दिनुहोस् ।

फोनको पानी हटाउन फोनलाई चामलमा गाड्न सकिन्छ । केही घण्टा (२० देखि ३६ घण्टा) फोनलाई चामलभित्र राख्दा फोनभित्रको पानी चामलले सोस्छ, तर यसो गर्दा चामलको भुस फोनभित्र पसेर फोन बिग्रने सम्भावना हुन्छ । चामलबाट निकालेर फोन अन गर्नुहोस, अन भएन भने चार्ज गर्नुहोस, यति गर्दा पनि भएन भने फोनलाई कुनै राम्रो मेकानिक कहाँ लानुपर्नेछ ।


क्लिकमान्डु