कोरियाली ‘ग्ल्यामर डिप्लोमेसी’को विश्वमा चर्चा




काठमाडौं । संसारमा राजनीतिक उथलपूथलका महत्वपूर्ण घटनामा महिलाको महत्वपूर्ण सहभागिता तथा भूमिका नै हुने गरेको पाइन्छ । त्यसैले राजनीतिलाई सौन्दर्यले पनि डोर्याउँछ भनिएको हो । राजनीतिमा सबै सम्भावना सम्भव भएकोले नै यसलाई सम्भावनाको खेल पनि मानिन्छ । तर राजनीतिमा सौन्दर्यसमेत थप मुखरित भएको एउटा उदाहरण दक्षिण कोरियामा हालै भेटिएको छ ।

कोरियाली प्रायद्वीपमा शीतकालीन ओलम्पिकले सौन्दर्यको जादू यसरी चलाइदियो कि युद्धको सन्निकट पुगेका भनिएका दुई फरक राजनीतिक चिन्तन र व्यवहार भएका उत्तर र दक्षिण कोरिया मानौ विगतमा कुनै शत्रुता नै नभएजसरी प्रस्तुत भए ।

उत्तर कोरियाले शीतकालीन ओलिम्पिकमा सहभागिता जनाएको खेलकूदमा कति वटा स्वर्ण पदक हासिल गर्यो भन्ने बारेमा त्यति अर्थपूर्ण लेखाजोखा गरिएन । तर राजनीतिभित्र मिसिएको सौन्दर्यको अर्थ भने यो वा त्यो कोणबाट लगाइयो, खोजियो । अर्थात यसलाई कूटनीतिक मामिलाका कतिपय जानकारले ‘लिपिस्टिक डिप्लोमेसी’ नाम पनि दिए । पश्चिमा सञ्चारमाध्यमले त यसलाई सजिलै भनिदियो– उत्तर कोरियाले बहिनी कुटनीति प्रयोग गर्यो ।

उत्तरले सम्बन्धमा यस्तो जादु चलायो कि उसले खेकलकूदमा प्राप्त गरेको भन्दा सयौं गुणाबढी लाभ यस कूटनीतिबाट हासिल गरेको छ । उत्तरले सबैभन्दा महत्वपूर्ण मेडल मध्य एक कुटनीतिक गोल्ड मेडल जितेको छ । यस खालको टिप्पणी यतिखेर दक्षिण कोरियाका पूर्वमन्त्री, पार्टी तथा विज्ञको साझा मत बनेको छ ।

यस किसीमको निष्कर्ष दक्षिण कोरियाली सरकारका पूर्वमन्त्री र राजनैतिक पार्टी तथा विज्ञको बढ्ता देखिन्छ । उत्तर कोरियाले यो खेललाई दक्षिण कोरियाका घनिष्ट मानिएका मित्र जापान र अमेरिकालाई नै छाँयामा पारिदिएको छ । उत्तर कोरिया आणविक अस्त्र विकास कार्यक्रम आफ्नो प्रतिरक्षाका लागि भएको प्रचार गराउँदै सौन्दर्यको जादूमार्फत जितको घोषणा गर्न चाहन्छ र विगत दुई वर्षदेखि लाग्दै आएको नाकाबन्दीले आफूलाई कुनै प्रभाव पारेको छैन भन्ने सन्देश पनि दिन चाहन्छ ।

एक महिना अघि उत्तर कोरियाली राष्ट्रपति किमले शीतकालीन ओलम्पिकमा भागलिने घोषणा गर्दा विश्व नै चकित भएको थियो । ओलम्पिकसँगै जापान, अमेरिकाले सैनिक अभ्यासको प्रस्ताव पनि गरेका थिए ।

संयुक्त सैनिक अभ्यास र ओलम्पिक परस्पर विरोधी कार्यक्रम थिए । उत्तर चाहन्थ्यो, सैनिक अभ्यास रोकियोस र दक्षिणमा आफ्नो सशक्त उपस्थिती देखियोस । उत्तरकै मत सही ठहरियो दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–ईनले सैनिक अभ्यासलाई पर सारिदिए । उत्तरतर्फ मित्रताको हात बढाए । किमकी बहिनी पियोङ्गचाङ्ग ओलम्पिकमा भाग लिन गइन् । अनि यसको लगत्तै उत्तर कोरियाली नेता किमले पनि द्विपक्षीय सम्मेलनलाई उत्तरमा आयोजना गर्ने अनुमती नै दिए।

जापानी प्रधानमन्त्री सिन्जो आबे र अमेरिकी उपराष्ट्रपति माइक पेन्स पनि एक किसीमले भन्ने हो भने छायाँमा परे । किमकी बहिनीको जादु यस्तो चल्यो कि उक्त ओलम्पिक खिच्न त्यहाँ पुगेका संसारका टिभीका क्यामेरा पनि उनको पछि दौडिए । दक्षिण कोरियाली नागरिक त किम यो जोङलसँग एउटा सेल्फी खिच्न लालायित देखिए ।

उत्तर कोरियाली ब्याण्डको म्युजिकल प्रस्तुती देशभक्तिको गान बजाउँदा होस वा उद्घाटन समारोहमा किम यो जोङ क्यामेराको केन्द्रमै रहिरहिन् । अनि उनका बारेमा कैयौँ अलग्गै सामाग्री बने ।

हाल कोरिया विश्वविद्यालयमा प्राध्यापन गर्दै आउनुभएका किम साङ्ग हानले भने ‘उत्तर कोरियाले यस्तो स्वर्ण पदक जित्यो कि अरु सबै पदक छायाँमा पर्यो ।’ सन् २०१२–१३ मा विदेशमन्त्रीसमेत रहेका किमको शब्दमा ‘उत्तर कोरिया दक्षिणका लागि आफ्नै आफन्त हो भन्ने भान समेत पारिदिएको छ । यो एउटा सकारात्मक सुरुवात हो ।’

उत्तरका प्रतिनिधी र खेलाडी सेलिब्रेटी बनिरहँदा जापानी प्रधानमन्त्री र अमेरिकी उपराष्ट्रपतिको ‘कूटनीतिक कद’ सामान्य नागरिकभन्दा खासै माथि उठ्न सकेन । दक्षिणका राष्ट्रपतिलाई जापानी प्रधानमन्त्रीले सैन्य अभ्यास सुरु गरिहालौँ भनेर गरेको प्रस्तावलाई उनले नकारिदिए । अन्तरराष्ट्रिय सञ्चारमाध्यमकाअनुसार दक्षिण कोरियाका राष्ट्रपतिले जापानी प्रधानमन्त्रीलाई भने ‘हाम्रो आन्तरिक मामिलामा बढी दख्खल राख्नु राम्रो होइन ।’

किमकी बहिनीको मुस्कानले कोरिया र विश्वलाई मोहित मात्रै बनाएन कि दक्षिणका राष्ट्रपतिसँग उनको चार पटकसम्म भएको भेटले पनि निकै फरक पार्यो । लाग्थ्यो यी सबै घटनाक्रम सामान्य रुपमा भइरहेका छन् । उनीहरु वर्षौपछि भेटेका असाध्यै मिल्ने साथी हुन् ।

त्यसैको प्रतिबिम्ब हुनसक्छ उत्तर कोरियाली विशेष दूत किम यो जोङसँगै उपस्थित अमेरिकी उपराष्ट्रपति माइक पेन्सले अमेरिका, दक्षिण कोरिया र जापानले संयुक्त सैन्य अभ्यास गर्ने र उसलाई एक्ल्याउने । माइक पेन्सले उत्तरलाई एक्ल्याउने विषयमा आफूबीच मतभेद नभएको टिप्पणी गरे । उनले उत्तरले शीतकालीन ओलम्पिकलाई सौन्दर्य मार्फत प्रोपोगान्डा गरेको बताए ।

अमेरिकी उपराष्ट्रपतिको व्यवहार पनि सभ्य नभएको गुनासो दक्षिण कोरियालीले गरेका थिए । कारण के थियो भने संयुक्त कोरियाली खेलाडी समूह सामूहिक व्याण्डमा देखिदा, साथै दुवै देशका तर्फबाट सामुहिक रुपमा झण्डा प्रदर्शनगर्दा पनि पेन्सले ताली बजाउन समेत चाहनु भएन । रंगशालामा सबै उठेर ताली बजाउँदा पेन्स एक्लै बसीरहनु आरोप धेरैको थियो ।

कोरियाली प्रायद्वीपको न्यायो हाउभाउले सोल र वासिङटनबीच विवाद रहेको र फाटो परेको हल्ला पनि चैतको खरमा आगो लागेसरि फैलियो । जापानसँग पनि सम्बन्ध चिसो भयो कि भन्ने आशंका व्यक्त गरियो । किनकी उत्तरको आणविक तुजुकलाई दबाव र अन्तमा सैन्य हस्तक्षेप मार्फत ठिक गर्नुपर्छ भन्ने मनसाय राख्ने गठबन्धनका सदस्य हुन् जापान, अमेरिका र दक्षिण कोरिया ।

जापानका प्रधानमन्त्री सिन्जो असहस देखिनु, अमेरिकी उपराष्ट्रपति आशनबाट नउठ्नु र लगातार सैन्य अभ्यासको मात्रै कुरा गर्नुले पनि किम यो जोङ कति हावी भए भन्ने सहजै अनुमान गर्न सकिन्थ्यो । एक अन्तरराष्ट्रिय सञ्चारमाध्यमसँग जापानका ताकुशुकस विश्वविद्यालयका प्राध्यापक ताकाशी कावाकामीले भने – ‘उत्तर कोरियाले कुशलतापूर्वक जापान, दक्षिण कोरिया र अमेरिकाबीच फाटो ल्याउन सफल देखियो ।’

जापानका सैन्य अधिकारीले त उत्तरले खेल प्रोपोगाण्डाबीच सौन्दर्यको चास्नी घोलेर आवणिक कार्यक्रमलाई थप विकास गर्ने चालबाजीको रुपमा टिप्पणी गरेका छन् । उत्तरमाथि संयुक्त राष्ट्रसंघले कडा नाकाबन्दी लगाएको छ । उसको आणविक हतियारप्रतिको मोहलाई क्रमशः कम गराउने रणनीति शक्ति राष्ट्रले बनाएका छन् । तर उत्तर आणविकको तुजुकमा निरन्तर अगाडि बढीरहेको छ ।

किम जोङ्ग उनले शितकालिन ओलम्पिकमा खेलाडी र बहिनी पठाउने निर्णयलाई पनि यही नाकाबन्दीको असर कम गराउने मजबूत अस्त्रको रुपमा लिइएको लिइयो । खेल अवधीमा दुवै कोरियाले नाकाबन्दीको विषयमा कहीँ कतै उल्लेख गरिएन । बरु सद्भाव बाड्न र संयुक्त रुपमा सेल्फी खिच्नेदेखि खेल मैदानमा खेलाडी उत्साहित गर्न संयुक्त रुपमा उपस्थित भए ।

अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका एक अमेरिकी प्रतिनिधीले त संयुक्त कोरियाली महिला आइस् हक्की टिमलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्नुपर्ने र त्यसमा मनोनयन गर्नुपर्ने माग गरे । सो टोलीमा १२ खेलाडी सहभागी थिए ।

कुरा यत्तिमा मात्रै सिमित भएन । उत्तर कोरियाका राष्ट्रपति किमले बहिनी किम यो जोङलाई दक्षिण कोरिया पठाएर चलाएको जादुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत प्रभावित पार्यो । राष्ट्रपति ट्रम्पले आफ्नी पुत्री इभान्का ट्रम्पलाई दक्षिण कोरिया पठाएका थिए । शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी गराउन र दक्षिण कोरिया र अमेरिकको मित्रतालाई नयाँ उचाईमा पुर्याउन सफल हुने अपेक्षा गरिएको छ ।

ट्रम्पका छोरी इभान्काले दक्षिणका राष्ट्रपति मुनसँग राष्ट्रपति भवनमा डिनर कार्यक्रममा सहभागी हुने र प्योङचाङमा हुने ओलम्पिक समापन समारोहमा अमेरिकी टोलीको नेतृत्व गर्ने कार्यक्रम तय भएको थियो । उनले यी सबै कार्यक्रमहरु औपचारिक रुपमा नै सम्पन्न गरेका थिए ।

ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुन पुगेका उत्तर कोरियाली नेता किमकी बहिनी किम यो जोङले राष्ट्रपति मुनसँग रात्रीभोज गरेका थिए । सो रात्रीभोजमै उनले दक्षिणका राष्ट्रपतिलाई प्योङयाङमा आयोजना हुने शिखर वार्तामा सहभागी हुन आमन्त्रण समेत गरेका थिए । किम यो जोङ त्यहाँ रहँदासम्म उनी विश्वभरका सञ्चारमाध्यमको आकर्षणको केन्द्र नै बनिरहेकी थिइन् ।

उत्तर कोरियाली नेत्रीले सिर्जना गरेको सौन्दर्यको जादूलाई निस्तेज पार्न ट्रम्पले इभान्कालाई पठाएको विश्लेषण पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् । तर जुन खालको उत्साह र मैत्रीको सञ्चार किम यो जोङले गर्नुभएको थियो, इभान्काले त्यो हदसम्म आफूलाई प्रस्तुत गर्न भने नसकेको बताइयो ।

दक्षिण कोरियाका सञ्चारमाध्यमले किम यो जोङ र इभान्काबीचको समानता र असमानताका बारेमा समाचार सामग्री प्रस्तुत गरिरहेका छन् । जे भएपनि कोरियाली प्रायद्वीपमा एउटा विश्वासको सञ्चार भएको छ । त्यसलाई शान्ति र सुसम्बन्धको मार्गमा डोर्याउन सके त्यसले विश्व समुदायलाई सकारात्मक प्रभाव पार्नेछ । (विभिन्न समाचार एजेन्सीको सहयोगमा)


क्लिकमान्डु