चीनको चमत्कार: बेइजिङ बाट न्यूयोर्क दुई घन्टामा पुग्ने हवाईजहाज !



बेइजिङ । चीनले हरेक महिना एउटा चमात्कार गर्दै आएको छ । पछिल्लो सयम चिनियाँ वैज्ञानिकहरु अहिले जहाजलाई कसरी छिटो गन्तव्यमा पु¥याउन सकिन्छ भन्ने अध्ययनमा लागेका छन् । उनीहरुले हाल दुई घन्टामा बेइजिङबाट न्यूयोर्क पुग्न सक्ने जहाज निर्माणको अध्ययनमा जुटेका छन् ।

चिनियाँ अनुसन्धान टिमले दर्जनौं मानिस र कार्गो बोकेर दुई घन्टामा बेइजिङबाट न्यूयोर्क पुग्न सक्ने गतिको हवाईजहाजको डिजाइन तयार पारिसकेको छ ।

उक्त हवाईजहाज ६ हजार किलोमिटर प्रतिघन्टाको गतिमा उड्न सक्ने चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । जुन आवाजको गति भन्दा पाँच गुणा बढि हो । आवाजको गति प्रतिघन्टा १ हजार २ सय ३५ किलोमिटर हुन्छ ।

कुइ काइको नेतृत्वको अनुसन्धान टिमले ‘फिजिक्स, मेकानिक्स एन्ड एस्ट्रोनोमी’ नामक जर्नलमा लेखेको टिपोटमा योजनाको खुलासा गरिएको हो । अहिले सामान्य यात्रुवाहक विमानलाई बेइजिङ र न्यूयोर्कबीचको ११ हजार किलोमिटर दूरी पार गर्न करिब १४ घन्टा लाग्छ ।

बेइजिङस्थित चाइनीज एकेडेमी अफ साइन्सको उक्त टिमले जहाजको मोडेलको सफल परिक्षणसमेत गरिसकेको छ । यसलाई ‘आइ प्लेन’ नाम दिइएको छ । एक जोडी पखेटासहितको आइ–प्लेन पहिलो विश्वयुद्धमा प्रयोग गरिएको ‘बाइ प्लेन’ सँग मिल्दोजुल्दो छ । यस्ता बाइ–प्लेनहरु १९३० को दशकपछि लोप भएका थिए, जब प्लेन डिजाइनरहरुले उच्च गति र इन्धन मितव्ययीताको खोजी गर्न थाले ।

चीनको पछिल्लो ‘हाइपरसोनिक’ जहाजको तल्लो पखेटा जहाजको मुख्यभागबाट दुई हात फैलाएजस्तो देखिन्छ । तेस्रो चौडा, ब्याट आकारको पखेटा जहाजको पछाडिबाट माथितिर उठेको छ ।

अमेरिकाले पनि हाल हाइपरसोनिक जहाजमाथि परिक्षण गरिरहेको छ । लोकहिद मार्टिनले एसआर–७२ माथि काम गरिरहेका छन् । साथै उनले सुपरसोनिक यात्रुवाहक जहाजमाथि पनि काम गरिरहेका छन् । यो पनि आवाजको भन्दा उच्च गतिमा हुइकिन सक्ने बताइएको छ ।

अनुशन्धानकर्ताहरुले दावी गरेका छन् कि यो जहाजले हाल विश्वमा निर्माणाधिन हाइपरसोनिक सवारीसाधनले भन्दा धेरै भारवहन गर्न सक्छ । उनीहरुका मुताबिक सामान्य व्यवसायिक जेटको तुलनामा यसले २५ प्रतिशत भारवहन गर्नेछ । यसको अर्थ बोइङ ७३७ जत्रै ठुलो एउटा आइ–प्लेनले पाँच टन कार्गो वा ५० यात्रुहरु बोक्न सक्नेछ । जबकि एउटा बोइङ ७३७ ले २० टन कार्गो वा २ सय यात्रुहरु बोक्ने क्षमता राख्छ ।


पुष्प दुलाल