आयातित चिनीको भन्सार शुल्क बढाउन माग



काठमाडौं । उद्योगीहरुले चिनीमा ५० प्रतिशत भन्सार शुल्क लगाउन माग गरेका छन् । नेपालमा उत्पादीत चिनीभन्दा आयातित चिनी सस्तो हुन गएकाले उद्योगीहरुले चिनीमा ५० प्रतिशत भन्सार शुल्क लगाउन माग गरेका हन् । विदेशबाट आयातित चिनीमा राज्यले १५ प्रतिशत भन्सार शुल्क लगाउने गरेको छ ।

राज्यले तत्काल चिनीको भन्सार शुल्क नबढाएर नेपाली चिनीले आयातित चिनीसँग प्रतिस्पर्धा गर्न नसक्ने नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले बताए ।

‘अन्तराष्ट्रिय बजारमा चिनी सस्तो भएको छ, अन्तराष्ट्रिय बजार अनुसार चिनी बिक्री गर्न सकिने अवस्था छैन,’ अग्रवालले भने ।

गत जनवरीमा २०१७ मा चिनीको मूल्य करिब ५ सय ५० अमेरिकी डलर थियो । यो बर्ष चिनीको मूल्य घटेर ४ सय २५ अमेरिकी डलरमा पुगेको छ । अन्तराष्ट्रिय बजारमा चिनीको मूल्य अझै घट्न सक्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा उपस्थित उद्योगीहरु बताउँछन् ।

सुगर मिल्स एसोसिएसनका महासचिव राजेश केडियाले अन्तराष्ट्रिय बजारसँग प्रतिस्पर्धा गरेर नेपालमा उत्पादीत चिनीको मूल्य घटाएर बेच्ने हो भने कृषकलाई पैसा दिन मुस्किल पर्ने बताउँछन् ।

‘नेपाली चिनी बेच्नुभन्दा बाहिरबाट आयत गरेर बेच्न ब्यापारीलाई सस्तो पर्छ । आयात गरेर चिनी बेच्दा उनीहरुलाई फाइदा हुन्छ, हाम्रो चिनी गोदाममै थनकाउनु परिरहेको छ,’ केडियाले भने ।

भन्सार शुल्क बढाउन सकिदैन भने उत्पादन लगातमै स्वदेशी उद्योगबाट सरकारले चिनी खरिद गर्नुपर्छ, हैन भने उत्पादीत चिनीमा प्रति केजी १० रुपैयाँसम्म नगत अनुदान दिनुपर्ने छ,’ केडियाले भने ।

यस अघि सरकारले आयातित चिनीमा ३० प्रतिशत भन्सार शुल्क लगाउने गरेको थियो । चाडपर्वको समयमा चिनीको अभाव देखिन सक्ने भन्दै भन्सार शुल्क १५ प्रतिशतमा झारिएको थियो ।

अन्तराष्ट्रिय बजारसंग नेपाली उद्योगले प्रतिस्पर्धा गर्न नसक्ने देखिएकाले कृषक र उत्पादक दुवैको बचाउका लागि चिनीको भन्सार शुल्क बढाउनु पर्ने उखु उत्पादन संघका अध्यक्ष कपीलमणी मैनाली बताउँछन् ।

‘उत्पादन भएको चिनी गोदामा थन्किदा किसानले पैसा पाउन सक्दैनन्, आयातित चिनीमा भन्सार वृद्धि गरेर किसानलाई बचाउँनु पर्छ,’ उनले भने ।

नेपालमा बार्षिक २ करोड २५ लाख मेट्रिक टन चिनी खपत हुने गरेको छ । नेपाली उत्पादकले बार्षिक १ करोड ७५ लाख मेट्रिक टन चिनी उत्पादन गर्ने गरेका छन् भने अपूक चिनी साल्ट्रेडिङले विदेशबाट आयत गरि बिक्री वितरण गर्ने गरेको छ ।

पाकिस्तानीमा उत्पादन हुने चिनी एकदमै सस्तो मूल्यमा पाइने भएकाले व्यापारीहरु पाकिस्तानी चिनी आयात गरेर बेच्ने गरेका छन् । पाकिस्तानी चिनी आयात गर्दा व्यापारीलाई बढीमा ६० रुपैयाँ पर्ने देखिन्छ । जसले गर्दा स्वादेशी चिनी बेच्नुभन्दा आयातित चिनी बेच्दा व्यापारीलाई फाइदा हुने देखिन्छ ।

केहि समय अघिसम्म भारत सरकारले चिनी आयातमा १५ प्रतिशत भन्सार दिने गरेको थियो । अहिले भन्सार शुल्क ३० प्रतिशत पुर्याइएको तथ्य अध्यक्ष अग्रवालले जानकारी गराए ।

आयातित चिनीमा भन्सार शुल्क वृद्धि गर्दा चिनीको उपभोक्ता मूल्यमा कुनै परिवर्तन नहुने अग्रवाल दाबी गर्छन ।

‘आयातित चिनीलाई नियन्त्रण गर्न सकिए उत्पादक र कृषकको भलाई हुन्छ, हामीबाट उपभोक्ता मार्ने काम कदापी हुने छैन,’ उनले भने ।

नेपालमा एक लाख विगाह जमिनमा उखु खेती हुने गरेको छ । हाल उखुको मूल्य प्रति क्वीन्टल ५ सय ३१ रुपैयाँ २० पैसा तेकिएको छ । बार्षिक रुपमा ग्रामिण अर्थतन्त्रमा ११ अर्ब रुपैयाँ उखीखेतीबाट भित्रिने गरेको छ । नेपालमा १३ वटा चिनी उद्योग संचालनमा छन् ।


क्लिकमान्डु