बीर अस्पतालमा यस्तो बन्दैछ ८ तले सुबिधासम्पन्न सर्जिकल भवन




काठमाडौं । बीर अस्पतालले २ अर्ब ८५ करोडको लागतमा सुविधा सम्पन्न सर्जिकल भवन बनाउने भएको छ ।

बीर हस्पिटल कम्प्लेक्सको अवधारण अनुरुप सर्जिकल भवन निर्माण गर्न लागिएको नेशनल एकेडेमी अफ मेडिकल साइन्स (एनएएमएस) का भिसी गणेशबहादुर गुरुङले जानकारी दिए ।

‘बीर अस्पताल कम्प्लेक्समा सर्जिकल ब्लक, मेडिकल ब्लक र ट्रमा ब्लक रहनेछन्, ३ वटा ब्लकमध्ये ट्रमा ब्लकको निर्माण भई सेवा सुरु भईसकेको छ भने सर्जिकल ब्लक निर्माण गर्ने चरणमा छौं, मेडिकल ब्लक छिट्टै निर्माण गर्ने तयार छ,’ भिसी गुरुङले क्लिमाण्डूसँग भने ।

अस्पतालले १७ रोपनी जमिनमा दुई तला अन्डरग्राउण्ड पार्किङसहितको ८ तले सर्जिकल भवन बनाउन लागेको हो ।

सर्जिकल भवनमा ६ सय ५० जना विरामी राख्न मिल्ने सुविधासम्म वेड हुनेछन् । साथै, अन्डरग्राउण्ड पार्किङमा २ सय वटा सवारी साधन एकसाथ पार्किङ गर्न सकिनेछ भने तेस्रो तलामा रेडियोलोजी डिपार्टमेन्ट रहनेछ । सो ठाउँबाट एक्सरे, सिटी स्क्यान, एमआरआइ स्क्यानलगायतको सेवा प्रदान गरिनेछ ।

चौथो तलामा ३० वटा अपरेशन थियटर रहेछन् । माथिल्लो तलालाई अस्पतालले सभा हलको रुपमा निर्माण गर्ने गरी तयारी गरिएको भिसी गुरुङ बताउँछन् ।

भवन निर्माणका लागि ३ वटा कम्पनीहरु प्राविधिक रुपमा सक्षम देखिएका छन् । ती कम्पनीहरुको आर्थिक प्रस्तावको आधारमा भवन निर्माण गर्ने कम्पनी छनोट गरिने उनी बताउँछन् ।

‘फागुन भित्रमा ३ वटै कम्पनीको आर्थिक प्रस्ताव खोलिने छ, न्युन मूल्यमा प्रस्ताव गर्ने कम्पनीले भवन निर्माणको जिम्मा पाउने छ,’ उनले भने ।

कति बर्षमा बनिसक्छ यो भबन ?
कन्सेप्चुअल डिजाईन गर्ने कम्पनीले साढे २ बर्षमा निर्माण कार्य सक्नेगरी डिजाइन बनाएको छ । सरकारले यसलाई बहुवर्षीय योजनामा राखेकाले साढे २ बर्षमा निर्माण सकिने कुरामा बीर अस्पताल आफै विश्वस्त छैन ।

भिसी गुरुङका अनुसार ठेकेदार कम्पनीले इमान्दारिताका साथ काम गर्ने हो भने पनि साढे ३ देखि ४ बर्ष समय लाग्न सक्छ । चालु आर्थिक बर्षका लागि सरकाले ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

नयाँ भवनमा कस्तो सुविधा हुनेछ ?
नयाँ सर्जिकल भवनमा ट्रान्सप्लान्टदेखि सर्जिकल सबै सेवा उपलब्ध हुने भिसी गुरुङ बताउँछन् । यसमा न्यूरो सर्जरी, साइभर नाइफ (रे को माध्यमबाट क्यानसरको उपचार गर्ने विधि), लिभर, बोन म्यारो, मुटुलगायतको प्रत्यापोरण गरिनेछ ।

साथै संसारभर चलन चल्तिमा रहेका विकसित किसिमको अपरेशन समेत संचालन गरिने उनी बताउँछन् ।

सो भबनमा ट्रान्सप्लान्ट सर्जिकलदेखि सबै सेवा उपलब्ध हुनेछ । साइभर नाइफ भनेको बिना अपरेशन दिमागको क्यानसरलाई उपचार गर्ने पद्धति हो । यो सेवा पनि नयाँ भबनबाट प्रदान गर्ने तयारी अस्पताल प्रशासनको छ ।

अहिले बीर अस्पतालमा दिमागको तथा ओपन हार्ट सर्जरी सेवा छैन । बीर अस्पतालले अहिलेसम्म मृगौला मात्र प्रत्यापोरण गर्ने गरेको छ । नयाँ भबन बनेपछि कलेजो, बोन म्यारो, मुटुलगायतको प्रत्यापोरण सेवा सुरु गरिने भिसी गुरुङले जानकारी दिए ।


क्लिकमान्डु