ग्यास उद्योगहरु एनएस चिन्ह लिने प्रकृयामा, ४९ वटाले दिए आवेदन



काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर (एनएस) प्रमाणपत्र नलिएका ग्यास कम्पनीको सिलिण्डर बिक्रीमा रोक लगाएपछि ग्यास कम्पनीहरुले एनएस प्रमाणपत्र लिनका लागि आवेदन दिन थालेका छन् ।

विभागकाअनुसार पछिल्ला दिनहरुमा विभागले कडाई गरेसँगै ४९ वटा ग्यास कम्पनीले एनएस चिन्हका लागि आवेदन दिएका छन् ।

विभागले केही समय अघि गरेको अनुगमनका क्रममा थुप्रै ग्यास कम्पनीहरुले एनएस चिन्ह नलिएको र गुणस्तरहिन ग्यास विक्री वितरण गरिरहेको पाएपछि एनएस चिन्ह नभएको उद्योगको ग्यास विक्री बन्द गर्न सुरु गरेको थियो ।

एनएस चिन्ह लिनका लागि थप खर्च लाग्ने भन्दै आएका ग्यास उद्योगीसमेत पछिल्लो दिनमा भने एनएस चिन्ह लिने प्रकृयामा लागेका छन् ।

हाल नेपालमा ५३ वटा ग्यास उद्योगहरु रहेकोमा ४९ वटा ग्यास उद्योगले एनएस चिन्हको लागि निवेदन गरेका छन् । निवेदन गरेकामध्ये एनएल ग्यास, मेट्रो काठमाडौं ग्यास, नोबेल ग्यास, जानकी ग्यास, कोशी ग्यास र श्री राम ग्यास उद्योगको निवेदन प्रकृयाका लागि अघि बढीसकेको नेपाल गुणस्तर तथा नापतौल विभागकी उपनिर्देशक रोमी मानन्धरले जानकारी दिईन् ।

‘६ वटाको प्रोसेसमा गै सकेको छ । यीनिहरुले एनएस चिन्ह पाएसरी हो । अन्य ग्यास उद्योगहरुलाई १५ दिनभित्र सबै डकुमेन्ट पठाउन निर्देशन पठाईएको छ । डकुमेन्ट आएपछि तिनिहरुको पनि प्रोसेसमा जान्छ ।’ उपनिर्देशक मानन्धरले क्लिकमाण्डूसँग भनिन् ।

अहिलेसम्म ४३ ग्यासहरुले एनएस चिन्हको लागि निवेदनका साथमा आवश्यक कागतपत्रहरु पठाईसकेको विभागले जानकारी दिएको छ ।

नएस चिन्हको लागि निवेदन गर्नेहरुमा श्री ग्यास, बाबा ग्यास, सगरमाथा ग्यास, मारुती ग्यास, उग्रचण्डी ग्यास, गौरीशंकर ग्यास, सिदार्थ ग्यास, नमस्ते ग्यास, त्रिशुली ग्यास, नेपाल ग्यास, चन्डेश्वरी ग्यास, जगदम्बा ग्यास, प्रिमा ग्यास, साहारा ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास, सुर्य ग्यास, गीता ग्यास, ओम ग्यास, गृह लक्ष्मी ग्यास, भानु ग्यास, सत्य नारायण ग्यास, शक्ति ग्यास, नारायणी ग्यास, लुम्बिनी ग्यास, त्रिबेणी ग्यास, रिजालको भान्सा ग्यास, राजधानी ग्यास, हिमालयन ग्यास, भेरी ग्यास, पाथिभरा ग्यास, लिओ ग्यास, पराजुली एण्ड ब्रदर्स ग्यास, कन्काइ ग्यास, अर्गाखाँची ग्यास, मेची ग्यास, अम्बे ग्यास, सुपर ग्यास, मनकामना ग्यास र आरती ग्यासका उद्योगहरुले पुस ३० गते भित्र निवेदन पठाएका हुन् ।

यस बाहेक काब्सन्स इन्डस्ट्रिज, धादिङ र रोयल मल्टी लुक कन्सर्न ग्यास उद्योगले पनि एनएस चिन्हको लागि निवेदन गरेका छन् ।

यी उद्योगहरुको डकुमेन्टहरु पर्याप्त नभएका कारण अन्य थप डकुमेन्टहरुको माग गरिएको मानन्धरले बताइन् ।

उनकाअनुसार शुरुमा खालि सिलिन्डरको जाँच गर्नुपर्ने र त्यस भित्र भएका डि ग्यास र लेउहरु निकाली त्यसमा ग्यास भरेपछि पनि त्यसको तौल र लिकेज नहुने खालको हुनुपर्ने हुन्छ । अनि मात्र ती ग्यास उद्योगलाई एनएस चिन्ह दिइन्छ ।
‘एनएस चिन्हको लागि ४ किसिमको प्रोसेस हुन्छ । पहिलो रिसेप्ट अफ एलपीजी सिलिन्डर, फिलिङ एण्ड डिस्प्याच अफ एलपीजी सिलिन्डर, ह्याङगिङ एण्ड डिसप्याच आफ एलपीजी सिलिन्डर र अग्जीलर सिलिङ हुन्छ । यी चार कुराको राम्रोसँग जाँच गरेपछि मात्र एनएस चिन्ह दिन सकिन्छ ।’ उनले भनिन् ।


क्लिकमान्डु