प्राधिकरण र टेलिकमको कारण कलंकी कोटेश्वर सडक निर्माणमा अवरोध



काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमले बल्खु, खसीबजार क्षेत्रमा पोल नहटउँदा कोटेश्वर कलंकी सडक खण्ड निर्माणमा ढिलाई भएको छ ।

अन्य स्थानमा धमाधम काम भएपनि ती स्थानमा प्राधिकरण र टेलिकमले पोल हटाउन अटेर गरेका हुन् ।

सडक सुधार आयोजनाले पटक पटक पोल हटाइदिन आग्रह गरेपनि हालसम्म प्राधिकरण र टेलिकमले अटेर गरेपछि आगामी ७ महिना भित्र सडक निर्माण सम्पन्न हुने समयसीमा समेत कटने देखिएको छ ।

सरकारी निकायबीच नै समन्वयको अभाव देखिएपछि सडक विस्तार आयोजनामा समस्या खडा भएको हो ।

६ वर्षमा ७० प्रतिशत काम

उक्त सडक विस्तारको काम सन् २०१२ देखि सुरु भएको हो । सुरुमा घर टहरा हटाउने, पोल तथा तार व्यवस्थापन गर्ने काममा ढिलाई भएका कारण ठेकेदारले सोचेजति प्रगति गर्न सकेन ।

यस्तै कतिपय स्थानमा मुआब्जाको विवादका कारण पनि आयोजनालाई समस्या खडा भयो ।

चीन सरकारको अनुदान सहयोगमा सन् २०१२ बाट निर्माण सुरु भएको सडक सुधारको काम आउँदो सात महिनामा सक्ने गरी काठमाडौं चक्रपथ सुधार आयोजनाले सक्रियता बढाएको छ । तर बल्खु र खसीबजार क्षेत्रमा देखिएको अवरोधका कारण उक्त समय भित्र काम सकिन्छ कि सकिदेन भन्नेमा दुविधा भने कायम नै रहेको छ ।

धुलोले मार्यो

५ वर्ष पुगिसक्दा समेत अझै काम नसकिनु दुःखद भएको बताउँछन् बल्खुका कैलाश कार्की । उनले सडक विस्तारमा लामो समय लागेका कारण स्थानीयबासी धुलो र धुवाका कारण दीर्घरोगी जस्तै भएको टिप्पणी गरे । आयोजनाले दैनिक चार पटक सडकमा पानी हाल्नुपर्ने भएपनि कामआक्कल झुक्कल मात्रै पानी हाल्ने गरेको छ ।

सडक निर्माणको क्रममा धुलो व्यवस्थापन गर्न स्थानीयले पटक-पटक आग्रह गरेपनि निर्माण कम्पनीले वेवास्ता गर्दै आइरहेको छ ।

सडक विस्तारको काम समयमै सम्पन्न गर्न सरकारी निकायबीच नै आवश्यक समन्वय गरेर स्थानीयले भोग्दै आएको धुलो र धवाको समस्या हटाउनुपर्ने र प्राधिकरण र टेलिकमले पोल हटाएर सहयोग गर्नुपर्ने माग सर्वत्र बढेको छ ।

भूकम्प, नाकाबन्दीका कारण समयमै आयोजना पूरा नभएपछि सन् २०१८ को जुलाई सम्म निर्माण सम्पन्न गर्ने गरी समयीमा तोकिएको आयोजनाले जनाएको छ ।

कोटेश्वरदेखि कलंकी सम्मको १० दशमलव ३९ किलोमिटरको मध्ये बल्खु खसीबजारको करिब १ किलोमिटर क्षेत्रमा अवरोध रहेको छ ।

६५ प्रतिशत सकियो अन्डरपास

सो सडकको महत्वपूर्ण विशेषताको रुपमा कलंकीको अन्डरपास हो । चौबाटोको सवारीलाई व्यवस्थित गर्न कलंकीमा अन्डरपास बनाइएको छ ।

निर्माणाधीन अन्डर पास काम ६५ प्रतिशत मात्र काम सकिएको आयोजनाको भनाइ छ ।

अन्डर पास वे मा पर्खाल निर्माणको काम भइरहेपनि दुईतर्फी सडक भने अझै नजोडिएको र अझै केही समय लाग्ने छ ।

चीन सरकारको ५ अर्ब अनुदान

चीन सरकारको ५ अर्ब अनुदान सहयोगमा उक्त सडक निर्माण भइरहेको हो । ८ लेनको उत्तः सडक निर्माण सम्पन्न भएपछि काठमाडौंको सवारी व्यवस्थापनमा सहयोग पुग्ने बताइएको छ ।


क्लिकमान्डु