आगलागी र बाढी पीडितले २ प्रतिशत ब्याजमा २५ लाखसम्म सहुलियत ऋण पाउने




काठमाडौं । भोजपूर र तेह्रथुप जिल्लाका आगलागी पीडित र सप्तरीका बाढी पीडितले क्षतिग्रस्त आफ्नो घर बनाउन र ब्यवसाय पुनः संचालन गर्न सहुलियत ब्याजदरको ऋण पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आफ्नो पुनरकर्जा सुबिधा सम्बन्धि कार्यविधिमा संसोधन गर्दै यस्तो ब्यवस्था गरेको हो । यस्तो कर्जाको ब्याजदर बार्षिक २ प्रतिशत हुनेछ ।

यस्तो सुबिधा गत २०७२ को बिनासकारी भूकम्पका कारण क्षति भएका घर बनाउन र ब्यवसाय पुनः संचालन गर्न सम्बन्धित पीडितलाई दिने गरिएको थियो । तर, गत बर्षाको समयमा सप्तरी जिल्लामा आएको विनासकारी बाढी र हालै भोजपूर जिल्लाको भोजपूर बजार र तेह्रथुमको संक्रान्ति बजारमा भएको आगलागीबाट ठूलो मात्रामा जनधनको क्षति भएपछि सरकारले आगलागी र बाढी तथा डुबान पीडितलाई पनि यस्तो कर्जा दिने नीतिगत ब्यवस्था गर्न आग्रह गरेकोले सो ब्यवस्था कार्यान्वयन गर्न कार्यविधिमा संसोधन गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए ।

यस्तो सुबिधा भोजपूर बजार र संक्रान्ति बजारमा भएको आगलागीबाट पूर्णरुपमा क्षति भएका ३४ घरधनीले आफ्नो आवाश निर्माण र ब्यवसाय पुनः संचालनको लागि लिन पाउने छन् । ती दुई जिल्लाका पीडितले जिल्ला दैबी प्रकोप उद्धार समितिबाट प्रमाणित भएको प्रमाणका आधारमा सहरी क्षेत्रमा २५ लाख रुपैयाँसम्म र अन्य क्षेत्रमा १५ लाख रुपैयाँसम्म सहुलियत ऋण प्राप्त गर्न सक्नेछन् ।

गत बर्षामा बाढी तथा डुबानबाट आफ्नो घर तथा ब्यवसाय पूर्ण रुपमा क्षतिग्रस्त भएका सप्तरीका पीडितले आवाशीय घर बनाउन तथा ब्यवसाय पुनः संचालन गर्न १५ लाख रुपैयाँसम्म सहुलियत ब्याजदरको ऋण पाउनेछन् ।

राष्ट्र बैंकका अनुसार यस्तो सहुलियतपूर्ण ऋण लिनको लागि आगलागी र डुवानबाट प्रभावित भएको ब्यहोरा सरकारको सम्बन्धित निकायबाट प्रमाणित हुनुपर्ने तथा सो ब्यहोरा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले समेत यकिन गर्नुपर्नेछ ।

यस्तो ऋण दिएवापत सम्बन्धित बैंक तथा वित्तीय संस्थाले पीडितसँग २ प्रतिशत ब्याज लिन पाउने छन् भने पीडितलाई ऋण दिने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले ब्याजै नलिइ पैसा दिनेछ । अर्थात पीडितलाई ऋण दिने बैंक तथा वित्तीय संस्थाले २ प्रतिशत मार्जिन खान पाउने छन् ।

यस्तो कर्जा शुरुको एक बर्ष ग्रेस अबधि हुने गरी घटिमा ५ बर्ष र बढीमा १० बर्षको अबधिसम्मको हुनेछ । अर्थात ऋण लिएका ऋणीले १ बर्षसम्म कर्जाको सावाँ ब्याज वा किस्ता तिर्नुपर्ने छैन भने त्यसपछि बार्षिक किस्ताको रुपमा ५ वा १० बर्षभित्रमा तिरिसक्ने गरी ऋण लिन पाउने छन् ।

यस्तो कर्जाको ब्याजदरमा बैंक तथा वित्तीय संस्थाले कुनै परिवर्तन गर्न नपाउने शर्त राष्ट्र बैंकले तोकेको छ । अर्थात बैंक तथा वित्तीय संस्थाले कुनै पनि समयम यस्तो कर्जाको ब्याजदर बढाउन पाउने छैनन् ।

यस्तो कर्जा शुरुको एक बर्ष ग्रेस अबधि हुने गरी घटिमा ५ बर्ष र बढीमा १० बर्षको अबधिसम्मको हुनेछ । अर्थात ऋण लिएका ऋणीले १ बर्षसम्म कर्जाको सावाँ ब्याज वा किस्ता तिर्नुपर्ने छैन भने त्यसपछि बार्षिक किस्ताको रुपमा ५ वा १० बर्षभित्रमा तिरिसक्ने गरी ऋण लिन पाउने छन् ।

यस्तो ऋण घर बनाउने प्रयोजनको लागि लिदा निर्माण प्रगतिका आधारमा कम्तिमा ४ चरणमा किस्ताबन्दी रुपमा पाइनेछ । ब्यवसाय पुनः संचालनको लागि लिएको ऋण भने ब्यवसायिक कार्य प्रगतिका आधारमा कम्तिमा २ चरणमा पाइनेछ ।

घर बनाउन ऋण लिएको अबस्थामा त्यस्तो घर राष्ट्रिय भबन संहिता तथा भूकम्प प्रतिरोधात्मक मापदण्डको पालना हुनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

घर बनाउन यस्तो ऋण लिन चाहने ब्यक्तिको सम्बन्धित निकाय वा स्थानीय तहको आगलागी वा बाढी तथा डुवान पीडित भइ आवाशीय घर वा ब्यवसाय क्षतिग्रस्त भएको र ऋणी परिवारमा अन्य कुनै आवाशी घर नभएको प्रमाण वा सो सम्बन्धिी ऋणीको स्वःघोषणा अनिवार्य रुपमा बुझाउनु पर्ने ब्यवस्था गरिएको छ ।

यस्तो कर्जा कुनै पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म दिन सक्नेछन् ।

यस्तो कर्जा बीमा गरेको हुनुपर्ने ब्यवस्था गरिएको छ । बीमा गरिएको यस्तो कर्जामा कर्जा बर्गीकरणका आधारमा हरेक बर्गमा कायम गर्नुपर्ने कर्जा नोक्सानी ब्यवस्थाको २५ प्रतिशतका दरले मात्र कर्जा नोक्सानी ब्यवस्था कायम गरिने राष्ट्र बैंकको भनाइ छ ।

यस्तो ऋण लिनको लागि ऋणीले घरकर्जा र ब्यवसायिक कर्जा लिन जे जस्तो प्रकृया पूरा गर्नुपर्छ, सोही बमोजिमको प्रक्रिया पूरा गर्नुपर्ने ब्यवस्था गरिएको छ । पीडितलाई ऋण दिने बैंक तथा वित्तीय संस्थाहरुलाई भने सोही कर्जालाई धितो मानेर राष्ट्र बैंकले पुनरकर्जा सुबिधा दिनेछ ।


क्लिकमान्डु