बिजुली बालेको पनि पैसा तिर्नुपर्छ र भनेर कुलमानलाई सोधेपछि…




काठमाडौं । विजुली बाल्दा पनि पैसा तिर्नु पर्छ र ? कार्यकारी निर्देशक कुलनमा घिसिङसहितको नेपाल विद्युत् प्राधिकरणको उच्च टोलीलाई यस्तो प्रश्न सोधिएपछि सबै अवाक बने ।

टोली हेटौडा क्षेत्रीय कार्यालय मातहतका कार्यालयहरुको निरीक्षणमा गत मंगलबार तराईका विभिन्न जिल्लामा पुगेको थियो । टोलीले स्थानीयबाट यस्तै अनपेक्षित प्रश्नको सामाना गर्नुपर्यो ।

स्थानीयको प्रश्न सुनेर कार्यकारी निर्देशकसहितको टोली नाजवाफ भयो । कानुनः कारवाही गर्नुपर्ने थियो । तर, अनुगमन टोलीले कारवाही गर्ने भन्दा पनि जनचेतना जगाउन र मिटर उपलब्ध गराउन निर्देशन दियो ।

विशेष गरी तराई मधेसका जिल्लामा अत्याधिक मात्रामा विद्युत् चोरी हुने गरेको र त्यसलाई नियन्त्रण गर्न अनुमगन गर्न पुगेको उच्चस्तरीय टोलीलाई तराईका बारा पर्सा, रौतहटका विभिन्न स्थानमा विद्युत् बाल्दा पनि पैसा तिर्नुपर्छ र भन्ने प्रश्न स्थानीयले गरे । यो प्रश्न सुनेपछि प्राधिकरण्का उच्च अधिकारीहरु जनचेतनाकै कमीको कारण विद्युत महसुल नउठ्ने गरेको निष्कर्षमा पुगे ।

नागरिकमा रहेको चेतनाको अभाव तथा चोरी नियन्त्रणमा प्रभावकारी प्रयास नभएका कारण स्थानीयले उक्त प्रतिक्रिया दिएको हुन सक्ने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले विगत ३ वर्षदेखि चोरी नियन्त्रणको अभियान चलाइरहेको छ । तर नागरिकमा चेतनाको अभाव छ । विद्युत् चोरी गर्नु अपराध हो भन्ने धेरैलाई थाहा पनि छैन । प्राधिकरणको वितरण केन्द्र तथा जिल्ला कार्यालयले पनि जनचेतना जगाउन सकेको छैन ।

रौतहटको ग्रामीण क्षेत्रमा अत्यधिक मात्रामा विजुली चोरी हुने गरेको छ । पर्सामा पनि त्यस्तै छ । बारा पनि चोरीको मात्रा अत्याधिक रहेको छ ।

‘बिजुली बालेको पैसा तिर्नुपर्छ भन्ने हामीलाई थाहै छैन भनेर स्थानीयले सुनाएपछि हामी छक्क पर्यौं,’ अनुगमन टोलीमा संलग्न एक अधिकारीले भने ।

अनुगमनमा गएको टोलीले तत्काल मिटर उपलब्ध गराउन र चोरीमा संलग्नलाई कारवाहीको साटो जनचेतना समेत जगाउन बारा, पर्सा र रौतहटका जिल्ला प्रमुखलाई निर्देशन दिएको छ ।

देशका अन्य स्थानमा चोरी नियन्त्रण भएपनि तराईका केही जिल्लामा अझै पनि ४५ प्रतिशतको हाराहारीमा विद्युत चोरी भइरहेको छ । स्थानीयले सिंचाईका लागि पानी तान्ने कार्यमा प्रयोग गर्न पनि विजुली चोर्ने गरेका छन् । घरायसी प्रयोजनका लागि हुने चोरीको मात्रा झन् धेरै रहेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले विगतका वर्षमा चलाएको चोरी नियन्त्रण अभियान अन्यत्र सफल भएपनि तराईका विभिन्न जिल्लामा अझै सफल हुन सकेको छैन ।

हेटौडा क्षेत्रीय कार्यालय अन्तर्गतको सडक वत्तिको बक्यौता ७१ करोड ४१ लाख रुपैयाँ छ । विद्युत चुहावट समग्रमा १५.३९ प्रतिशत रहेपनि बारा, पर्सा र रौतहटमा ४५ प्रतिशत चुहावट हुने गरेको छ ।

जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतको सडक बत्तिको बक्यौता ५७ करोड १४ लाख ४८ हजार रुपैयाँ छ । सो क्षेत्रमा विद्युत चुहावट ३६.५५ प्रतिशत छ । यसलाई २५ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले विजुली बालेर पनि पैसा तिर्नुपर्छ भन्ने ज्ञान नभएका नागरिकलाई जनचेतनाका साथसाथै जिम्मेवार बनाउने दायित्व प्राधिकरण कै भएको बताए ।

त्यसमा हाम्रो पनि दोष छ, स्थानीयबासी पनि जिम्मेवार छन् । उनीहरुलाई कानुनी रुपमा कारवाही गर्ने र मिटर उपलब्ध गराएर विद्युत् चोरी गर्नु अपराध हो भन्ने चेतना दिनु जरुरी छ,’ अधिकारीले भने ।


क्लिकमान्डु