नेपाली एयरलाइन्स बिजनेशमा निजी क्षेत्रको लगानी ५०० अर्ब, यस्ता छन् खराब नजिर



काठमाडौं । २०४८ सालपछिको खुला नीतिबाट हवाई सेवामा आकर्षित निजी क्षेत्रसेवा विस्तारको चटारोमा छ । गत वर्षमात्रै हेलिकप्टर र जहाज गरी एक दर्जन नयाँ थपिए ।

नेपालमा हाल कूल १९ एयरलाइन्सले आन्तरिक हवाई सेवा दिइरहेका छन् । फिक्सड विङ (सेड्युल उडान गर्ने) मार्फत् १० र रोटर तर्फ ९ कम्पनीले सेवा दिइरहेका छन् । पछिल्लो समय एयरलाइन्स कम्पनीहरुले लगानी विस्तार गर्दै जहाज थप्नलाई प्रतिस्पर्धानै गरेको छन् ।

५ वर्षअघिको दाँजोमा सुगम रुटमा भन्दा पहाडी रुटमा सेवा दिने विमान घट्दै गइरहेका छन् । २०१० मा पहाडी रुटका लागि २३ वटा विमान र सुगमका लागि १९ वटा थिए ।

विगत लामो समय देखि व्यवसायिक उडान गरिरहेका बुद्ध र यतीसँगै, सीता एयर, सिम्रिक एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, तारा एयर, मकालु एयर, काष्ठमण्डप एयरलाइन्स र समिट एयरले ‘फिक्सड विङ’ जहाजबाट तथा फिस्टेल, मनाङ, सिम्रिक, श्री एयरलाइन्स, प्रभु, अल्टिच्युट, माउन्टेन हेलिकप्टर, एयर डाइनेष्टी र हेलि एभरेष्ट लगायतले हेलिकोप्टरबाट आन्तरिक उडान गरिरहेका छन् ।

नेपाली हवाई क्षेत्रमा निजी क्षेत्रको लगानी ५ खर्ब रुपैयाँ हाराहारीमा पुगेको एक अध्ययनले देखाएको छ । निजी क्षेत्रका १० वटा फिक्स विङ र ९ वटा रोटर विङ (हेलिकप्टर) गरी १९ वटा एयरलाइन्स रहेका छन् ।

वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले निजी क्षेत्रले संचालन गरेका एयरलाइन्सको लगानी ५ खर्ब रुपैयाँ पुगेको बताउँछन् । ‘अहिलेको बजार हेर्दा तालिम, जनशक्तिलगायतका अन्य विषयको लगानीको यकिन तथ्यांक बाहेक औसत ५ खर्ब लगानी निजी क्षेत्रको देखिन्छ,’ सीता एयरका वरिष्ठ महाप्रबन्धक समेत रहेका प्रवक्ता आचार्यले भने, ‘अबको एक वर्षमा थप ५० अर्ब लगानी निजी क्षेत्रले गर्नेछ ।’ यो लगानीमा सरकार स्वामित्वको नेपाल वायु सेवा निगमको लगानी भने समेटिएको छैन ।

नेपालमा एयरलाइन्स सञ्चालनका लागि ५२ वटा निजी क्षेत्रका कम्पनीले इजाजत लिएका छन् । तर, अहिले २० वटा कम्पनी मात्रै सञ्चालनमा छन् । जसमा १२ वटा फिक्स विङतर्फका र ८ वटा रोटर विङ (हेलिकप्टर) का इजाजतपत्र रहेका छन् । हाल यी एयरलाइन्ससँग भएका विमानमध्ये १४ वटा दुर्गम रुटमा र २८ वटा विमान सुगम (सहरी) रुटमा उडान भर्दै आएका छन् ।

बढ्दै हवाई यात्रु, बढ्दै एयरलाइन्समा लगानी
पछिल्ला वर्षहरुमा जहाज मार्फत यात्रा गर्ने नेपालीको संख्या बढ्दै गएको छ । सन् २०१७ को १० महिनामा आन्तरिक तर्फ १९ लाख ९२ हजार ९०३ जनाले यात्रा गरेका छन् ।

सन् २०१६ को दश महिनामा १४ लाख ११ हजार १३ जनाले यात्रा गरेका थिए । जुन २०१७ मा ५ लाख ८१ हजार ८ सय ९० यात्रुले बढी हो । नागरिक उड्डय प्राधिकरणले दिएको जानकारी अनुसार जनवरीदेखि सेप्टेम्बरसम्म त्रिभुवन विमानस्थल भएर देशभित्रका विभिन्न ठाउँमा यात्रा गर्नेको संख्या गत वर्ष भन्दा ४१ प्रतिशतले बृद्धि भएको छ ।

देशभित्र सडक यातायात भरपर्दो नभएको, नेपालीहरुकै पनि क्रयशक्ती बढेको, विदेशी पर्यटक पनि यो वर्ष बढेकाले आन्तरिक हवाई यात्रुको संख्या बढेको हो ।

५ वर्षअघिको दाँजोमा सुगम रुटमा भन्दा पहाडी रुटमा सेवा दिने विमान घट्दै गइरहेका छन् । २०१० मा पहाडी रुटका लागि २३ वटा विमान र सुगमका लागि १९ वटा थिए । उनले भने, ‘२०१५ को तथ्यांक हेर्दा दुर्गम क्षेत्रमा उडान भर्ने जहाजको संख्या १२ र सुुगम क्षेत्रमा विमानको संख्या बढेर ३० वटा पुगेको छ ।

नेपाली आकाशमा देखा परेर हराएका वायुसेवा कम्पनी पनि थुप्रै छन-बेस एयर, नेपाल एयरलाइन्स, नेकोन एयर, कस्मिक एयर, एभरेष्ट एयर, एयर नेपाल इन्टरनेशनल, मुक्तिनाथ, लुम्बिनी, एशियन, कर्णाली, स्काइलाइन, साङ्ग्रिला, अग्नि एयर, मनकामना हेलिकोप्टर । यी मध्ये एभरेष्ट एयर र नेपाल एयरवेज निजी क्षेत्रका लागि आकास खुल्नासाथ उडान अनुमति लिएका कम्पनी हुन् भने कस्मिक, नेकोन, एयर नेपाल र फ्लाई यतीले अन्तर्राष्ट्रिय उडान समेत गरिसकेका थिए । तर, यी सबै तीव्र प्रतिस्पर्धा, व्यवस्थापकीय कमजोरी र प्राविधिक ज्ञानको कमीले हराउन पुगेका हवाई व्यवसायीहरु बताउँछन् ।

नेकोन र कस्मिकको पाठ
नेकोन एयर ११ र कस्मिक एयर ७ वर्ष चलेका नेकोन र कस्मिक एयरले नेपाली हवाई सेवामा ठूलो गुन लगाएका छन् ।

सस्तो भाडा, निःशुल्क टिकट, मोटरसाइकल उपहार जस्ता योजना मार्फत सर्वसाधारणलाई हवाई यात्रामा बानी पारेर ।

एभ्रो र एटीआर भित्र्याएको तथा राम्रै नाफा गरेर सात वर्ष कर्मचारीलाई बोनस समेत खुवाएको नेकोन, व्यवस्थापनको फट्याईं विना डुब्नै नसक्ने कतिपय हवाई व्यवसायीहरु बताउँछन् ।

फेरि, नेकोन डुबे पनि त्यसका सञ्चालकहरु भने उक्सिएको बताइन्छ । नेकोन व्यवस्थापकीय कमजोरीले डुब्यो भने कस्मिक गलत जहाज छनोटका कारण डुबेको मानिन्छ ।

३० हजार फिटको उचाइमा लगातार दुई-तीन घण्टा उड्ने १०० सिट क्षमताका चार वटा फोकरलाई १६ हजार फिटमा आधा घन्टा उडाउँदा हुने इञ्जिनको खराबी र बढी इन्धन खपतले कस्मिक धरासायी बनेको जानकारहरु बताउँछन् ।

नेकोन र कस्मिकको असफलताबाट पाठ सिकेर अघि बढेका बुद्ध, यती र नयाँ कम्पनीहरुले सही बाटो समाएर राम्रै फड्को मारेका छन् ।


क्लिकमाण्डू