२७ अर्ब बजेट पाउँदा २ अर्बको काम, कसरी बन्ला ठूला विमानस्थल ?



काठमाडौं । विमानस्थल निर्माण तथा विस्तारको जिम्मा लिएको नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणको काम अगाडी बढाउन सकेको छैन् । प्रत्येक वर्ष विमानस्थल निर्माणको लागि भन्दै सरकारले अर्बौ बजेट छुट्याउने गरेको छ । तर खर्च भने हुन सकिरहेको छैन ।

प्राधिकरणले आर्थिक वर्ष ०७३/७४ मा कार्य सञ्चालनतर्फ ३ अर्ब र २७ अर्ब पुँजीगत गरी ३० अर्ब ८३ करोड खर्च गर्ने उद्देश्य लिएको थियो । दुवै शीर्षकमा खर्च भने ५ अर्ब ७८ करोड मात्रै भएको छ । जसमा पुँजीगत खर्च २ अर्ब ३४ करोड रुपैयाँ मात्रै रहेको छ ।

पछिल्ला वर्ष प्राधिकरणमा पुँजीगत बजेट बढ्दो तर खर्च खुम्चिँदो अवस्थामा रहेको छ । यसको मुख्य कारण प्राधिकरणले खर्च गर्न नसकेकाले भएको हो । आइतबार प्राधिकरणको १९ औं वार्षिकोत्सवमा महानिर्देशक सञ्जिव गौतमले भर्खरै सकिएको आर्थिक वर्षमा प्राधिकरणले पुँजीगत खर्चका लागि २७ अर्ब ३५ करोड ४० लाख विनियोजन गरिएको तर यो शीर्षकको खर्च २ अर्ब ३४ करोड ७९ लाख हाराहारी मात्रै भएको सुनाए ।

प्राधिकरणले चालु वर्ष पुँजीगत खर्चतर्फ ३२ अर्ब ६५ करोड १३ लाख र कार्य सञ्चालनतर्फ ३ अर्ब ५३ करोड १५ लाख गरी ३६ अर्ब १८ करोड २८ लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यसैगरी उनले कार्य सञ्चालनतर्फ ३ अर्ब ४८ करोड ५४ लाख विनियोजन गरिएको थियो तर खर्च ४३ करोड ९६ लाख मात्रै भएको बताए ।
ठूला परियोजनामध्ये गएको वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तारको काम रोकियो । प्राधिकरणले यहाँको ठेक्का लिएको स्पेनिस कम्पनी सानजोसेसँग ठेक्का सम्झौता रद्द गरेको थियो ।

त्यसैगरी कुल २१ अर्ब रुपैयाँमा पोखरामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको स्क्रो एकाउन्ट (मध्यस्थ खाता) सञ्चालनमा भएको ढिलाइले पनि गत वर्ष प्राधिकरणको पुँजीगत बजेट खर्चमा प्रभाव पारेको प्राधिकरणको भनाई छ ।

८ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको भैरहवा र १ अर्ब छुटयाइएको सिमरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि लक्ष्यभन्दा निकै थोरै बजेट खर्च भएको छ । काठमाडौंको जडीबुटी क्षेत्रमा बाँड्नुपर्ने घरजग्गा मुअब्जा बापतको ५ अर्ब पनि रोकिएको अवस्था छ ।

प्राधिकरणले चालु वर्ष पुँजीगत खर्चतर्फ ३२ अर्ब ६५ करोड १३ लाख र कार्य सञ्चालनतर्फ ३ अर्ब ५३ करोड १५ लाख गरी ३६ अर्ब १८ करोड २८ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस वर्षको पहिलो चार महिनामा पनि कार्य सन्तोषजनक देखिएको छैन । केही दिनअघि पर्यटन मन्त्रालयमा आयोजित समीक्षा बैठकमा सचिव महेश्वर न्यौपानेले पनि भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा सबैभन्दा सुस्त काम भइरहेको जनाउँदै एसियाली विकास बैंक पनि सन्तुष्ट नरहेको जानकारी दिएका थिए ।


क्लिकमान्डु