विमानस्थलको बेहाल, कर्मचारीको ध्यान विमानस्थल निर्माणमा भन्दा ४० करोड बोनसमा



काठमाडौं । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अव नयाँ जहाज थप्नै नसक्ने अवस्थामा पुगि सकेको छ । अहिले भएका उडानमा पनि कम्तीमा एक घन्टा आकाशमै होल्ड भएर बस्नु पर्ने बाध्यता हवाई यात्रुमा रहेको छ ।

विमानस्थल निर्माण र विस्तारको जिम्मा पाएको नागरिक उड्डयन प्राधिकरणको ध्यान भने बोनस कसरी हत्याउने भन्नेमा छ । यसैबीच प्राधिकरणले आइतबार १९ औ वार्षिक कार्यक्रम मनाएको छ । उत्सव मनाइरहेका कर्मचारीहरुको ध्यान भने बोनस खान पाइन्छ कि पाइन्न भन्नेमा थियो ।

विगत तीन वर्ष देखि बोनस खानको लागि पटक/पटक संचालक समितिबाट निर्णय गराए पनि अहिले अर्थमन्त्रालयमा पुगेको छ । तीन पटक अर्थमन्त्रालयबाट फिर्ता आएको उक्त प्रस्ताव यसपटक पारित गराउन प्राधिकरण नेर्तृत्व लविङमा छ ।

नाफा गरेपछि बोनस पाउनु पर्दछ, तर प्राधिकरणको हकमा केही कानुनी समस्या रहेको समेत सचिव न्यौपानेले बताए ।

अहिले कर्मचारीहरुले आर्थिक बर्ष २०६८/६९ वर्ष देखि २०७०/७१ सम्मको नाफामा बोनस वितरणको लागि पटक पटक निर्णय गर्दै आएका छन् । यदि अर्थ मन्त्रालयले बोनस वितरणमा सहमति दिएमा ४० करोड रुपैयाँ कर्मचारीहरुले तत्काल पाउने छन् । प्राधिकरणमा हाल ७ सय भन्दा बढी कर्मचारीहरु कार्यरत रहेको छन् । यदि बोनस वितरण भएमा कम्तीमा कर्मचारीहरुले ५ लाख देखि १० लाख रुपैयाँ सम्म एकमुष्ट पाउने छन् ।

पहिलो पटक ०६८/६९ मा खुद सञ्चित नाफा आर्जन गरेको थियो । यो क्रम पछिल्ला वर्षमा निरन्तर रहेको छ । जसअनुसार ०७३÷७४ सम्ममा प्राधिकरणको कुल सञ्चित नाफा कम्तीमा ९ अर्ब पुगिसकेको महानिर्देशक सञ्जिव गौतमले बताए । कार्यक्रम बोल्दै कर्मचारी युनियनका अध्यक्ष श्रवण यादवले कुनै पनि बाहानामा बोनस वितरण रोक्न नहुने बताए । ‘यदि रोकिएमा हामी आन्दोलनमा जाने छौ,’ यादवले भने ।

यता कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बोनस वितरणमा कानुनी समस्या भएको बताएका छन् । नाफा गरेपछि बोनस पाउनु पर्दछ, तर प्राधिकरणको हकमा केही कानुनी समस्या रहेको समेत सचिव न्यौपानेले बताए ।

नियमक र सेवा प्रदायक संस्थाले बोनस खान मिल्छ कि मिल्दैन यस विषयमा कानुनी भाषा प्रष्ट नभएकोले तत्काल बोनस वितरण नहुने संकेत सचिव न्यौपानेले गरेका थिए ।


क्लिकमान्डु