निर्यातमा अन्तराष्ट्रिय विमानस्थल भन्सार अगाडि, आयातमा बिरगंज




काठमाडौं । चालु आर्थिक वर्ष २०७४/७५ को चौथो महिनामा नेपालमा आयात हुने वस्तु तथा सेवाहरुमध्ये सबैभन्दा धेरै बिरगंज नाकाबाट हुने देखिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आवको चौथो महिनामा बिरगंज नाकाबाट मात्रै ३३.०१ प्रतिशत बराबरको आयात भएको देखिएको छ । त्यसैगरि सबैभन्दा धेरै आयात हुने नाकामा भैरहवा दोस्रो स्थानमा रहेको छ, जहाँबाट १९.१७ प्रतिशत सामानहरु नेपालमा भित्रने गरेको छ ।

आयात हुनेको सूचीमा तेस्रो स्थान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले १३.३८ प्रतिशत हिस्सा ओगटेको छ भने चौथो स्थानमा बिराटनगर ११.५६ प्रतिशतसहित रहेको छ । सो सूचीको पाँचौं स्थान सुख्खा बन्दरगाहले १०.६५ प्रतिशत ओगटेको छ ।

आयात हुने भन्सार नाकाहरुको सूचीको सबैभन्दा पुछारमा सिरहा नाका रहेको छ, जहाँबाट केबल ०.०१ प्रतिशत वस्तु तथा सेवा आयात भएको छ ।

अर्कोतर्फ निर्यातको आधारमा हेर्दा सबैभन्दा धेरै आयात हुने बिरगंज नाका तेस्रो स्थानमा रहेको देखिन्छ । बिरगंज नाकाबाट निर्यातको केबल १८.२३ प्रतिशत मात्र वस्तु तथा सेवा निर्यात हुने गरेको तथ्यांकमा देखिन्छ । निर्यात हुने प्रमुख नाकाहरुमध्ये अग्र सूचीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ, जहाँबाट चालु आवको चौथो महिनामा नेपालको कुल निर्यात व्यापारको ३१.६३ प्रतिशत हिस्साको निर्यात हुने गरेको छ ।

निर्यात व्यापारको आधारमा दोस्रो स्थानमा बिराटनगर भन्सार नाका रहेको छ, जहाँबाट कुल निर्यात व्यापारको २६.५८ प्रतिशत हिस्सा ओगटेको छ । चालु आवको पहिलो चार महिनाको तथ्यांकको आधारमा हेर्दा धेरै निर्यात हुने भन्सारको सूचीको चौथो स्थानमा मेची भन्सार नाका रहेको छ, जहाँबाट ८.७९ प्रतिशत निर्यात व्यापार हुन्छ भने यसको पाँचौं स्थानमा सुख्खा बन्दरगाह रहेको छ, जसले ५.७३ प्रतिशत हिस्सा ओगटेको छ ।

निर्यातको आधारमा हेर्दा नेपालका तीनवटा भन्सार कार्यालयहरुबाट शुन्य निर्यात व्यापार हुने गरेको देखिन्छ । चालु आवको पहिलो चार महिनामा जलेश्वर, जनकपुर र सिरहा भन्सार नाकाबाट कुनैपनि वस्तु वा सेवाको निर्यात हुन सकेको छैन । यी तीन वटै नाकाबाट शुन्य निर्यात कारोबार भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।


क्लिकमान्डु