हामी कृषि प्रधान देश ? जसले ४ महिनामै किन्छ १० अर्बको चामल र तरकारी




काठमाडौं । नेपाल कृषि प्रधान देश होः विद्यालयस्तरमा पढाउँदा यसै भनेर पढाइयो । कलेज पढ्दा त्यही कुरा दोहोर्याइयो ।

अहिले पनि सरकारी आधिकारिक दस्ताबेजहरुमा नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान एक तिहाइ जति रहेको र दुई तिहाइभन्दा बढी जनता कृषिमै आश्रित रहेको उल्लेख गरिएको पाइन्छ । धान उत्पादन बढ्यो भने आर्थिक बृद्धिदर बढी हुन्छ, कम भयो भने बृद्धिदर कम ।

यसबाट हामीले के बुझ्नु पर्छ भने ‘नेपाल अहिले पनि कृषि प्रधान’ देश नै हो ।

नेपालको जनसंख्या ३ करोड अझै पुगेको छैन । यसमध्ये करिब ४० लाख नेपाली विदेशमा बस्छन् भनिन्छ । तर, नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले चालु आर्थिक बर्षको ४ महिनामा नै नेपालले साढे १० अर्ब रुपैयाँभन्दा बढीको चामल र तरकारी आयात गरिसकेको देखाएको छ ।

चार महिनामा साढे १० अर्बको चालम र तरकारी आयात भयो भने बर्षभरीमा ३४/३५ अर्ब रुपैयाँको चामल तरकारी आयात हुने अनुमान सजिलै गर्न सकिन्छ ।

‘कुनै पनि देश कृषिक्रान्तिपछि औद्योगिक युगमा प्रवेश गर्छ, त्यसपछि सेवा क्षेत्रमा आउने हो, तर विगत १५ बर्षदेखि हामी उल्टो बाटोमा हिडिरहेका छौं,’ अर्थशास्त्री आचार्य भन्छन् ।

राष्ट्र बैंकका अनुसार चार महिनामा ६ अर्ब ८६ करोड रुपैयाँको चामल र ३ अर्ब ७७ करोड रुपैयाँको तरकारी आयात भएको छ । अर्काे तथ्यांक पनि सम्झिनुहोस् कि नेपालले यो ४ महिनाको अबधिमा २६ अर्ब ३५ करोड रुपैयाँ बराबरको बस्तु निर्यात गरेको छ ।

के अब पनि हामी कृषि प्रधान देश हौं त ?

होइन भन्छन् अर्थशास्त्री केशब आचार्य । अब कृषिमा आधारित अर्थतन्त्र नभएर सेवामा आधारित अर्थतन्त्र बन्न पुगेको उनी बताउँछन् ।

‘बार्षिक १ खर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य बस्तु आयात गरिरहेका छौं, कूल गार्हस्थ उत्पादनमा ५५ प्रतिशत जति योगदान सेवा क्षेत्रको पुगिसक्यो, अब हामीले कृषि प्रधान देश भन्न छोडेर सेवामा आधारित अर्थतन्त्र भएको देश भन्नुपर्यो,’ अर्थशास्त्री आचार्य भन्छन् ।

‘कृषिले हामीलाई खाद्य सुरक्षा दिन सकेन, रोजगारी दिन सकेन, बिदेशी मुद्रा आर्जन गरिदिन सकेन, तर सेवा क्षेत्रले रोजगारी दिन सक्यो, बिदेशी मुद्रा आर्जन गरिदिन सक्यो,’ कार्यकारी निर्देशक थापा भन्छन् ।

पछिल्लो सयममा नेपालको जमिन उत्पादनको साधन बन्न छोडेको आचार्यको भनाइ छ । उनी नेपाली जमिन उत्पादनको साधन नभै स्पेकुलेसन (सट्टेबाजी) को साधन भएको बताउँछन् ।

अर्थशास्त्री आचार्य

‘जमिन हुनेहरु सट्टेबाजी गरेर पैसा कमाउन सक्ने अबस्थामा अझै देखिन्छन्, तर, जमिन आफै उत्पादनको साधन बन्न छोड्यो, नेपालीहरु सेवा क्षेत्रतर्फ आकर्षित भए, सेवा क्षेत्रको बढ्दो आकर्षणले आयात बढायो,’ उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख नरबहादुर थापा कृषि क्षेत्रले दिनुपर्ने जति प्रतिफल नदिएको र सेवा क्षेत्रमा सम्भाबना बढी भएका कारण कृषि क्षेत्र खिइदै गएको बताउँछन् ।

‘कृषिले हामीलाई खाद्य सुरक्षा दिन सकेन, रोजगारी दिन सकेन, बिदेशी मुद्रा आर्जन गरिदिन सकेन, तर सेवा क्षेत्रले रोजगारी दिन सक्यो, बिदेशी मुद्रा आर्जन गरिदिन सक्यो, यसैकारण अर्थतन्त्रमा कृषिको योगदान घटेर ३० प्रतिशतमा झर्यो भने सेवा क्षेत्रको योगदान बढेर ५५ प्रतिशत पुग्यो,’ कार्यकारी निर्देशक थापा भन्छन् ।

राष्ट्र बैंककै अबकाशप्राप्त कार्यकारी निर्देशक आचार्य भने नेपाली अर्थतन्त्र उल्टो गतिमा हिडेको विश्लेषण गर्छन् ।

कार्यकारी निर्देशक थापा

‘कुनै पनि देश कृषिक्रान्तिपछि औद्योगिक युगमा प्रवेश गर्छ, त्यसपछि सेवा क्षेत्रमा आउने हो, नोबेल पुरस्कार विजेता बरिष्ठ अर्थशास्त्रीले वल्ड इकोनोमिक फोरममा पहिलो पटक राखेको कुरा यही हो, मैले पनि यही पढेर आएको हूँ, तर विगत १५ बर्षदेखि हामी उल्टो बाटोमा हिडिरहेका छौं,’ अर्थशास्त्री आचार्य भन्छन् ।

नेपालमा प्रसस्त मात्रामा खेतीयोग्य जमिन भएकोले सिंगापूर वा भ्याटिकन सिटी जस्तो सेवामा आधारित अर्थतन्त्र बोकेर बाँच्न कठिन हुने आचार्यको विश्लेषण छ ।

तर, कार्यकारी निर्देशक थापा भने यो कुरा मान्न तयार छैनन् । मान्छेले जेमा सम्भावना देख्छ, त्यतै लाग्ने बताउँदै थापा अन्य क्षेत्रबाट समृद्धि हासिल गर्न सकिने हो भने कृषिमै अल्झिरहनु आवश्यक नहुने धारणा राख्छन् ।

‘पहाडी क्षेत्रमा कृषिको यान्त्रिकरण गर्न कठिन छ, तराई मधेश क्षेत्रमा भएको जमिनको पनि खन्डिकरणले उत्पादन क्षमता घट्दै गएको छ, हामीले भारत, चीन, भियतनाम, श्रीलंका, अमेरिका जस्ता देशहरुको जस्तै गरी कृषिबाट प्रतिफल लिन सक्दैनौं, हाम्रो भौगोलिक अबस्थाले सेवा क्षेत्रलाई तुलनात्मक लाभ दिन सकेको छ, हामी त्यतै लागेका छौं, यसमा फरक गर्न खोज्नुपर्ने अबस्था छैन,’ थापा भन्छन् ।


क्लिकमान्डु