भैरहवा विमानस्थल निर्माणको काम ठप्प



काठमाडौं । विगतमा लामो विवादमा फसेको भैरहवामा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः मुआव्जाको विवाद सुरु भएको छ ।

विमानस्थलको मुआब्जा वितरणमा लापरबाही गरेको भन्दै सोमबार देखि स्थानीयले अवरोध गरेका छन् । क्रम संख्याको आधारमा मुआब्जा नदिई पैसा र पहुँचको आधारमा वितरण गरेको भन्दै स्थानीयले आयोजना निर्माणको काम समेत अवरुद्ध गरेका हुन् ।

स्थानीयले विमानस्थलको एक नम्बर गेटमा तालाबन्दी गरेका छन् । अवरोध पछि विमानस्थलको रनवे निर्माणको काम रोकिएको छ । मुआब्जा वितरणमा सुधार नहुँदासम्म काममा अवरोध गर्ने स्थानीयले बताएका छन् ।

दुई वर्षदेखि घरजग्गा रोक्का हुँदा जिविका चलाउन समेत अप्ठ्यारो परेको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।

अधिग्रहण गरेको पाँच सय बिगाहामध्ये अब ४ सय ३० बिगाहाको मुआब्जा दिन बाँकी छ ।

यता विमानस्थल आयोजनाले भने नापी र मालपोत कार्यालयमा जनशक्तिको अभावले काममा ढिलाई भएको जनाएको छ । जनप्रतिधि तथा कार्यालयको सिफारिसमा विशेष परिस्थितिमा पछि नम्बर परेकाको अगाडि मुआब्जा दिने गरेको आयोजना प्रमुख ओम शर्माले बताए । अहिलेसम्म ४ सय जनाले साढे ३ अर्ब रुपैयाँ बराबरको मुआब्जा पाएका छन् ।

अधिग्रहण गरेको पाँच सय बिगाहामध्ये अब ४ सय ३० बिगाहाको मुआब्जा दिन बाँकी छ । २ हजार घर परिवार रहेको अधिग्रहण क्षेत्रमा मुआब्जा बितरणमा २३ अर्ब बढी लाग्ने निर्माणधिन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल आयोजनाले जनाएको छ ।

३३ प्रतिशत काम सम्पन्न
भैरहवा विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार नर्थ वेस्ट सिभिल एभियसनले पछिल्लो समय काममा तीब्रता दिएको छ । चीनबाट थप कामदार ल्याउनुका साथै आवश्यक मेसिन आयातको लागि प्रक्रिया अघि बढाइसकेको छ ।

अहिले भैरहवा विमानस्थलमा २ सय जनाको हाराहारीमा नेपाली कामदार छन् । यो कामदार अपुग भएको भन्दै कम्पनीले चिनबाट थप २ सय ५० जना दक्ष कामदार ल्याउन लागेको भैरहवा आयोजना प्रमुख शर्माले जानकारी दिए । यसका कम्पनी श्रम स्वीकृतिको प्रक्रिया अघि बढाएको उनले बताए ।

काममा तिब्रता दिएसँगै भैरहवा विमानस्थल आयोजनाले चिनीयाँ कम्पनीसँग ठेक्का नतोड्ने निश्कर्ष निकालेको छ । यसअघि आयोजनाले काम अघि नबढाएपछि चिनीयाँ कम्पनीलाई ठेक्का तोड्ने चेतावनी दिएको थियो ।

ठेक्का तोड्ने चेतावनी दिएसँगै कम्पनीले व्यवस्थापन टिम नै परिवर्तन ग¥यो । आयोजना प्रमुख शर्माले भने ‘यसअघिको व्यवस्थापन टिमले काममा ध्यान दिदैनथ्यो, काम नगरी काठमाडौंमा बढी समय बिताएको थियो, तर अहिलेको टिम हरेक समय आयोजना स्थलमै बस्ने गरेको छ ।’

यसअघिको टिमले आयोजना स्थलहरुमा ६० वटा मात्रै कामदार खटाएको थियो । कामदारहरुको सख्ंया अत्यन्त न्युन भएका कारण आयोजनाको काम अघि बढ्नै सकेको थिएन । जसका कारण सरकारले दिएको समयमसीमामा यसले काम सम्पन्न गर्न सक्ने स्थिति थिएन । सन् २०१८ को जुन सम्ममा नर्थ वेष्टले ८० प्रतिशत काम सम्पन्न गर्नुपर्छ ।

सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी विमानस्थलको काम सुरु भएको थियो । समयमै निर्माण हुन नसक्ने देखेपछि सरकारले सन् २०१८ मा सक्ने नयाँ लक्ष्य निर्धारण गरेको छ ।


क्लिकमान्डु