६४ सेकेन्ड अगाडि को-पाइलटले धावनमार्ग देख्दा-देख्दै भिरमा जब जहाज ठोक्कियो…
काठमाडौं । गत जेठ १३ गते काठमाडौं-लुक्ला रुटमा लगातार चार सफल उडान गरी पाँचौँ उडान सम्पन्न गर्न केही सेकेन्ड बाँकी रहेको अवस्थामा समिट एयरको कार्गो जहाज दुर्घटनाग्रस्त भएको थियो ।
दुई दक्ष पाइलट गुमाउने गरी भएको दुर्घटनामा छिनछिनमा परिवर्तन हुने लुक्काको मौसमले पाइलट र एयर ट्राफिक कन्ट्रोलर (एटिसी) दुवैलाई झुक्याएको दुर्घटना जाँच आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ । दुर्घटनापछि सरकारले गठन गरेको हवाई दुर्घटना जाँच आयोगले आफ्नो प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवलाई बुझाएको छ ।
लुक्ला विमानस्थलको धावनमार्ग छुन १ सय ३० फिट मात्र बाँकी रहेको अवस्थामा समिट एयर (तत्कालीन गोमा एयर) को ‘९एन–एकेएन, एलइटी-४००’ जहाज भिरमा ठोक्किएको थियो । दुर्घटनामा अनुभवी पाइलट पारसकुमार राई र युवा को-पाइलट श्रीजन मानन्धरले ज्यान गुमाएका थिए । भने एयरहोस्टेस प्रज्ञा महर्जन घाइते भइन् ।
दुर्घटना जाँच आयोगका सदस्यसचिव तथा मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार जहाज र चालक दलले सोही दिन काठमाडौं–लुक्ला रुटमा चार उडान पूरा गरी पाँचौँ उडान गरिरहेका थिए ।
काठमाडौंबाट १ बजेर २९ मिनेट जाँदा उडेको जहाजलाई उडानका दौरान लुक्ला टावरले पछिल्लो मौसमी अवस्थाबारे अपडेट गराउँदा जहाज ओखलढुंगाको रुम्झाटार आसपास पुगेको थियो ।
अघिल्ला उडानका क्रममा मौसम अत्यन्त राम्रो रहे पनि पाँचौँ उडान सुरु भई १० माइल उड्नासाथ लुक्लाको मौसम बिग्रियो । लुक्लामा अत्यधिक वर्षा भएपछि तत्काल एटिसीले पाइलटलाई अवस्थाबारे जानकारी गराए । त्यतिन्जेल त्रिभुवन विमानस्थलमा जहाजको चाप बढेर ‘होल्ड’ सुरु भइसकेको थियो । एटिसीका अनुसार वर्षाका बाबजुत पनि लुक्लाको भिजिबिलिटी राम्रो थियो, जसमा अवतरण गर्न सम्भव थियो ।
त्यसकारण चालक दलले जहाज त्रिभुवन विमानस्थल फर्काउनुको साटो जसोतसो लुक्ला नै लैजाने निर्णय लिए । तर, ‘इनरुट’ मौसमअनुकूल भने थिएन । सोहीकारण जहाज अघिल्लो चारवटा उडान गरेको रुटभन्दा फरक रुट समात्न बाध्य भयो । काठमाडौंबाट १ बजेर २९ मिनेट जाँदा उडेको जहाजलाई उडानका दौरान लुक्ला टावरले पछिल्लो मौसमी अवस्थाबारे अपडेट गराउँदा जहाज ओखलढुंगाको रुम्झाटार आसपास पुगेको थियो ।
सोही समय लुक्लाबाट काठमाडौंका लागि उडेको ‘९एनएजियू, एएस३५०’ हेलिकोप्टरका पाइलटले लुक्ला टावरलाई इनरुट मौसमको अपडेट टिपाएका थिए । साथै, उनै पाइलटले समिटका चालक दललाई समेत लुक्ला भ्यालीको मौसमबारे जानकारी गराएका थिए ।
लुक्ला एटिसी र समिटको चालक दलका सदस्यबीच पहिलोपटक सम्पर्क भएको ४ मिनेटपछि एटिसीले पुनः मौसमबारे अपडेट गराए ।
त्यसवेला लुक्ला उपत्यकालाई बाक्लो कुइरोले ढाकिसकेको थियो । धावनमार्ग भने देखिने अवस्थामै थियो । तर, मौसम निरन्तर प्रतिकूल भए पनि त्यतिन्जेल जहाज पहाडको खोँचमा छिरिसकेका कारण डाइभर्ट गर्न सम्भव थिएन ।
जहाज पूर्णतया कुइरोमा हराइसकेको थियो भने चालक दलका सदस्यले धावनमार्ग देखेका थिएनन् । जहाजले ‘लो अल्टिच्युड मेन्टेन’ गरेका कारण निकै तलबाटै उडेको थियो । जहाज ठोक्किनु ६४ सेकेन्डअगाडि को–पाइलटले धावनमार्ग देखेको संकेत गरे ।
सोही आधारमा पाइलटले जहाज अवतरण गर्न थाले । तर, एकाएक जहाज दायाँतर्फ मोडिन पुग्यो । कुइरोभित्र रहेको जहाज अवतरणका क्रममा धावनमार्गमा फाइनल टच गर्ने बिन्दुभन्दा तल पुगेको थियो । यो थाहा पाएका पाइलटले अवतरणको सबैभन्दा संवेदनशील अवस्था (गति न्यून, पांग्रा निकालिएको अवस्था) मा अपर्झट उचाइ लिने क्रममा जहाज भिरमा ठोक्किन पुगेको निष्कर्ष जाँच आयोगले निकालेको छ ।
प्रतिवेदनले दुर्घटना जाँच आयोगका सुझाबलाई गम्भीर रुपमा लिएर कार्यान्वयन गर्न सरोकारवालालाई सचेत गराएको छ । त्रिभुवन विमानस्थलको चाप कम गर्न, लुक्ला विमानस्थलमा सम्भव भए रनवे थप गर्न तथा हवाई सुरक्षामा लापरबाही गर्ने जोसुकै भए पनि त्यसको सूक्ष्म र गोप्य सूचना संकलन गरी कारबाही प्रक्रियालाई बलियो बनाउन आयोगले सुझाब दिएको छ ।
यस्ता थिए कारणहरु
-जोखिमपूर्ण भौगोलिक अवस्था र प्रतिकूल मौसम
-चालक दलले जोखिमपूर्ण अवस्थामा अपनाउनुपर्ने तत्कालीन सचेतना अपनाउन नसक्नु
-समयमा उचित निर्णय लिन नसकी पर्ख र हेरको अवस्थामा जहाज उडाउनु
-एटिसीले खराब मौसमका बाबजुत विमानस्थल बन्द भएको घोषणा गर्न नसक्नु
-प्राविधिक र चालक दलको स्वास्थ्यमा खराबी थिएन
-दुर्घटना जाँच आयोगका अनुसार जहाजमा कुनै पनि प्राविधिक गडबडी थिएन । चालक दलका सदस्यको स्वास्थ्य राम्रो थियो भने उनीहरुले अल्कोहलसमेत सेवन नगरेको मेडिकल रिपोर्टले देखाएको छ ।