नेपाल-भारत नियमित बस थप्न कति आवश्यक ?



काठमाडौं । भारतबाट काठमाडौंं आउने बससेवा थप गर्न भारमै दवाव सुरु भएको छ । भने नेपालबाट पनि काठमाडौ–दिल्ली जानेहरुको संख्याको चाप अत्याधिक थियो । विगतमा रक्सौल पुगेर मात्रै नेपालीहरु दिल्लीका लागि बस तथा रेल चढेर दिल्ली जाने गरेका थिए ।

पछिल्लो वर्ष यता दुवै देशका नागरिकहरु सुविधासम्पन्न बसमा सीधै यत्रा गर्न पाएका छन् । जसका कारण दुवै देशका यात्रुहरु झन्झट मुक्त भएका छन् । भारतबाट नेपालमा लाखौ भारतीयहरु कामको सिलसिलामा बस्दै आएका छन् । भने भारतमा पनि ५० लाखभन्दा बढी नेपालीहरु रहेको अनुमान रहेको छ ।

तत्कालिन नेपालका प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारी स्तरबाटै काठमाडौं–दिल्ली बससेवा सुरु गरेका थिए । उक्त समयभन्दा पहिला पनि निजी क्षेत्रबाट काठमाडौं–दिल्ली बससेवा भने सुचारु भएपनि प्रभावकारी भने भएको थिएन ।

दिल्लीका लागि काठमाडौैंको स्वयम्भूबाट बस छुट्ने गरेको छ । नेपालबाट दिल्लीमा पढ्न, काम गर्न, उपचार गर्न, घुम्न जाने नेपालीहरुले महंगो हवाई जहाजको विकल्पका रुपमा ३ वर्षयता चारपांग्रे बस नै चयन गर्न थालेका छन् ।

पहिला दिल्ली–काठमाडौं बस सेवा सुरु गर्ने २० भन्दा बढी मालिक कंगाल भएर गए । उनीहरु एक जनाले डेढदेखि २ करोड रुपैंयासम्म गुमाए, ‘नेपाल–भारतमैत्री बस सेवा सञ्चालन गर्दै आइरहेको मन्जुश्री यातायात समितिका सदस्य बलराम बरालले भने । उनका अनुसार अहिले दैनिक तीनवटा गाडी जान्छ । र, यात्रु भरिभराउ हुने गरेको बताउँछन् ।

अहिले काठमाडौंबाट दैनिक ३ बस छुट्छन् ९, १० र १ बजे । ९ र १ बजे जाने गाडी व्यवसायीहरुले सन् २००० देखि सञ्चालन गर्दै आइरहेकै हो । १० बजेको गाडी भने दुई देशको सरकारी पक्षबाट भएको सम्झौता अनुसार चल्ने हो । एउटै टिकट काउन्टर र सेवा दिने संस्था भएकोले यात्रुहरु सबै सरकारी पक्षकै सवारी ठान्छन् र व्यवसायीलाई पनि फाइदा भएको छ ।

सरकारी सम्झौताबाट गुडेको एक बस र अर्को बस सुनौली हुदै जान्छ भने अर्को एक बस महेन्द्रनगरको बनबासा हुदै भारत छिर्ने गरेको छ । यी बसले यात्रु बढी पाएका कारण राम्रै आम्दानी गरिरहेको व्यवसायीहरु बताउँछन् ।

नेपाल र भारतबीच भएको सम्झौता अनुसार पहिलो चरणमा दुवै सरकारका तर्फबाट एक÷एक गाडी आउ÷जाउ गर्छन् । निजी क्षेत्रका दैनिक दुई बस चल्छन् । भारतका तर्फबाट दिल्ली ट्रान्सपोर्ट कर्पोरेसन (डीटीसी) र नेपालको तर्फबाट राष्ट्रिय यातायात व्यवसायी महासंघले जिम्मा पाएका छन् ।

सरकारले दिएको जिम्मेवारी अनुसार महासंघले आफू मातहतको मन्जुश्री यातायात समितिलाई जिम्मेवारी दिएको छ । ‘हामीले उद्घाटन भएकै दिनदेखि सेवा सञ्चालन गरिरहेका छौं । तर सरकारले डीटीसीलाई भारत सरकारले दिएको जस्तो सुविधा हामीलाई दिन सकेको छैन,’ महासंघका महासचिव सरोज सिटौलाले भने ।

समितिसँग दिल्ली सेवाका लागि १५ एसी र डिलक्स गाडी छन् । नेपालको गाडी ३५ सिटे छन् भने भारतीय गाडीमा ४० सिट । आइतबार बाहेक सातामा ६ दिन गाडी चल्छ । समितिका अनुसार दिल्लीको गाडी काठमाडौं भएको बेलामा आइतबार चल्दैन । तर नेपालकै गाडी भने चल्ने गरेको छ ।

काठमाडौं–दिल्ली यात्राको समय २८ घन्टा लाग्ने गरेको छ । टिकटको मुल्य ३७ सय रुपैयाँ छ र विद्यार्थी कार्डमा छुट हुँदैन । जहाजमा जादाँ पनि एयरपोर्ट टाइम र यात्राले गर्दा करिब ८ देखि १० घन्टा लाग्छ । पैसा पनि २० हजारभन्दा बढी खर्च हुने गरेको छ । बसबाट जादा जहाजमा १६ घन्टा बढी लागे पनि निकै सस्तो पर्ने गरेको छ ।

समितिले बौद्धबाट सन् २००० मा सुरु भएको काठमाडौं–दिल्लीबीचको बस सेवा यात्रु अभावले बन्द भयो । समितिका अनुसार अहिले भने यात्रु धेरै रहेका छन् । मोदी आएरै दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि सबैले थाहा पाए र अर्को सरकारी पक्षबाटै थालनी भएपछि यहाँबाट सुरक्षित रुपले यात्रा गर्न पाइन्छ भन्ने बुझाई यात्रुमा परेपछि अहिले यात्रुहरु बढेको हो । सन् १९९७ मा सुरु भएको काठमाडौं–दिल्ली बस सेवा तीन वर्षमै बन्द भयो ।

गतवर्ष देखि पोखरा–दिल्ली बससेवा

पोखरा–दिल्ली बस सेवा गतवर्षको असार देखि सुरु भएको छ । मोडर्न इरा टुर्स एण्ड ट्राभल्स प्रालिले पोखरा–दिल्ली बस सेवा दैनिक रुपमा संचालन गर्दै आएको छ । यो बससेवा दुई देशका समझदारीअनुसार संचालन भएको हो । यसअघि दुई देशीय सम्झौताअनुसार पहिलो चरणमा काठमाडौं–दिल्ली, दिल्ली–काठमाडौं बस सेवा संचालनमा आइसकेको छ । सोही सम्झौता अनुसार पोखरा–दिल्ली बस सेवा पनि संचालन गरिएको हो ।

पोखरा–दिल्ली र दिल्ली–पोखरा दैनिक बस संचालन हुनेछन् । पोखरा र दिल्लीबाट एकै समय विहान ९ बजे दुबै तर्फबाट गाडी छुट्ने गरेका छन् । उक्त बस पोखराबाट स्याङ्जा, वालिङ, बुटवल, सुनौली बोर्डर हुँदै गोरखपुर, लखनऊ, हुँदै दिल्लीको आनन्द विहार बस अड्डामा पुगेर रोकिने र दिल्लीबाट पनि सोही रुट हुँदै पोखराको पर्यटन बसपार्कमा आएर रोकिने गरेको छ । एसी युक्त डिलक्स बसले सेवा दिने सो यात्राका लागि नेपाली ३ हजार ५ सय २० रुपैयाँ भाडा रहेको छ ।

रोल्पाबाट पनि सीधै दिल्ली

रोल्पा सदरमुकाम लिवाङबाट भारतको नयाँ दिल्लीमा गतवर्ष देखिनै बस सेवा सुरु भएको छ । यातायात प्रदायक संस्था रोल्पा यातायात प्रालिले सो सेवा सुरु गरेको हो ।

सेवा सुरु भएसँगै भारत जाने रोल्पालीलाई निकै सुविधा भएको छ । हरेक हप्ताको बुधबार रोल्पा लिवाङ, प्यूठान, भालुवाङ, नेपालगञ्ज हँुदै भारतको नयाँ दिल्लीका लागि बस जाने गरेको छ । यसैगरी हरेक हप्ताको शुक्रबार दिल्लीबाट रोल्पा लिवाङका लागि बस छुट्ने गरेको छ ।

भारतीय पर्यटक

नेपालमा सन् २०१६ मा ७ लाख ५३ हजार पर्यटक नेपाल भित्रिएका थिए । जसमा सवैभन्दा बढी भारती पर्यटक नेपाल आएका थिए । हवाई मार्गबाट ५ लाख ३८ हजार पर्यटक आउने गरेका छ । बाँकी रहेका २ लाख १५ हजारभन्दा बढी पर्यटक गतवर्ष स्थल मार्ग बाट नेपाल आएका थिए । जसमा अधिकांस संख्या भारतीयहरु हुने गरेका छन् ।

नेपाल आउने भारतीय पर्यटकहरु

वर्ष भारतीय
सन् २०१० १,२०,८९८
सन् २०११ १,४९, ५०४
सन् २०१२ १,६५,८१५
सन् २०१३ १,८०,९७४
सन् २०१४ १,३५,३४३
सन् २०१५ ७४,८८४
सन् २०१६ १,१८,२४९


पुष्प दुलाल