बुढीगण्डकीमा वार्षिक १० अर्ब लगानी गर्न सञ्चय कोष तयार



काठमाडौँ । कर्मचारी सञ्चय कोषले बहुचर्चित बुढीगण्डकी जलविद्युत आयोजानमा वार्षिक १० अर्ब रुपैयाँ लगानी गर्न तयार रहेको बताएको छ । सरकारले आयोजनालाई स्वदेशी लगानीमा नै निर्माण गर्ने निर्णय गरेपछि सञ्चय कोषले वार्षिक १० अर्ब रुपैयाँ लगानी गर्न तयार रहेको जनाएको हो ।

केही हप्ताअघि प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदको बैठकले १२ सय मेगावाट विद्युत उत्पादन क्षमताको बुढीगण्डकी स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो ।

सञ्चय कोष लगानी गर्न तयार रहेपछि अब बुढीगण्डकी स्वदेशी लगानीमै बनाउनका लागि स्रोतको समस्या नपर्ने देखिएको छ ।

प्रचण्ड नेतृत्वको सरकारले चिनियाँ कम्पनी चाइना गेजुवालाई बिना प्रतिस्पर्धा बुढीगण्डकी बनाउन दिने सम्झौता गरेको थियो । देउवा सरकारले चाइना गेजुवासँग भएको उक्त सम्झौता खारेज गर्दै राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजनाको नेपालीकै लगानीमा बनाउने निर्णय गरेको थियो ।

बुढीगण्डकी आयोजना चाइना गेजुवालाई बनाउन दिने सम्झौतापत्रमा प्रधानमन्त्री प्रचण्डका साथमा तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा

‘बूढीगण्डकी जस्ता ठूला आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्न सरकारले आग्रह गरेपछि हामीले वार्षिक १० अर्ब रुपैयाँसम्म लगानी गर्न सक्छौं भनेर भनेका छौं,’ कोषका एक अधिकारीले क्लिमाण्डूसँग भने ।

कोषले नै वार्षिक १० अर्ब लगानी गर्दा १० वर्षमा १ खर्ब रुपैयाँ रकम आयोजनाका लागि जुट्ने हुनसक्ने देखिएको छ । आयोजनाको निर्माण अवधि कम्तीमा १० वर्ष हुने भएकाले पेट्रोलियम कर र कोषको लगानी जोड्दा करिब २ खर्ब रकम जुट्ने भएको हो ।

यसरी रकम जोहो गर्दा आयोजनाका लागि मात्रै ६३ अर्ब रकम पुग्दैन । आयोजनाको विस्तृत परियोजना प्रतिवेदनअनुसार कुल लागत २६३ अर्ब हुनेछ । सरकारले विभिन्न वित्तीय संस्था वा निकायबाट मात्रै ६३ अर्ब रकम खोजे हुने अवस्था रहन्छ ।

स्वदेशी लगानीमा निर्माण गर्ने भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारले पेट्रोलियम पदार्थमा लगाएको करबाट पनि बुढीगण्डकीका लागि हालसम्म १३ अर्ब रुपैयाँ उठिसकेको छ ।

सञ्चय कोष लगानी गर्न तयार रहेपछि अब बुढीगण्डकी स्वदेशी लगानीमै बनाउनका लागि स्रोतको समस्या नपर्ने देखिएको छ ।


पुष्प दुलाल