निर्वाचनअघि किन तोकिन्छ मौन अवधि ? यस्तो छ तथ्य



काठमाडौं । निर्वाचनअघि किन मौन अवधि हुन्छ भन्ने बारे आम मानिसका फरक फरक धारणा रहँदै आएका छन् ।

निर्वाचन हुनु ४८ घन्टाअघि मौन अवधि सुरु हुने विश्वकै प्रचलित मान्यता हो । अमेरिकाको राष्ट्रपति निर्वाचन होस् वा जर्मनी, बेलायत, भारतमा समेत निर्वाचनअघि मौन अवधि राख्ने गरिन्छ ।

निर्वाचन हुनु ४८ घन्टाअघि सुरु हुने मौन अवधिले मतदाता, उम्मेदवार, अनुगमनकर्ता र सञ्चारमाध्यमलगायत सबैलाई मतदानमा केन्द्रित गर्न प्रेरित गर्ने बताइन्छ ।

निर्वाचनको बारेमा विशेषगरी मतदातालाई कुन पार्टी ठीक, कुन उम्मेदवार ठिक भन्ने छनौट गर्नका लागि यस्तो अवधि तय गर्ने गरिएको निर्वाचनका जानकारले बताउने गरेका छन् ।

विभिन्न राजनीतिक दल तथा तिनका उम्मेदवारका प्रचारप्रसार मतदानको अन्तिम समयमा आएर कुनै लडाई वा झगडामा परिणत नहोस् भनेर पनि त्यस्तो अवधि तय गरिएको हो ।

निर्वाचनको मुखमा प्रचार प्रसारमा विकृति नबढोस्, भोज भतेर नबढोस् भनेर पनि मौन अवधि राख्ने गरिन्छ । तर नेपालको निर्वाचनका हकमा भने मौन अवधिलाई पालना गर्न ठूला राजनीतिक दल नै तयार नभएको बताउने गरिन्छ ।

निर्वाचनको वातावरण शान्त होस्, उम्मेदवारबीचको प्रतिस्पर्धा स्वस्थ, मर्यादित र कानुनअनुसार होओस् भनेर मौन अवधि राखिएको हो ।

मतदातालाई शान्तपूर्वक सोच्न, उम्मेदवारलाई आफ्नो तयारीका बारेमा समीक्षा गर्न र निर्वाचन आयोगलाई बाँकी काम पूरा गर्न पनि मौन अवधिको महत्व रहने गरेको छ ।

तर नेपालमा हालसम्म भएका निर्वाचनलाई नजिकबाट हेर्ने हो भने मौन अवधिमा नै बढी पैसाको चलखेल हुने गरेको पाइएको छ ।

पैसाको चलखेल गरेर मतदाता प्रभावित पारिएपनि निर्वाचन आयोगले कारवाही गरेको उदाहरण भने पाउन मुस्किल छ । आयोगलाई संवैधानिक भनिए पनि निर्वाचन कानुन बनाउने, मिति तोक्ने जस्ता सबै काम सरकारले नै गर्दै आएको छ ।


पुष्प दुलाल