काठमाडौंकै मतदाता भन्छन्- भोट कसरी हाल्ने हो थाहा छैन



काठमाडौं । ‘ग्वारग्वार्ती दैनिकजसो भोट माग्न आउँछन्, तर कसरी भोट हाल्ने कोही कसैले पनि सिकाएका छैनन् ।

चारवटा मतपत्रमा मत दिनुपर्छ भन्ने सुनेको छु तर कसरी हो थाहा छैन’ यो भनाइ हो ललितपुर महानगरपालिका-२१ का मतदाता मैया महर्जनको ।

दैनिकजसो मत माग्न आउनेले मत दिने तरिका र शैलीका विषयमा कुनै पनि उम्मेदवारले जानकारी नदिएको भन्दै उहाँ कसले सिकाइदेला भन्ने खोजीमा छन् ।

यस्तै भनाइ छ काठमाडौँ निर्वाचन क्षेत्र नं ६ का मतदाता रामशंकर कार्कीको पनि । बुढेसकाल लाग्यो बाबु, भोट माग्न त दैनिकजसो यही बाटो भएर विभिन्न दलका नेता, कार्यकर्ता जुलुश निकाल्छन्, चुनावी अभियानमा छन् । तर लौ है भोट त यसरी हाल्ने हो भनेर कोही कसैले पनि सिकाएका छैनन्, उनले भनिन्।

शिक्षित व्यक्तिहरुले समेत मत हाल्ने विषयमा जानकारी राखेका छैनन् । ग्रामीण आदर्श क्याम्पस नेपालटारमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत तारकेस्वर नगरपालिका–३ का मतदाता चम्पा शर्मालाई पनि मत कसरी दिने होला भन्ने विषयमा जानकारी छैन ।

‘मतदान गर्ने दिनसम्म त केही न केही जानकारी होला नि,’ उनले भनिन् ।

दैनिकजसो मत माग्न पुग्ने उम्मेदवारले लौ है हामीलाई मत दिनु होला, हामी विकास निर्माण पनि गर्छौं, तपाईका सपना पनि पूरा गर्छौं भनेर मत माग्ने गरेका छन् तर कोही कसैले पनि मतदानको प्रक्रियाका बारेमा सिकाएका छैनन् ।

उम्मेदवार, राजनीतिक दल, तिनका नेता तथा कार्यकर्ताले मतदानको विविधका बारेमा जानकारी दिनुपर्ने दायित्व पनि लिएका छन् । तर मतदाताको कुरा सुन्ने हो भने उम्मेदवार र राजनीतिक दल स्वयंले भने यसतर्फ ध्यान दिएका छैनन् ।

राजधानीकै मतदाताले मतदान गर्ने उपायको बारेमा राम्ररी जानकारी राखेका छैनन् भने दूरदराज र ग्रामीण क्षेत्रका मतदाताको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।

संविधान कार्यान्वयनको महत्वपूर्ण अवसरको रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पहिलो चरण सम्पन्न भएको छ । यही मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भयो ।

दोस्रो चरणको निर्वाचन आउन एकाध दिन मात्रै बाँकी छ । तर मतदाता शिक्षाका विषयमा भने पहिलो चरणको निर्वाचनमा समेत राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताले ध्यान दिएको देखिएन ।

धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का मतदाता शान्ति मगरले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्रै मतदान गर्नुभयो । प्रदेशसभामा मतदान गर्नुभएन भन्ने प्रश्नमा उहाँले भनिन् ‘एउटामा मात्रै मत दिनु भनेकाले मैले त दिइन अर्को मतपत्रमा ।’

यस्तै भनाइ छ सोही जिल्लाको नीलकण्ठ नगरपालिका–९ का चुनबहादुर दुवाडीको । मैले त रातो मतपत्रमा एउटा मात्रै मतदान गरें । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ दुईवटा मत दिनुपर्छ भन्ने विषयमा कोही कसैले जानकारी दिएनन् भन्ने प्रश्नमा उनले भनिन् ‘खै कसैले भनेनन्, मैले त बदर हुन्छ होला भन्ने ठानेर एउटामा मात्रै मत दिए ।’

यस्तै कतिपय मतदाताले गठबन्धनका दुवै उम्मेदवारलाई मत दिनु भन्ने सुनेकाले दुई वटा निर्वाचन चिह्नमा मत दिएको समेत पाइएको छ । यसले बदर मत बढ्ने सम्भावना पनि बढेको छ । कतिपयले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा मत दिएर प्रदेशसभातर्फको समानुपातिकतर्फ मत नदिई खाली छाडेका छन् ।

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभर नै २१ हजार प्रशिक्षक परिचालन गरेको छ । राजनीतिक दलका नेता तथा कार्यकर्तालाई समेत मतदाता शिक्षाका लागि आग्रह गरेको छ । तर राजधानी र शहरी क्षेत्रमा नै मतदाता शिक्षा राम्ररी पुग्न सकेको छैन ।

आयोगले शिक्षक, सामाजिक कार्यकर्तालाई पनि मतदाता शिक्षाका लागि परिचालन गरेको छ । आयोगले स्थानीय भाषामा समेत मतदाता शिक्षा दिने सामग्रीको प्रचारप्रसार गरेको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले मतदाता शिक्षाका लागि आयोगका तर्फबाट हरसम्भव प्रयास भएको र त्यो क्रम जारी रहेको बताउँछन् । कतिपय स्थानमा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको भन्ने गुनासो जायज नै रहेको आयोगको बुझाइ छ ।

राजनीतिक दलले मतदाता शिक्षाका सन्दर्भमा जानकारी दिएको र मतदातालाई सिकाएको बताए पनि त्यस्तो अवस्था भने देखिँदैन । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा प्रतिनिधिसभा ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसाल आफूहरुले निर्वाचन अभियानसँगसँगै मतदाता शिक्षालाई पनि प्राथमिकतामा राखेको बताउँछन् ।

तर उनले घरदैलो गरेकै खोकना, ठेचोलगायतका स्थानका मतदाताले मतदान गर्ने उपायको बारेमा जानकारी नपाएको गुनासो गरेका छन् ।

नेकपा एमाले निर्वाचन परिचालन समितिका प्रवक्ता विष्णु रिमालले चुनावी अभियान सँगसँगै मतदातालाई मत दिने उपायको बारेमा जानकारी गराइएको बताउँछन् । उनले प्रचारको क्रममा समेत मतदातालाई जानकारी दिने गरिएको उल्लेख गरे ।

सत्तारुढ दल नेपाली काँग्रेसले चुनाव प्रचारका लागि केन्द्रीय प्रचार समिति नै बनाएको छ । दैनिक जानकारीका अलावा मतदाता शिक्षासमेत दिएको बताउने सो पार्टीले चुनावी अभियानको क्रममा नै मतदानको उपायको बारेमा समेत जानकारी दिने गरेको जनाएको छ । काँग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडका अनुसार सही तरिकाले मतदान गर्ने उपायका बारेमा जानकारी दिनका लागि नेता कार्यकर्ता नै परिचालित भएका छन् ।

आयोगले विद्युतीय छापा माध्यमबाट मतदाता शिक्षामा जोड दिएको छ । राजधानीमा बढी भीड हुने क्षेत्रमा तुल ब्यानरसमेत राखेको छ । विभिन्न गैरसरकारी निकायले समेत मतदाता शिक्षाका लागि भन्दै अभियान चलाएका छन् ।

तर जुनरुपमा मतदाताले जानकारी पाउनुपर्ने हो त्यो भने प्राप्त गर्न सकेका छैनन् । ग्रामीण तथा पहाडी क्षेत्रमा वर्षे बाली भित्र्याउने समय भएका कारण पनि मतदाताले सही जानकारी पाउन सकेका छैनन् । रासस


पुष्प दुलाल