कृषक राजकुमार, जो गोलभेडा खेती गरेरै महिनामा दुई लाख बढी कमाउँछन्



काठमाडौं । असोजयता गोलभेडाको भाउ आकासियो । भाउ आकासिएपछि सामाजिक सञ्जालमा गोलभेडा आतंक मच्चियो ।

-‘छिमेकीका घरमा ठूलै हल्ला सुनेँ, खसी नै ढालेछन् कि क्या हो भनेर हेरेको त, १ किलो गोलभेडा किनेर ल्याएका पो रहेछन्’

-‘अब त खुसी हुन्छ्यौं कि प्रिये प्रमिश म १ किलो गोलभेडा किन्दिन्छु के’

केही हप्ता फेसबुक ट्वीटरतिर गोलभेडाको महंगीबारे यसरी प्रहार भयो ।

कतिपयले बिचौलीयाका कारण भाउ अचाक्ली बढेको भन्दै आक्रोश पनि व्यक्त गरे । हुन पनि हो नेपालमा गोलभेडामा मात्रै होइन, हरेक क्षेत्रमा उत्पादनकले भन्दै बिचौलीयाले धेरै कमाउँछन् ।

तर आज हामी तपाईंलाई यस्तो जानकारी दिँदैछौं कि उत्पादकले चाहीँ कति कमाउँछन् ।

प्राय सबै बिहान सबेरै सितापाइला रामकोटस्थित तरकारी फार्ममा कोही पानी हाल्दै, कोही घाँस गोड्दै र कोही गोलभेडा टिपी रहेको देखिन्छ । ती मध्ये गोलभेडा टिपी रहेका एक व्यक्तिलाई ८ बजे कलंकीस्थित हिमाली चुलोमा कोट पाइट लगाएर कुचो लगाइ रहेको पनि देखिन्छ ।

ती हुन् राजकुमार त्रिपाठी । उनी गोलभेडा उत्पादन गर्ने किसान र हिमाली चुलो रेस्टुरेन्टका मालिक हुन् ।

त्रिपाठीका रामकोटमा २० रोपनी जग्गा छ, त्यहाँ गोलभेडालगायतका मौषमी तथा बेमौषमी सब्जी खेती गर्छन् ।

१९ वर्षको उमेरदेखि नै कृषि विकास बैंकले ल्याएको साना किसान कार्यक्रममा युवा कार्यकर्ताका परिचित छन् उनी ।

‘मान्छेहरु कृषक हुँ भन्न लजाउँथे तर मलाई कहिल्यै लाज लागेन,’ त्रिपाठीले क्लिकमाण्डूसँग भने ‘अचेल त मेरो सिको गर्नेहरु छ्यापछ्याप्ती भेटिन्छन् । खुसी लाग्छ ।’

द्वन्द्धकालीन समयमा खत्लीमा १ रुपैयाँ बोकेर काठमाडौं छिरेका राजकुमार सुरुमा चावहिलस्थित दिदीको घरमा बसे ।

पछि साथीहरुको सहयोगमा बालुवा, गिट्टी सप्लाइ गर्ने काम गरे । यसरी उनले १ वर्षमा नै ३२ लाख कमाइ गरेका थिए । त्यसपछि उनले बिस्तारै जग्गाको कारोबार गर्न थाले ।

जब घरजग्गाको कारोबार सुस्तायो । अनि उनले पहिले आफूले गरेको कृषि पेशा अंगाले । सितापाइला रामकोटमा २० रोपनी जग्गामा गोलभेडा लगाए ।

स्थापनाकालमा गोलभेडा फार्ममा एक्लै काम गर्थे उनी । पछि ४ जना कर्मचारी राखे ।

अहिले त्रिपाठीको कृषि फार्ममा गोलभेडाका साथै सिजन अनुसार साग, सिमी, काउली र धनियाँ लगायत उत्पादन हुन्छ ।

उनी गोलभेडाको मात्रै ब्यापार गरेर एक सिजनमा १५/१६ लाख रुपैयाँसम्म कमाउने गरेको उनले सुनाए ।

‘गोडभेडाको बिरुवा, बिउ र गोलभेडा ३ थरी नै उत्पादन तथा बिक्री गर्छु, एक सिजनमा गोलभेडाबाट मात्रै १५÷१६ लाख रुपैयाँ कमाइ हुन्छ,’ त्रिपाठीले भने ।

यसरी गोलभेडा खेतीबाट भएको आम्दानीले घर किनेका छन् उनले । त्यतिमात्रै होइन, श्रीमतीलाई एउटा पार्लर पनि खोलिदिएका छन् ।

खेतीबाटै पैसा कमाएर ६० लाख रुपैयाँमा कलंकीमा हिमाली चुलो नामक रेस्टुरेन्ट पनि खोलेका छन् त्रिपाठीले । आफ्नो बारीमा उत्पादन हुने तरकारीहरु आफ्नै रेस्टुरेनमा सप्लाइ गर्ने गरेको उनले सुनाए ।

‘बारीमा उत्पादन हुने तरकारी उनको रेस्टुरेन्टमा मात्र सप्लाइ नभइ बेच्नको लागि कालिमाटी र बल्खुका तरकारी बजारमा पनि पठाउँुछ,’ उनले भने ।

त्रिपाठी वार्षिक ८० हजार टनेल गोलभेडा उत्पादन गर्ने गर्छन् । उनको रेस्टुरेन्टमा अहिले १५ जनालाई ४ जनालाई फार्ममा रोजगार दिएका छन् ।

‘महिनाको लाख कमाउन इजराइल, मलेसिया, दुबाई वा कतार जानु पर्दैन, २ रोपनी जग्गा किनेर तरकारी खेती गरे नेपालमै त्योभन्दा बढी कमाउन सकिन्छ,’ उनले भने ।

भविष्यमा कृषि र पर्यटनलाई जोड्ने त्रिपाठीको योजना छ । कसैलाई बारिमै फलिरहेको मुला टिपेर खाउन भन्ने सोच हुने र त्यो टिपेर त्यतिखेरै त्यसको स्वाद दिन सक्ने हो भने कृषिसँगै पर्यटन पनि फस्टाउने उनको भनाई छ ।

‘भविष्यतमा कृषि फार्मको बीचमा रेस्टुरेन्ट खोल्छु, जसका वरिपरी साग-सब्जी होस् र ग्राहकले अडर्र गर्नासाथ टिपेर पकाएर खान दिन पाउँ,’ उनले सुनाए ‘यसले आन्तरिक पर्यटनलाई प्रवद्र्धनसमेत गर्छ ।’


पुष्प दुलाल