एउटै बिटक्वाइनको मूल्य ११ लाख रुपैयाँ ! कसरी हुन्छ कारोबार ?



केही समय अघिदेखि नेपालमा कारोबारमा बन्देज लगाईएको विटक्वाइन नामक ईन्टरनेट मुद्राको कारोबारले विश्व बजारमा भने नयाँ रेकर्ड राख्न सफल भएको छ । मंगलबारको कारोबारमा १ ईकाई विटक्वाइनको मुल्य ११ हजार (११ लाख नेपाली रुपैयाँ) को हाराहारीमा पुगेपछि विश्वका वित्तीय निकायको ध्यान यसतर्फ आकर्षित गरेको छ । केही शक्तिशाली राष्ट्रहरुले गरेको प्रतिबन्धको वाबजुत पनि विटक्वाइनले दिनानुदिन मुल्यमा रेकर्ड राखिरहेको छ ।

२००९ मा सुरु भएर पनि गुपचुप रहेको विटक्वाइन आखिर के हो ? यो वर्षमात्रै यसको नाम किन सुनियो, जसलाई नेपालमा कारोबारको लागि बन्देज नै लगाउनुपर्ने अवस्था आयो । आउनुहोस् यो विषयमा चर्चा गरौं ।

पैसाको विकल्पमा नेपालमा केही प्रयोग गरिन्छ भने त्यो सामानहरुको सट्टापट्टा हो । पहिला पहिलाका पुस्ताहरु खाद्यान्नको साटासाट गरेर पनि चलनचल्तीको काम गर्ने गरेको हामीले सुनेकै हौं । तर, अहिले विश्व फरक भईसक्यो । नेपालजस्ता कम विकसित देशको लागि आफ्नो देशको पैसाको विकल्प विदेशी विनिमय हो । अर्थात् तपाईसँग तोकिएको भारतीय रुपैयाँ, अमेरिकी डलर वा अरु छ भने तपाई भोकै पर्नुहुन्न ।

त्यो बाहेक विश्वको महंगो धातुको रुपमा रहेको सुन, हिरा हुनेहरुलाई त कुनै समस्या हुने कुनै भएन, अहिले यी धातुहरुसँगै एउटा अर्को नाम पनि विश्व विनिमय बजारमा चम्किएको छ, त्यो हो विटक्वाइन । यो सामाग्री तयार पार्दासम्म एक विटक्वाईन बराबर करिब ११ लाख रुपैयाँ मुल्य पुगिसकेको यो इन्टरनेट मुद्राको मुल्य दिन दुईगुणा रात चार गुणाको दरले बृद्धि भइरहेको छ ।

के हो विटक्वाइन ?

विटक्वाइन एक किसिमको ईन्टरनेट मुद्रा (भर्चुअल करेन्सी) हो जसलाई कुनै पनि देशको कागजी नोटको विकल्पमा प्रयोग गरिन्छ । यसलाई क्रिप्टोकरेन्सी पनि भनिन्छ । यो भनेको तपाईले कुनै १ हजार पर्ने सामान किन्नुभयो भने त्यो पैसा होईन त्यतिनै बराबरको विटक्वाइन दिनसक्नुहुने छ । अहिले ईन्टरनेटमा हजारौं यस्तो मुद्राहरु छन् जो सिमित व्यक्तिले कुनै पनि पैसाको विकल्पमा प्रयोग गर्न सक्छन् । लाईटक्वाइन, ईजीक्यासलगायतका हजारौं यस्ता मुद्राहरुको कारोबार अहिले पनि इन्टरनेटमा भइरहेको छ । त्यसमध्ये विटक्वाइनको स्थापना २००९ स्थापना भएको मानिन्छ । त्यस समयमा कुनै कम्पुटर सफ्टवेयरमा असाधारण काम गर्ने मानिसहरुलाई रिवार्डं (उपहार)को रुपमा यो प्रदान गर्ने गरिन्थ्यो ।

सफ्टवेयरमा आधारित यो मुद्राको सुरुवात कस्ले गर्यो भन्ने अहिलेसम्म सबै अनविज्ञ नै छन् किनभने यो खुल्ला मुद्रा हो र बिना नियन्त्रण कारोबार भइरहेको छ । यसलाई पैसा तिरेर आफूले खरिद गर्न सकिन्छ । विश्वको कुनै पनि देशको यसको नियमनकारी निकाय छैन ।

यसको करको विषयमा पनि धेरै देशले निर्णय गरिसकेका छैनन् । तर केही समय अघिमात्रै जापान सरकारले विटक्वाइनको कारोबारलाई बैधानिकता दियो जसले यसको माग उच्च गराउन सहयोग गर्यो । विश्वका विभिन्न देशको चलनचल्तीको मुद्राले बिटक्वाइन किन्न पाइन्छ । मनि एक्सचेन्जरले विदेशी मुद्रा साटेजस्तो अन्य मुलुकमा बिटक्वाइन पनि किन्न र बेच्न पाइन्छ । बिट क्वाइन एटीएम मेसिनहरू छन् । अर्थात् यो एक हिसाबले संसारभर चल्ने डलरजस्तै पैसा भईसक्यो । तर कसैको नियन्त्रण बाहिरको ।

विटक्वाइन विभिन्न विकसित देशमा तपाईंले पैसाको विकल्पमा प्रयोग गर्न सक्नुहुने छ । एक तथ्याङक अनुसार विश्वभर २ लाखभन्दा बढी निकाय तथा व्यापारिक संस्थाहरुले मुद्राको विकल्पमा विटक्वाइन स्वीकार गर्ने निर्णय गरिसकेका छन् । तर नेपालमा भने नेपाल राष्ट्र बैंक ऐन २०५८ ले यसलगायत कुनैपनि यस्ता भर्चुअल मुद्राको कारोबारलाई बैधानिकता दिएको छैन ।

जोखिमपूर्ण लगानी

विटक्वाइन लगायतका अभौतिक मुद्रामा उपयोग मात्रै नभएर सुन र डलरमा जस्तै लगानी पनि गरिन्छ । तर यसको लगानी गर्नु निकै नै जोखिमपूर्ण रहेको छ । विश्व ईतिहासमा यसरी आएका मुद्राहरु टाट पल्टिएका अर्थात फेल भएका उदाहरण धेरै छन् । किनभने यो कुनै व्यक्ति तथा देशको नियन्त्रणमा छैन । यसको नियमनकारी निकाय तथा कुनै पनि नियमकानूनमा नभएको ईन्टरनेट सफ्टवेयरमा आधारित भएको कारण कुनै पनि समयमा दुर्घटना नहोला भन्न सकिन्न ।

अर्को कारण विटक्वाइनको सिको गर्दै अहिले धेरै अभौतिक मुद्राहरु आएका छन् । जस्तो लाईटक्वाइन, ईथेरियम, जिक्यास, विटक्वाइन क्यास यी सबैको मुल्य उच्च रुपमा बृद्धि भईरहेको छ । यी सबै एकै प्रकारका खुल्ला सफ्टवेयरमा आधारित मुद्राहरु हुन् । र, कुनै पनि समय ह्याकर लगायतकाको फन्दामा पर्न पनि सक्छ र कुनै कारण विनै ध्वस्त हुन पनि सक्छ । ईतिहासमा केही मुद्राहरु त्यस्तो भएको पनि छन् । सुरक्षाको हिसाबले यस्ता मुद्राहरुमा लगानी गर्नु निकै नै खराब निर्णय हुनसक्छ ।

नेपालमा किन जरुरी छ बन्देज ?

नेपालमा विटक्वाइन मात्रै होईन कुनैपनि ईन्टरनेटमा आधारित विदेशी मुद्राको कारोबारमा बन्देज लगाउनु जरुरी छ । जसरी कल वाईपासको कुरो सुन्छौं हामी त्यसैगरी यस्ता मुद्राहरुले देशको रकम बाहिरिएर देशलाई भित्र भित्रै खोक्रो बनाउने छ । भष्ट्राचार, अपराधिक कार्य, लागुऔषधको कारोबारमा लागेकाहरुले पुँजी पलायनको लागि यस्तो माध्ययमको गतिलो प्रयोग गर्ने संभावना हुन्छ । विश्वमा अहिलेसम्म कम विकसित देशहरुले विटक्वाईनको कारोबारलाई बैधानिकता दिएका छैनन् ।

चीनमा सरकारले सार्वजनिक निकायले विटक्वाइनमा लगानी गर्न पूर्णबन्देज लगाएको छ भने बङ्गलादेशले पनि पूर्णरुपमा यस्तो कारोबारलाई बन्देज लगाएको छ । रसिया, थाईल्याण्डले लामो अध्ययनपछि केही समय अगाडिबाट यस्तो कारोबारलाई खुकुलो बनाएका छन् । यसको कारोबारमा कुनै बैंक वा मध्यस्थकर्ता नचाहिनुको साथै कारोबार गर्ने व्यक्तिहरुको पहिचान खुलाउन पनि जरुरी भएकोले यसमा सजिल्यै पैसा लुकाउन सकिने देखिन्छ । करको दायराभित्र समेत नपर्ने यस्तो लगानीले राज्यको कर आम्दानीमा पनि ठूलो नोक्सानी हुन सक्छ ।


पुष्प दुलाल