नेपाली हवाई उड्डयन क्षेत्र ईयुको कालो सूचिबाट नहट्ने संकेत, निगमलाई पर्न सक्छ समस्या



काठमाडौं । युरोपेली युनियन (ईयु) अन्र्तगत युरोपेली आयोगले नेपाली हवाई आकाशलाई अझै कालो सूचिबाट नहटाउने संकेत दिएको छ ।

अन्तर्राष्ट्रय नागरिक उड्डयन संगठन (आईकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) सूचीबाट मुक्त भएपनि युरोपेली युनियनले चार महिना सम्म चासो नदिनुले नहट्ने संकेत देखिएको हो ।

नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले तत्काल नेपाल ईयूको सुरक्षा सूचीबाट हट्ने सम्भावना नरहेको जनाएको छ ।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले ईयूले थप प्रश्न पठाएको जनाउँदै सूचीबाट हटाउने प्रयासहरु भइरहेको बताए । उनीहरुले हामीलाई थप केही प्रश्न पठाउने इमेलमार्फत भनेको समेत गौतमले जानकारी दिए ।

आइकाओका विज्ञहरुले नेपालमा आई गरेको स्थलगत अुनगमन र अध्ययन प्रतिवदेनलाई आधार मान्दै ईयूले पनि २०७० मंसिर देखि आफ्ना सदस्य मुलुकभित्र सबै नेपाली वायुसेवालाई निषेध गर्दै आएको छ ।

गत असार १९ मा आइकाओले औंल्याएका कमजोरी सुधार भए नभएबारे उडान सुरक्षा अडिट गर्न आइकाओका दुईजना विज्ञ काठमाडौं आइपुगेका थिए । उक्त टोलीले नेपालमा भइरहेको वायुयान सञ्चालन र वायुयान मर्मत सम्भार क्षेत्रको अवस्थाबारे अध्ययन तथा सम्परीक्षण गरेका थिए ।

आइकाओले कोअर्डिनेटेड भ्यालिडेसन मिसन (आईसीभीएम) भनिएको यो टोलीको अध्ययनपछि गएको साउनमा नेपालमाथिको ‘रातो झन्डा’ अर्थात गम्भीर सुरक्षा चासो (एसएससी) सूचिबाट हटाएको थियो ।

त्यसलगत्यै प्राधिकरणले ईयुलाई पत्र लेख्दै कालोसूचिबाट हटाउन आग्रह गरेको थियो । हालसम्म कुनै पनि निर्णय नगर्नुले यसवर्ष पनि कालो सूचिबाट नहट्ने संकेत देखिएको प्राधिकरणको निष्कर्ष रहेको छ ।

‘आइकाओले ८ वर्षअघि पहिलोपटक गरेको उडान सुरक्षा अडिटमा नेपालको परिपालना दर ४३ प्रतिशत मात्रै थियो तर अहिले हामी ६६ दशमलव ०८ प्रतिशतमा रहेको छ । नेपालमा हवाई दुर्घटना बर्सेनि भइरहे पनि पहिलेको दाँजोमा केही सुधार भएको प्राधिकरणको दाबी छ ।

निगमलाई समस्या पर्ने संकेत
नेपाल वायुसेवा निगमले ठूला जहाज खरिदको अन्तिम तयारी गरिरहेको छ । निगमले वाईडबडी ३३०–२०० सिरिजको जहाज मार्फत युरोपका मुलुकहरुमा उडान गर्ने लक्ष्य लिएको छ । ईयुले कालो सूचिबाट नहटाएसम्म निगमले युरोपका कुनै पनि मुलुकमा उडान भर्न पाउने छैनन् ।

ईयूको प्रतिबन्धित सूचीबाट नेपालले मुक्ति पाएपछि मात्रै नेपाली एयरलाइन्सका विमान र हेलिकप्टरलाई उनीहरुका मुलुकमा चार्टर उडानका लागि बाटो खुला हुनेछ ।

आईकाओ सन् २००९ मा पहिलोपटक नेपालको उडान सुरक्षा अडिट गरेको थियो । त्यसबेला उसले नेपालको हवाई सुरक्षा विश्वव्यापी औसत पालना दरभन्दा धेरै तल भएको भन्दै त्रुटिपूर्ण रहेका थुप्रै हवाई सुरक्षा नियम पालना गर्न निर्देशन दिएको थियो ।


क्लिकमान्डु