उम्मेद्वारलाई दोलखाली मतदाताको प्रश्न: ‘कहिले पाइन्छ माथिल्लो तामाकोशीको शेयर ?’



दोलखा । कालिञ्चोक–९ का हरिबहादुर खड्काले तीन वर्षदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले शेयर दिन्छ रे भन्ने सुनेको ।

तर अहिलेसम्म किन शेयर दिइएन भनेर कोही कसैले पनि चित्त बुझ्ने गरी बताएका छैनन् । आफूसँग भएको थोर बहुत पैसा लगानी गर्ने इच्छा छ । तर जानकारी नपाएकामा उनको गुनासो छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत माग्न गाउँ पसेका विभिन्न राजनीतिक दलका नेतालाई खड्काले पटक पटक सोध्नुभयो माथिल्लो तामाकोशीको शेयर कहिले पाइन्छ होला ? तर उम्मेदवारले पनि हालसम्म चित्तबुझ्दो जवाफ दिन नसकेका उनी बताउँछन् ।

शेयरका बारेमा जसले राम्रोसँग जानकारी दिन्छ उसैलाई यस पटकको मत दिने सोचाइमा छन् । ‘बूढेसकालमा गरिखान नसक्ने भएपछि त्यही शेयर नै आफू र आफ्नो परिवार पाल्ने भरोसा बन्छ ।’उनले भने ।

कालिञ्चोक–९ कै ६८ वर्षीय नारायण शाहीलाई पनि माथिल्लो तामाकोशीको शेयरका बारेमा खुबै चासो छ । आयोजना शुरु भएदेखि नै स्थानीयवासीलाई शेयर दिन्छन्, राम्रो कमाई हुन्छ भन्ने सुनेको हो तर अहिलेसम्म कुनै छेउ–टुप्पो नलागेको उहाँलाई पनि चित्त बुझेको छैन ।

निर्वाचनमा मत माग्न गाउँ आएका उम्मेदवारसँग उहाँले पनि सोधे,“शेयर कहिले पाइन्छ, हामीले कहिले हो लगानी गर्न पाउने रु” कोहीले माघ पछि पाइन्छ भनेका छन् त कोहीले आफूलाई जानकारी नभएको र पछि जानकारी दिउँला भन्दै हिँडेका शाहीले बताए ।

‘हामी दोलखावासीलाई माथिल्लो तामाकोशीको शेयरका बारेमा जसले राम्रोसँग बुझाउँछ, सोही पार्टीलाई मतदान गछौँ,’ उनले भने ।

दोलखाकै मतदाता कुमारप्रसाद प्रसाईं माथिल्लो तामाकोशीका बारेमा कुरा गर्न अग्रसर देखिए । ‘हाम्रै देशको लगानीमा निर्माण भइरहेको आयोजनामा हाम्रो पनि लगानी हुनुपर्यो नि ?’ उनले भने । थोरै बहुत लगानी गर्ने इच्छा छ, उनलाई ।

आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत माग्न आएका उम्मेदवारलाई उनले पनि सोधे, ‘शेयर कहिले पाइन्छ त नेताज्यू ?” कस्तो उत्तर पाउनु भयो त तपाईंले ? भन्ने प्रश्नमा प्रसाईलें भने, ‘केही समयपछि दिन्छौँ भनेका छन्  आशा छ, हामी दोलखालीले केही समयभित्रै माथिल्लो तामाकोशीको शेयर पाउँछौ ।’

सुन्द्रावतीका डम्बर ओलीलाई शेयरका बारेमा बढी चासो छ । ‘सार्वजनिक भाषणमा नै नेताले शेयरका बारेमा बताइदिएको भए राम्रो हुन्थ्यो,’ उनले भने ।

लामाबगरका पेम्बा शेर्पालाई पनि आफ्नै घर–आँगनमा बन्दै गरेको आयोजनामा कहिले लगानी गर्न पाइएला भन्ने प्रतीक्षा छ । शेर्पा भने,’पाइन्छ भन्ने सुनेको लामो समय भयो तर न त हालसम्म आयोजनाले बताएको छ, न त मत माग्न आएका नेताले नै । छिट्टै दिए हुन्थ्यो ।’

अधिकांश स्थानीयवासीले उम्मेदवारसँग माथिल्लो तामाकोशीको साधारण शेयरका बारेमा चासो र चिन्ता व्यक्त गर्ने गरेका छन् । उनीहरु गतिलो सूचना नपाएकामा उम्मेदवारसँग गुनासो पनि गरिरहेका छन् ।

प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङ स्थानीय मतदाताले माथिल्लो तामाकोशीको शेयरका बारेमा आफूलाई दर्जनौँ पटक प्रश्न गरेका बताए । ‘हामीले मत माग्ने क्रममा छिट्टै आयोजनाले शेयर जारी गर्ने तयारी गरेको जानकारी दिने गरेका छौँ । जनता पनि आश्वस्त भएका छन्”, गुरुङले भने, “साधारण शेयरप्रति जनताको ठूलो र व्यग्र प्रतीक्षा छ ।’

‘दोलखाको समृद्धि र स्वाभिमान, हाम्रो अभियान’ नाराका साथ एमाले र माओवादी केन्द्रका नेता संयुक्त रुपमा चुनावी अभियानमा केन्द्रित छन् ।

काँग्रेसका तर्फबाट रुद्रबहादुर खड्का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ भने प्रदेश ‘क’मा केशव चौलागाईं र ‘ख’ बर्मा लामा उम्मेदवार छन् ।

वाम गठबन्धनका तर्फबाट प्रदेश ‘क’ मा विशाल खड्का र प्रदेश ‘ख’ मा पशुपति चौलागार्इं उम्मेदवार छन् । । लामो समयसम्म एमालेको राजनीतिमा संलग्न जिल्ला विकास समितिका पूर्वसभापति लालकुमार केसी पनि चुनावी मैदानमा छन् ।

उम्मेदवारी दिएका अधिकांश नेतालाई मतदाताले अरू विकास निर्माणको कामभन्दा पनि माथिल्लो तामाकोशीका बारेमा नै बढी चासो र चिन्ता व्यक्त गर्ने गरेका छन् । काँग्रेसका उम्मेदवार खड्का मतदाताले शेयरका बारेमा चासो व्यक्त गरेको स्वीकार गर्दै चुनाव लगत्तै वितरण गर्नेतर्फ पहल गर्ने बताए ।

यस्तै प्रदेशसभाका उम्मेदवार खड्का, चौलागाईं, केशव पौडेल पनि स्थानीयवासीको चासोलाई सम्बोधन गर्दै आयोजनाबाट छिट्टै साधारण शेयर जिल्लावासीलाई वितरण गराउन आफूहरु प्रतिबद्ध रहेको बताए ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने घोषणा गरिसकेको छ । आगामी पुसको अन्तिम साताबाट स्थानीय प्रभावितले साधारण शेयरमा आवेदन दिन सक्ने बताइएको छ ।

दोलखामा मतदाताको सङ्ख्या एक लाख ४४ हजार ८२५ रहेको छ । यसअघि एक लाख ३६ हजार ९७९ मतदाता रहेको थियो । पछिल्लो पटक सात हजार ८४६ मतदाता थपिएका छन् भने जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् ।


क्लिकमान्डु