स्वीफ्ट प्रकरणः ह्याकरले कुन विदेशी बैंकमा कति रकम पठायो ? (प्रतिबेदनसहित)



काठमाडौं । गत तिहारको बेला एनआइसी एशिया बैंकको ह्वीफ्ट ह्याक गरी साढे ४६ करोड रुपैयाँ चोरी गर्ने प्रयास भयो । तर, बैंक व्यवस्थापनले समयमै थाहा पाएका कारण बैंकको रकम चोरी हुन भने पाएन ।

एनआइसी एशिया बैंकको स्वीफ्ट ह्याक गरी ह्याकरले ४६ करोड ५६ लाख ५० हजार ५ सय ५ रुपैयाँ भुक्तानीका लागि विभिन्न विदेशी बैंकमा ३१ वटा अर्डर पठाएको अध्ययन प्रतिवेदनले देखाएको छ ।

स्वीफ्ट ह्याक गरी चोरी भएको नेपालमा पहिलो घटना हो । यो प्रकरणले बैंकका ग्राहकलाई कुनै पनि असर पर्ने छैन ।

राष्ट्र बैंकले तयार पारेको अध्ययन प्रतिवेदनमा यसरी अर्डर गरिएको रकममध्ये १२ करोड ८७ लाख १२ हजार ६ सय ५५ रुपैयाँ बराबरका ९ वटा अर्डर एनआइसी एशिया बैंकको सिस्टमले अस्वीकृत गरेको उल्लेख छ ।

स्विफ्ट ह्याक गरी चोरी गर्न खोजिएको अधिकांश रकम एनआइसी एशिया बैंकले फिर्ता पाएको छ । प्रतिवेदन अनुसार २२ वटा अर्डरमार्फत् ३३ करोड ६९ लाख ३७ हजार ८ सय ५० रुपैयाँ भुक्तानीका लागि म्यासेज फरवार्ड भएको थियो । यसरी फरवार्ड भएको पेमेन्ट म्यासेजमध्ये १७ करोड ६ लाख ६५ हजार ९ सय ७६ रुपैयाँको अर्डर करोस्पोन्डन्ट बैंकले कारोबार क्यान्सिल गरेको थियो ।

भुक्तानीका लागि अर्डर भइसकेको १७ करोड ६ लाख ६५ हजार ९ सय ७६ रुपैयाँमध्ये ८ करोड ७८ लाख ९८ हजार ५ सय ५४ रुपैयाँ फिर्ता भइसकेको छ भने ७ करोड ५० लाख रुपैयाँमात्र लाख फिर्ता हुन बाँकी छ। यो रकम पनि फिर्ता हुने क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ ।

ह्याकरले कहाँ कहाँ पठाएको थियो ?

ह्याकरले जापान, अमेरिका, हङकङ, इङ्ल्यान्ड, जर्मनी र टर्कीमा रकम भुक्तानीको अर्डर गरेको थियो ।

जर्मनीमा रोक्का

जर्मनीमा रहेको ह्याकरको खातामा बैंकको २ करोड ९८ लाख १२ हजार रुपैयाँ स्थानान्तरण भएको थियो । तर, सो रकम भुक्तानी भने हुन सकेन ।

जापान, चीन र बेलायतबाट भुक्तानी

ह्याकरले जापानमा दुईवटा भुक्तानीमार्फत १ करोड ३२ लाख ८९ हजार र ५९ लाख ६५ हजार रुपैयाँ भुक्तानी लिएको थियो । त्यस्तै, चीनबाट २ करोड २४ लाख ४१ हजार रुपैयाँ र बेलायतबाट ३५ लाख ३४ हजार रुपैयाँबराबरको भुक्तानी लिएको थियो ।

भुक्तानी भइसकेको रकम पनि भुक्तानी भएको देशको एजेन्सीमार्फत फिर्ता गराउन राष्ट्र बैंक र प्रहरी दुबै लागि परेका छन् ।

कर्मचारीको संलग्नता भएको आशंका

बैंकको स्वीफ्ट प्रयोग गरेर विदेशका अन्य बैंक तथा वित्तीय संस्था रकम पठाएको प्रकरणमा सोही बैंकका केही कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

राष्ट्र बैंक र एनआइसी एशिया बैंकले गरेको अनुसन्धानले स्वीफ्टमै काम गर्ने कर्मचारीको नियतबस संलग्नता वा असावधानी यस्तो भएको हुनसक्ने आँकलन गरिएको छ ।

सीआइबीले अनुसन्धान थाल्यो

स्वीफ्ट ह्याकमार्फत भएको चोरीको विषयमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले अनुसन्धान थालेको छ । राष्ट्र बैंकले अध्ययन प्रतिवेदन तयार पारिसकेपछि अप अध्ययनका लागि सीइआबीलाई अनुरोध गरेको हो । एनआइसी एशिया बैंकले पनि प्रतिवेदनसहित सीआइबीमा छानविनका लागि उजुरी समेत दिएको छ ।  सीआइबीको अनुसन्धानपछि मात्रै स्वीफ्ट ह्याकमा कसको संलग्नता हो भनेर खुल्नेछ ।

यस्तो छ घटना विवरण

काग तिहारको दिन दिउसो बैंकको बैंकिङ कारोबारमा समस्या देखियो । समस्या देखिएपछि बैंकका कर्मचारीहरु बैंकिङ सिस्टम र बैंकले प्रयोग गर्दै आएको फिनाकल सफ्टवेरमा समस्या भएको हो कि भनेर यसको रिकोभरी गर्न लागे ।

कुकुर तिहारको दिन साँझ सफ्टवेर रिकोभरी भयो । तर, बैंकबाट पेमेन्ट गएको सिस्टममा देखिएपछि कर्मचारीहरु आत्तिए । त्यसपछि उनीहरुले स्वीफ्ट खोले ।

स्वीफ्ट खोलेर हेर्दा धमाधम पेमेन्टका लागि अर्डर पठाएको देखियो । त्यसपछि स्वीफ्टको मूख्य सर्भर नै बन्द गरियो ।

तर यसबेला सम्ममा साढे ४६ लाख अमेरिकी डलर अर्थात् साढे ४६ करोड नेपाली रुपैयाँ अर्डर गइसकेको रहेछ । स्वीफ्टमार्फत् अर्डर गएको थाहा पाएपछि बैंकका अधिकारीहरुले राष्ट्र बैंकलाई खबर गरे ।

तर, बिदा भएकाले राष्ट्र बैंकका अधिकारीहरुले तत्काल एनआइसी एशिया बैंक गएर अध्ययन गर्न पाएनन् ।

राष्ट्र बैंकको टोली कात्तिक ५ गते आइतरबार एनआइसी एशिया बैंक गएर अध्ययन गरेको थियो । लक्ष्मीपूजाको दिन स्वीफ्ट खोलेर चेक नगरेको भए बिदेशी बैंकमा रहेको बैंकको अर्बौं रकम रकमान्तर भइसक्ने अध्ययनले देखाएको छ ।

के हो स्वीफ्ट ?

सोसाइटी फर वेलफेयर अर्गनाइजेसनले एउटा बैंकबाट अर्को बैंकमा रकम पठाउने प्रणाली बनाएको छ । यसलाई नै द सोसाइटी फर वल्र्ड वाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन (स्विफ्ट) भनिन्छ । यो नेटवर्कबाट बैंक तथा वित्तीय संस्थाले विश्वव्यापी रुपमा पैसा पठाउन र प्राप्त गर्न सक्छन् ।

यो गैरनाफामुलक संस्था हो । यसले बैंकहरुबीच रकम स्थानान्तरणको लागि विश्वब्यापी रुपमा सेवा दिएको छ । स्वीफ्ट मार्फत एउटा देशको बैंकले अर्को देशको बैंकमा रकम पठाउन सक्छन् ।

बैंकहरुले विश्वासिलो वातावरणमा काम गर्ने अबस्था यो संस्थाले बनाएको छ । संसारका २ सय देशका ११ हजारभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु स्वीफ्टका सदस्य छन् । स्वीफ्टले आफ्ना सदस्यहरुलाई मात्रै सेवा दिन्छ ।

स्वीफ्टको सदस्य बन्न सबै बैंक तथा वित्तीय संस्थाहरुले शुल्क तिर्नुपर्छ । यसका हरेक गतिविधिको पैसा तिर्नुपर्छ । सदस्यता शुल्क मात्रै होइन, सुरक्षा सम्बन्धि प्रबिधिको पनि शुल्क तिर्नुपर्छ । सुरक्षासम्बन्धि अरु शुल्कहरु पनि तिर्नुपर्छ ।


पुष्प दुलाल