बेल्जियमबाट फर्केर करोड लगानीमा कालिज फार्म



काठमाडौं । भर्खर जुँगाका रेखी मात्रै बसेका थिए पोखराका पदम अधिकारीका । अध्ययनका लागि उनी युरोप हानिए । यो कुरा २३ वर्षअघिको हो ।

अध्ययन सके । अनि काम गर्न थाले । लामो समय उनले रेस्टुरेन्ट तथा होटलहरुमा कुक काम गरे ।

अधिकारीले काम गर्दा कमाएको पैसाले बेल्जियममा रेस्टुरेन्ट खोले । र, उद्यमी बने । रेस्टुरेन्ट व्यवसायले उनलाई मालामाल आम्दानी दियो पनि । उनको परिवार सबै बेल्जियममै छ ।

तर, उनै अधिकारी अहिले नेपाल फर्केर कालिज पालन व्यवसाय सुरु गरेका छन् । विदेशमा जति काम गर्ने हो भने नेपालमै पनि त्यो भन्दा बढी पैसा कमिनसक्ने अवसर देखेर नेपाल फर्किएको बताउँछन् अधिकारी । यद्यपि अहिले पनि उनले बेल्जियममा रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन्, वर्षमा २/४ महिना उतै बस्छन् ।

‘हामीले विदेशमा जति मिहेनत गर्र्यौं, त्यति नै मिहेनत नेपालमा गर्ने हो भने विदेशमाभन्दा स्वदेशमै बसीबसी धेरै पैसा कमाउन सकिने देखेर नेपाल फर्केर कालिज पालन व्यवसाय सुरु गरेको हुँ,’ अधिकारीले क्लिकमाण्डूसँग भने ।

पोखराको लेखनाथस्थित लामगादी–गगनगौडामा भाञ्जा सोमनाथ लामिछानेको २० रोपनी जग्गामा मामा भाञ्जाको पार्टनरसिपमा कालिज पालन व्यवसाय सञ्चालन गरिएको हो । २०७२ माघमा नेपाल वाईल्ड फुड प्रोजक्ट प्रालि। दर्ता गरेपनि ०७३ सालदेखि मात्रै अधिकारीले व्यवसाय सुरु गरे ।

बेल्जियमबाट कालिजका १२ सय वटा अण्डा ल्याएर नेपालमै चल्ला कोरलियो । कालिजसँगै केही तित्रा पनि पालिएको अधिकारीले जानकारी दिए ।

‘अहिलेसम्म करीब १ करोड रुपैयाँ लगानी गरिसकेँ, आगामी ३ वर्षभित्र थप लगानी गरी फार्मलाई ठूलो बनाउने र अढाई लाख कालिज पाल्ने सोचका साथ अघि बढेको छु,’ उनले भने ।

नेपालको कानूनअनुसार कालिज पाल्न पाइँदैन । त्यसैले उनले विदेशबाट अण्डा ल्याएर कालिज पालन व्यवसाय गरेका हुन् ।

बेल्जियमको रेस्टुरेन्टमा केही कालिज आफैं पालेको र त्यहाँका ग्राहकहरुले अत्यधिक रुचाएपछि आफ्नै देश फर्केर व्यवसाय सुरु गरेको उनको भनाई छ ।

अहिलेसम्म नेपालमा कालिजको व्यावसायिक उत्पादन भएको छैन । व्यावसायिक उत्पादन हुन थालेपछि हरेक होटल तथा रेस्टुराँहरुमा कालिजको मासु पाइने उनको विश्वास छ ।

‘कालिजको मासु निकै स्वादिलो, पोसिलो र स्वस्थकर पनि हुन्छ,’ उनले सुनाए, ‘पोखरामा मात्रै कालिज सप्लाइ गर्न पाएँ भने मलाई पुग्छ ।’

अहिले पनि पोखराबाट धेरै ग्राहकहरु उनको फार्ममा कालिज किन्न आउने गर्छन् । तर, धेरै ग्राहकहरु कालिज किन्न नपाएर रित्तै हात फर्किने गरेको उनले सुनाए ।
फार्ममा भएका भाले कालिजहरु बिक्री गरेको र पोथी कालेजहरु मात्रै पालेका छन् उनले । कालिजलाई कहीँबाट पनि भाग्न नसक्ने गरी तारजाली लगाएर केज बनाएका छन् ।

‘१ वर्ष पुगेका करीब ३ हजार भाले कालिज प्रतिगोट ३ हजारका दरले बिक्री गरिसकेँ, अब ५/७ सय पोथी कालिज छन्,’ उनले भने ।

अधिकारीका अनुसार कालिज १ वर्ष पाल्दा कालिजको तौल डेढ किलो हुन्छ ।

चैत, वैशाख र जेठमा मात्रै पोथी कालिजले अण्डा पार्छ । कालिजका भाले र पोथीलाई छुट्टाछुट्टै राखिएको छ । अण्डा पार्ने समयमा पोथी भएको ठाउँमा भाले लगेर छाडिन्छ । एउटा पोथीले एक सिजनमा ५०/६० वटा अण्डा पार्ने गरेको उनले सुनाए ।

सुरुमा १ हजार २ सय अण्डा ल्याएर काठमाडौंको एक हृयाचरीमा चल्ला उत्पादन गर्न दिएका उनले त्यसलाई पोखरामा परीक्षणको रुपमा पाल्न सुरु गरे ।

पहिलो उत्पादन राम्रो भएपछि उनले हाल आफैंले २ वटा ह्याचरी मेसिन ल्याएर चल्ला पनि आफैंले उत्पादन गर्ने गरेका छन् ।

यसरी पालिएका कालिजलाई मकै, गहुँ, घाँस, सागपात र ब्रोइलर कुखुरालाई दिइने दाना खुवाउने गरेको उनले सुनाए । बेल्जियमबाट अण्डा ल्याएर चल्ला कोरल्दासम्म प्रतिगोटा १७/१८ सय रुपैयाँ खर्च भएको उनको भनाई छ ।

‘अझै २/३ वर्ष खासै नाफा हुँदैन, जब अहिले पालिएका पोथीहरुबाटै ठूलो संख्यामा चल्ला उत्पादन हुन थाल्छ त्यसपछि मात्रै राम्रो नाफा हुन्छ,’ अधिकारी बताउँछन् ।


पुष्प दुलाल