आन्तरिक पर्यटकको देशैभर चहलपहल, पहिलो रोजाई मुस्ताङ र रारा




काठमाडौं । पछिल्लो वर्षहरुको आन्तरिक पर्यटकको गतिविधिले व्यवसायीलाई उत्साहित बनाउँदै गएको छ । काठमाडौंका वरपर हाइकिङ गएर रमाउने समूह यतिबेला उपत्यकाबाहिर पोखरा, चितवन, लुम्बिनी, जनकपुर, रारा, खप्तड देखि मुक्तिनाथतिर लागेका छन् ।

दसैं तथा तिहारमा लामो बिदा हुने भएकाले प्रायः सबैको मनमा घुम्न जाऔं र रमाइलो गरौं भन्ने मुड बनिहाल्छ । विगतको समयमा चाडपर्वमा रमाइलो गरी घरपरिवार मिठो खाने र जमघट गरिबस्ने प्रचलन थियो ।

चितवनमा पर्यटक चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिंगे गैंडा, बाघलगायत दुर्लभ वन्यजन्तु हेर्न आउँछन् ।

पछिल्लो समय भने चाडपर्वमा घरपरिवार र साथीहरुको समूह लामो तथा छोटा गन्तव्यमा घुमेर मनाउन थालेका छन् । सानादेखि ठूला तथा तारे होटलहरुले पनि आन्तरिक पर्यटकलाई चासो दिएर प्याकेज दिने गरेका छन् । त्यसैले होला, नयाँ-नयाँ गन्तव्यमा आन्तरिक पर्यटकहरुले पर्यटन व्यवसाय धानिन थालेका छन् । मौसम र बिदा दुवैले साथ दिने भएकाले प्रायः असोज र कात्तिकमा आन्तरिक पर्यटकहरू बढी घुमफिरमा निस्कने गरेका छन् ।

सानादेखि तारे होटलहरुले अहिले बिजनेस गर्न विदेशी पर्यटक कुर्न नपर्ने भएको छ । आन्तरिक पर्यटकले काठमाडौं बाहिरका सबै होटल भरिने गरेका होटल संघ नेपाल (हान) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवेश अर्याल बताउँछन् । ‘केही वर्षअगाडिसम्म विदेशीलाई मात्र पर्यटक बुझिन्थ्यो । तर, पछिल्लो अवस्था त्यस्तो छैन,’ अर्यालले भने ।

५० लाखभन्दा बढी नेपाली वर्षमा कम्तीमा एक पटक पर्यटकीय भ्रमणमा जाने गरेको सरकारी अनुमान छ । यही मुभमेन्टका कारण पनि उपत्यकाबाहिरका रिसोर्टहरु भरिभराउ हुने गरेका हुन् ।

‘नेपालमा खर्च गर्न सक्ने गुणस्तरीय पर्यटकको वृद्धि हुँदै गएका कारण आन्तरिक पर्यटन वर्षले भूकम्पपछि खस्किएको पर्यटन क्षेत्रलाई ठूलो टेवा दिनेछ ।’

दसैं-तिहारको समयमा आउने आन्तरिक पर्यटकले चितवनका होटल भरिभराउ भएको होटल व्यवसायीले बताएका छन् । चितवनको सौराहामा मात्र साना–ठूला गरी ९७ वटा होटल छन् भने जगतपुरमा १७ र मेघौलीमा ४ वटा होटल छन् । सबै होटलको कुल क्षमता २७ सय छ । दुईवर्षयता मुंङलिन–नारायणगढ सडक खन्डका कारण केही पर्यटक घटेपनि यो दसैं तिहारको समयमा भने भरिभराउ भएका छन् ।

चितवनमा पर्यटक चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिंगे गैंडा, बाघलगायत दुर्लभ वन्यजन्तु हेर्न आउँछन् । पर्यटक हात्ती चढेर जंगल सफारी गर्न, नदीमा डुंगा सयर गर्न, निकुञ्जमा पदयात्रा गर्न पनि आउने गर्छन् । पर्यटक बढेसँगै चितवनमा होटलमा लगानी थप्ने क्रम बढेको छ ।

पोखरा, मुस्ताङ, भैरहवा, पाल्पा, गुल्मी, इलामलगायत मुख्य पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चाप छ । गत वैशाख १२ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले ‘घुमफिर वर्ष २०७३’ घोषणा गरेका थिए । भूकम्पका कारण संकटमा परेको नेपालको पर्यटन पुनरुउत्थानका लागि आन्तरिक पर्यटन वर्ष मनाउने निर्णय नेपाल पर्यटन बोर्डले गरेको थियो ।

आन्तरिक पर्यटन विस्तार गर्न पोखरा, चितवन, लुम्बिनी, रारा ताल, खप्तड, माथिल्लो मुस्ताङलगायत घुम्न प्रेरित गर्नका लागि अभियान अगाडि बढेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले बताए ।

यसले आफ्नै देशमा घुम्नका लागि प्रोत्साहन गर्ने उनको भनाइ छ । ‘नेपालमा खर्च गर्न सक्ने गुणस्तरीय पर्यटकको वृद्धि हुँदै गएका कारण आन्तरिक पर्यटन वर्षले भूकम्पपछि खस्किएको पर्यटन क्षेत्रलाई ठूलो टेवा दिनेछ,’ उनले भने ।

पछिल्लो समय गन्तव्य व्यवस्थापक, सेवा प्रदायक समूह तथा सञ्चालकहरुले पनि छुट प्याकेज समावेश गरेका छन् । हान, नाट्टा, टान, सोट्टो नेपाललगायत निजी क्षेत्रका पर्यटकीय संघ–संस्थाहरू पनि प्याकेजका साथ प्रभावकारी रुपमा अगाडि बढिरहेको व्यवसायीहरुले बताएका छन् ।

पहिलो रोजाइ मुस्ताङ

माथिल्लो र तल्लो मुस्ताङको भ्रमण गर्न यतिबेला दैनिक हजारौं आन्तरिक पर्यटक जाने गरेका छन् । केही ट्राभल्स एन्ड टुर कम्पनीसँग प्याकेज लिएर गएका छन् भने कोही आफैं सो क्षेत्रतर्फ लागेका छन् ।

मुस्ताङको मुक्तिनाथमा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीका भक्तजन दर्शनका लागि जाने गरेकोले पनि सो क्षेत्रमा आन्तरिक पर्यटक बढी पुगेका छन् । विगतमा मुस्ताङ क्षेत्रमा पर्यटक जान कठिन र महँगो भए पनि पछिल्लो समय सडक सञ्जालमा सहज पहुँच भएकाले आन्तरिक पर्यटक सो क्षेत्रमा जाने गरेको ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालका पूर्वअध्यक्ष यमबहादुर खड्का बताउँछन् । ‘अहिले नेपालीले मुस्ताङ र रारालाई पहिलो गन्तव्यमा राख्न थालेका छन,’ खड्काले भने ।

रारामा पनि पहुँच बढ्दै

सडक सञ्जालमा जोडिएसँगै नेपालको सबैभन्दा ठूलो ताल रारा ताल जानेहरुको संख्यामा वृद्धि भएको छ । व्यवसायीका अनुसार दैनिक ४ सयभन्दा बढी आन्तरिक पर्यटक अहिले रारा पुग्ने गरेका छन् ।

नेपालगन्जबाट सोझै जहाजमा रारा पुग्न सकिन्छ भने दैलेख, कालिकोट र जुम्ला भएर सडकमार्ग प्रयोग गरी दुई दिनमा रारा पुग्न सकिन्छ । रारासहित जुम्ला, नेपाली भाषाको उद्गम थलो सिञ्जामा समेत आन्तरिक पर्यटकको उल्लेखनीय रुपमा वृद्धि हुन थालेको व्यवसायीहरु बताउँछन् ।


क्लिकमान्डु