स्वीफ्ट प्रकरणः ३ कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग




काठमाडौं । एनआइसी एशिया बैंकको स्वीफ्ट प्रयोग गरेर विदेशका अन्य बैंक तथा वित्तीय संस्था रकम पठाएको प्रकरणमा सोही बैंकका ३ जना कर्मचारीको युजर नेम र पासवर्ड प्रयोग भएको देखिएको छ ।

नेपाल राष्ट्र बैंक र एनआइसी एशिया बैंकले गरेको प्रारम्भिक अनुसन्धानले यस्तो देखाएको हो । कात्तिक २ गते अर्थात तिहारको लक्ष्मी पूजाको दिन भएको सो प्रकरणमा बैंकका कर्मचारीको मिलोमतो हो वा असावधानीबस यस्तो भएको हो भन्ने यकिन भने भएको छैन ।

प्रारम्भिक अनुसन्धानले स्वीफ्टमा कसैले अनधिकृत प्रवेश गरेर एनआइसी एशिया बैंकको कुनै खातामा रहेको रकम अर्काे बैंक वा खातामा सारेको भने पाइएन । स्रोतका अनुसार सो बैंकका कर्मचारीले नै प्रयोग गर्ने युजर नेम र पासवर्ड प्रयोग गरेर एनआइसी एशिया बैंकको बिदेशी बैंक तथा वित्तीय संस्थामा रहेको रकम चोरी भएको थियो ।

प्रारम्भिक अनुसन्धान अनुसार एनआइसी एशिया बैंकको विभिन्न विदेशी बैंकमा रहेको ४१ करोड रुपैयाँ अन्य खातामा सार्न स्वीफ्ट मार्फत अर्डर दिइएको थियो । तर, बैंकले सार्बजनिक विदा भएपनि लक्ष्मी पूजाको दिन नै आफ्नो स्वीफ्ट खोलेर हेर्दा अनधिकृत कारोबार भएको शंका लागेपछि स्वीफ्ट सर्भर नै डाउन गरेर स्वीफ्ट मार्फत हुने सबै कारोबार बन्द गरेको थियो ।

बैंकले स्वीफ्ट मार्फत आफ्नो खाताको रकम चोरी भएको तत्काल थाहा पाएकोले धेरै रकम चोरी हुनबाट बचेको छ । चोरी भएको रकम पनि राष्ट्र बैंकको सहयोगमा केही रकम फिर्ता भइसकेको र केही फिर्ताको प्रक्रियामा रहेको बताइएको छ ।

स्रोतका अनुसार ४१ करोड रुपैयाँ बराबरको रकम अर्काे बैंक खातामा सार्न अर्डर गएको भएपनि करिब १० करोड रुपैयाँ जति अर्काे बैंक खातामा सारिसकिएको थियो । अर्थात बैंकको १० करोड रुपैयाँ जति चोरी भइसकेको थियो ।

बैंकले स्वीफ्ट मार्फत आफ्नो खाताको रकम चोरी भएको तत्काल थाहा पाएकोले धेरै रकम चोरी हुनबाट बचेको छ । चोरी भएको रकम पनि राष्ट्र बैंकको सहयोगमा केही रकम फिर्ता भइसकेको र केही फिर्ताको प्रक्रियामा रहेको बताइएको छ ।

बैंक कर्मचारीको युजर नेम र पासवर्ड कसरी प्रयोग भयो भन्ने कुनै संकेत मिलेको छैन । स्वीफ्ट संचालन गर्ने कम्प्युटरमा इन्टरनेट चलाउन प्रतिबन्ध गर्ने गरिएको हुन्छ । यस्तो कम्प्युटरमा कुनै पनि प्रकारका इन्टरनेट ब्राउजरहरु राखिएको हुँदैन । यसकारण स्वीफ्ट चलाउने कर्मचारीलाई इमेल मार्फत मालवेयर पठाएर युजर नेम र पासवर्ड ह्याक गर्ने र सो सुचनाको आधारमा बद्मासी गर्ने सम्भावना कम हुने बैंकरहरु बताउँछन् ।

सो चोरी प्रकरणमा बैंक कर्मचारी नै संलग्नता छ भन्ने आधार पनि अहिलेसम्म नमिलेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । कर्मचारीको असाबधानीबस यस्तो दुर्घटना भएको हुन सक्ने शंका पनि गरिएको छ । अहिलेसम्म प्रारम्भिक अनुसन्धान मात्रै भएकोले यसै भएको हो भन्ने यकिन अझै हुन सकेको छैन ।


क्लिकमान्डु