अब विदेशबाट नेपालमा फोन गर्न सस्तो पर्ने




काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले अन्तराष्ट्रिय आगमन कलको इन्टरकनेक्सन शुल्क घटाउने तयारी शुरु गरेको छ । प्राधिकरणले विभिन्न टेलिकम कम्पनीको अन्तराष्ट्रिय गेटवेमार्फत आउने टेलिफोन कलको शुल्कलाई नियमन गरेर घटाउने तयारी गरेको हो ।

प्राधिकरणले यसको लागि आन्तरिकरुपमा अध्ययन शुरु गरेको जानकारी दिएको छ । प्राधिकरणका निर्देशक अम्बर स्थापितले विभिन्न मुलुकमा रहेको अन्तराष्ट्रिय आगमन कलको इन्टरकनेक्सन शुल्क र प्रकृयाहरुको बारेमा अध्ययन भईरहेको भन्दै नेपालमा पनि यसबारे पुन छलफल शुरु गर्न लागेको जानकारी दिए ।

‘हामीले इन्टरनेशनल इनकमिङ कल इन्टरकनेक्सन चार्ज कसरी घटाउन सकिन्छ भन्ने अध्ययन गरिरहेका छौं, छिटै सम्बन्धित कम्पनीहरुसँग छलफल गरेर निर्णयमा पुग्नेछौं,’ निर्देशक स्थापितले क्लिकमाण्डूलाई भने ।

उनकाअनुसार करिब १ वर्षअघि प्राधिकरणले परामर्शदाता सुनिल जाकिबन्जाद्धारा गराईएको अध्ययनको आधारमा निर्णय प्रकृया अगाडि बढाउनेछ ।

‘हामी ४ देखि ५ वर्षमा यसको शुल्कलाई १ रुपैयाँ ८० पैसामा झार्ने गरि प्रयास गरिरहेका छौं,’ उनले भने ।

‘हामी ४ देखि ५ वर्षमा यसको शुल्कलाई १ रुपैयाँ ८० पैसामा झार्ने गरि प्रयास गरिरहेका छौं,’

अब चाँडै नै यो विषयमा टेलिकम कम्पनीहरुसँग छलफल गरिने स्थापितले जानकारी दिए । यस्तो शुल्क घटेपछि विदेशबाट नेपालमा फोन गर्दा लाग्ने शुल्क कम हुनेछ ।

प्राधिकरणले हाल इन्टरकनेक्सन निर्देशिका २०६५ को आधारमा टेलिकम कम्पनीहरुलाई नै अन्तराष्ट्रिय कलको इन्टरकनेक्सन शुल्क निर्धारण गर्न छुट दिएको छ । सो निर्देशिकाअनुसार अन्तराष्ट्रिय आगमन करमा इन्टरनेशनल टर्मिनेशन शुल्क प्रतिमिनेट १ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

तर त्यति बेला नै प्राधिकरणले सो शुल्क निर्धारण गर्न खोज्दा विरोध भएपछि लागू गर्न सकेको थिएन् । त्यसबेला नै टेलिकम अपरेटरहरुले आम्दानीको मुख्य स्रोत अन्तराष्ट्रिय आगमन कल भएको भन्दै यसको शुल्क घटाउन नहुने भन्दै विरोध गरेका थिए ।

त्यसैले त्यतिबेला नै प्राधिकरणले निर्देशिकामा थप व्यवस्था गरेर टेलिकम कम्पनीहरुलाई नै इन्टरकनेक्सन शुल्क निर्धारण गर्न छुट दिएको थियो । निर्देशिकाको दफा १६.४ मा नै अपरेटरहरुले आपसी समझदारीमा इन्टरकनेक्सन चार्ज निर्धारण गर्न सक्ने उल्लेख छ । तर त्यसमा पनि १ रुपैया ८० पैसा भन्दा बढि हुन नहुने लेखिएको छ ।

प्राधिकरणका अध्यक्ष दिगम्बर झाले त्यसबेला नै विवादित भएको इन्टरकनेक्सन शुल्कको बारेमा फेरि अध्ययन गरेर प्रतिस्पर्धामा झार्न सकिने बताए । यसलाई सिधै नियमन गर्नेभन्दा पनि कम्पनीहरुबीचमा प्रतिस्पर्धा गरेर कम गर्न सकिने उनको दाबी छ ।

‘इन्टरनेशनल कलमा कम्पनीहरुबीच प्रतिस्पर्धा भयो भने आफैं शुल्क कम हुन्छ, नत्र एकै पटक शुल्क घटाउँदा राजस्वमा कमी आउने र इण्डियातर्फ कल डाइभर्ट हुनसक्छ,’ प्राधिकरण अध्यक्ष झाले क्लिकमाण्डूसँग भने ।

झाले अझैपनि विभिन्न कम्पनीहरुबीच इन्टरकनेक्सनको बारेमा विवाद रहेको भन्दै सस्तो गेटवेबाट आउने कललाई भित्र्याउन कम्पनीहरुलाई उत्साहित गराउनुपर्ने स्पष्ट पारे ।

पछिल्ला दिनहरुमा सस्तो डाटा सर्भिसका कारण ओभर दि टप अर्थात ओटिटि सेवाहरुको प्रयोग बढिरहेको सन्दर्भमा अन्तराष्ट्रिय आगमन कलको इन्टरकनेक्सन शुल्क स्वत घट्दै जाने प्राधिकरणको ठहर छ ।

अन्तराष्ट्रिय आगमन कलमा एउटा टेलिकम अपरेटरको गेट्वेबाट अर्को कम्पनीको नेटवर्कमा कल जाँदा लाग्ने शुल्कलाई इन्टरकनेक्सन शुल्क भनिन्छ । यस्तो शुल्क अधिक हुँदा विदेशबाट नेपालमा गरिने टेलिफोन कलको शुल्क पनि अधिक हुने गर्दछ । अन्तराष्ट्रिय कलको लागि विभिन्न अन्तराष्ट्रिय कम्पनीहरुले एजेन्टको रुपमा चर्को शुल्क निर्धारण गर्नेहुँदा यसको प्रत्यक्ष मार टेलिफोनकर्तालाई पर्न जान्छ ।

हाल नेपालमा नेपाल टेलिकम, एनसेल, यूटिएल र स्मार्ट टेलिकमले अन्तराष्ट्रिय आगमन कलको लागि गेट्वे प्रयोग गर्दै आएका छन् ।


क्लिकमान्डु