छठ पर्वको लागि सिँगारिँदै छन वीरगञ्जका पोखरीहरु



फाइल

वीरगञ्ज । लोक आस्थाको पर्वका रुपमा रहेको छठको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । वीरगञ्जका विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरुपमा सिङ्गार्ने काम भइरहेको छ ।

कतिपय पोखरी घाटहरुमा सरसफाइसमेत गरिएको छ । तराईमा छठको छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेका सरोवरहरु घडिअडवा, नगवापोखरी, छपकैया, श्रीपुर, रानीघाटसहितको पोखरीलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाई तथा सजाउने काम भइरहेको छ ।

स्थानीयवासीका अनुसार प्रत्येक वर्ष छठ मनाउनेको संख्यामा वृद्धि भइरहेकाले छठका लागि आवश्यक पर्ने सामानाको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ ।

स्थानीयवासीका अनुसार विगतभन्दा यस वर्ष छठमा आवश्यक पर्ने सामानको मूल्य निकै वृद्धि भएको छ ।

यसवर्ष कात्तिक ७ गते सूर्यषष्टी अर्थात् छठ पर्व प्रारम्भ हुनेछन् । छठको पहिलो दिन व्रतीहरु गरी छठ पर्व आरम्भ गर्छन् ।

छठको दोस्रो दिन खरना विधि गरिएको छ । खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ । खरनाका दिन राति गाईको गोबरको लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीहरु दिनभरि उपवास बस्ने गर्छन् ।

बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सख्खर, दूध र चामलको खिर पकाइन्छ ।

यस्तो खिर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ  र चढाइसकेपछि व्रतीले प्रसादका रुपमा ग्रहण गर्छन् । यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रुपमा ग्रहण गर्ने चलन रहेको छ ।

अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रतालुले रातभरि जाग्रामा बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ दिएर व्रत समाप्त गर्छन् । पारिवारिक सुख शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा भीड लाग्ने गर्छ ।

सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको व्रती सुधा कर्णले बताइन् ।

ज्योतिष शास्त्रका आधारमा छठ पर्वको समयमा ब्रह्माण्डमा सूर्य दक्षिणायनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्य प्रकाश प्रखर तथा प्रभावकारी र मानवका लागि आल्हादकारीसमेत मानिएको छ ।

छठको तयारीमा रहेका श्रद्धालुले एक महिनाअघिदेखि नै बजारमा किनमेल गर्ने गर्छन् ।

छठ पर्वको मुख्य प्रसादका रुपमा रहेको केरा फूलफूल, मिठाइ, अदुवा उखुलगायत बाँसबाट बनेका अन्य सामग्रीको किनमेल  गर्ने गरेको पाइन्छ ।

छठ पूजाका लागि नगर क्षेत्रका विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । छठ घाटमा सुरक्षाका लागि थप प्रहरी परिचालन गरिने छन् ।

चारदिनसम्म मनाइने यो पर्वमा व्रती महिलाले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर आदि परित्याग गरी व्रत बस्ने गरिन्छ ।

महाभारतअनुसार द्रौपदीसहित पाँच पाण्डवहरु अज्ञात बासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्य देवतालाई आराधना गरेको उल्लेख गरिएको छ उक्त समय पाण्डवहरु मिथिलाको किरात राजाका राज्यमा बास बसेका थिए । लोकगाथाअनुसार गुप्तबास सफल भएपछि सो समयदेखि छठ पर्व मनाउने परम्परा चलिआएको देखिन्छ ।

अर्को तिर सूर्यपुराणअनुसार सर्वप्रथम अत्रिमूनिका पत्नी अनसुइयाले छठ व्रत गरेपश्चात् अटल शौभाग्य र इच्छा पूरा भएपछि त्यही दिनदेखि छठपर्वको शुरुवात भएको भनिन्छ ।

सातौँ शताब्दीमा श्रापबाट पीडित प्रसिद्ध कवि मधुर भट्टले सूर्यको उपासनापश्चत् सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गरेकाले त्यही दिनदेखि सूर्यको आराधना प्रारम्भ भएको जनविश्वास रहेको छ ।

छठपर्वको मनाउनेको पछाडी धार्मिक मान्यता, वैज्ञानिक, ज्योतिषसम्बन्धी तत्वहरु पनि त्यत्तिकै महत्व राख्छ । जसअनुसार सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि महत्वपूर्ण ठानिन्छ ।

भनिन्छ भौतिक विकास सूर्यमाथि नै आधारित भएकाले रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु सबैको अस्तित्व सबै सूर्यमाथि निर्भर भएको हुन्छ । भनिन्छ छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएकाले संसारमा यही एउटा पर्व हो जसमा भिक्षा मागेर पनि सूर्यलाई पूजा गर्ने परम्परा चलिआएको छ ।


क्लिकमान्डु