म उपाध्यक्ष नै रहदा सहमति बन्छ भन्ने भएपछि उपाध्यक्षमा दोहोर्याएँः कुमार पन्त



गैरआवाशीय नेपाली संघ (एनआरएनए) को अधिबेशन नजिकै आएको छ । अधिबेशनको मिति जति नजिकिदैछ, त्यति नै यसको चुनाबी सरगर्मी पनि बढ्दैछ । सुरुमा एनआरएनएको अध्यक्ष पदका उम्मेदवार भनेर चर्चा गरिएका कुमार पन्त पछि उपाध्यक्ष पदमै पुन उम्मेदवार बनेका छन् । एनआरएन अभियानमा सक्रिय पन्त संघको बर्तमान उपाध्यक्ष हुन भने यसअघि उनी महासचिब थिए । पन्तसँग उनको चुनाबी एजेन्डा, एनआरएनएको अबको गन्तब्य र अन्य पक्षबारे क्लिकमाण्डूले गरेको कुराकानीः

अध्यक्षमा उठ्ने चर्चा गर्नुभयो, तर, पुनःउपाध्यक्षमा दोहर्याउने निर्णयमा किन पुग्नुभयो ?
म आफुले अध्यक्षमा उठ्ने भनेर कहीपनि भनेको थिएन । विभिन्न देशका साथीहरुले अध्यक्षमा उठ्नुपर्छ भन्नु भएको थियो । म एनआरएनएको अभियाननमा आइसिसी सदस्यदेखि युरोप संयोजक, महासचिव हुँदै उपाध्यक्ष भएको हो । उपाध्यक्ष भएपछि अध्यक्षमा जानुहोस् भनेर धेरै साथीहरुले भन्नुभयो ।

यो सामाजिक संस्था हो । मिलेर काम गर्ने संस्था हो । यसमा धेरै तक्मा बोकेर हिड्ने संस्था हो । म आफु अध्यक्ष नहुँदा पनि केही हुँदैनथ्यो । सहमतिको लागि म पुनः उपाध्यक्षमा जादा पनि हुन्छ भन्न लागेर उपाध्यक्षमा उम्मेद्वारी दिने निर्णयमा पुगे ।

मिलेरै काम गर्न अध्यक्षमा उम्मेद्वारी नदिनु भएको हो ?
काम गर्ने व्यक्तिलाई पदले मात्र काम गर्नको लागि रोक्दैन । यो सामाजिक संस्था हो । सामाजिक संस्थामा अध्यक्ष हुँदा मात्रै काम गर्न सकिने पनि होइन । हाम्रो विधानले पनि दुई पटकसम्म एउटै पदमा बस्न पाउने व्यवस्था गरेको छ । संस्थामा म उपाध्यक्ष बन्दा सहमति हुने अबस्था आयो । यसैकारण फेरि उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरें ।

त्यो बेला सबै दलहरुले हस्ताक्षर गरेर दिनुपरेपनि दिन्छु भन्नुभयो । व्यवहारमा भने त्यो देखिएन ।

तपाई उपाध्यक्ष भएर के काम गर्न पाउनु भएन र फेरि उपाध्यक्षमा उम्मेद्वारी दिन लाग्नुभयो ?
यो एउटा अभियान हो । यसका कार्ययोजना फिक्स्ड छन् । कोही आएर चन्द्रमामा रकेट पुर्याउछु भन्यो भने त्यो हावादारी कुरा हुन्छ । नेपाललाई धनी बनाउने जुन सपना छ त्यो पुरा गर्नुपर्ने छ । सम्बृद्ध र धनी नेपाल बनाउनको लागि यहाँ लगानीको आवश्यकता छ । यसको लागि पुँजी आवश्यक छ । पुँजीभन्दा हामीले विदेशमा सिकेको ज्ञान र शीपको आवश्यकता छ । खाडी र मलेसियाको विकासमा नेपाली कामदारको महत्वपूर्ण योगदान छ । त्यो योगदानलाई नेपालकै विकासमा सदुपयोग गर्नुपर्ने आवश्यकता छ ।

नेपालीहरु एक दिन नेपाल फर्कनुपर्छ । खाडी र मलेसियामा काम गर्ने धेरै अदक्ष कामदार छन् । अहिले अष्टे«लियामा ७ हजार डाक्टर र १५ हजार इन्जिनियर छन् । उनीहरुले सिकेको शीप र प्रविधिलाई यहाँ भित्राउन जरुरी रहेको छ । त्यसको लागि एनआरएनएले भूमिका निर्वाह गर्नसक्छ । त्यसका लागि बाँकी काम टुंगोमा पुर्याउनु पर्ने आवश्यकता महसुस गरेर मैले फेरि पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको हूँ ।

तर, शीप र प्रविधि भित्रिएको त देखिएन नि ?
आजको दिनसम्म गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई यहाँसम्म ल्याउन धेरै काम गर्नु परेको छ । सुरुको दिनमा यसलाई धनीहरुको संस्था हो भन्ने गरी बुझिएको थियो । विदेशमा सामान्य रोजगारी गर्नेहरु किन सदस्य बन्ने भन्ने थियो । आजको दिनमा ६५ देखि ७० हजार हाराहारीमा हाम्रो पन्जिकृत सदस्य भइसकेका छन् । ७८ देशमा यसको संगठन विस्तार भएको छ । संस्थाले ब्यापकता पाएको छ ।

यो कोर्स निकै ठूलो भइसकेको छ । यसले विकासको क्षेत्रमा प्राविधिक ट्रान्सफरको क्षेत्रमा निकै ठूलो काम गरेको छ । भूकम्प र नाकाबन्दी नभएको भए हामीले धेरै काम गर्न सक्थ्यौं । यस्तो प्रतिकूलताका बीच पनि केही काम गर्न सकेका छौं । हामी अहिले सामाजिक क्षेत्रमा बढी फोकस भएका छौ ।

एनआरएनए भित्र विभिन्न बर्ग छ भनिन्छ, खासमा यो संस्थाले कुन बर्गको प्रतिनिधित्व गर्छ ?

एनआरएनए कुन वर्गको लागि हो भन्ने प्रश्न गलत हो । यसमा धनीपनि चाहिन्छ र बौद्धिक समुदायको पनि ठूलो सहयोग चाहिन्छ । यो सबैको अभियान हो ।

श्रमिक र धनी सबैलाई चाहिने संस्था कसरी बनाउन सक्नुहुन्छ ?
यो सबैको संस्था हुन्छ । धनी व्यक्तिले ठूलो लगानी यहाँ ल्याउन सक्छ । श्रमिकले सिकेको सिप यहाँ ल्याउने गर्छ । हामीले सामाजिक क्षेत्रमा यहाँ मात्र काम गरेका छैनौ । विदेशमा पनि हामीले काम गरेका छौं । आज ७८ वटा देशमा हाम्रो सन्जाल विस्तार भएको छ । विदेशमा दुःख पाएका साथीहरुलाई सहयोग गरेका छौं ।

हामीले श्रमिक कोष खडा गरेका छौं । श्रमिकको हितको लागि कोष खडा भएको छ । यसमा धनी साथीहरुले पैसा हाल्नु भएको छ । विषय विज्ञ साथीहरुले बौद्धिक खालको योगदान दिनुभएको छ । अर्थात जोसँग जेजस्तो सम्पत्ति वा विज्ञता छ, एनआरएनएले त्यो सम्पत्ति वा विज्ञतालाई नेपालसँग जोड्न सकेको छ ।

विदेशमा बस्ने नेपालीहरुको विभिन्न खालका समस्या छन् यी सबै समस्या समाधानमा एनआरएनए कसरी सहयोगी हुन्छ ?

हामी धनी भएको भए केही समस्या आउने थिएन । आजको दिनमा गैरआवासीय अमेरिकी संघ भन्ने हुँदैन । विदेश जाने गरीब देशबाट हो । त्यसपछि विदेशमा विद्यार्थीहरुको आफ्नो समस्या छ, श्रमिकको आफ्ना खालका समस्या छन् । व्यवसायीका आफ्नै समस्या छन् ।

गैरआवासीय नेपाली संघ सामाजिक संस्था हो । बाहिर हाम्रो पहिलो पुस्ता हो । सबैले सघर्ष गरिरहेका छन् । स्थापित भएका केही साथीहरु पनि कडा संघर्षपछि यो अबस्थामा आइपुगेका हुन् । एनआरएनएले सबैको सबै समस्या समाधान गर्न सक्छ भनियो भने गलत हुन्छ । ५ वर्ष अगाडि हामीले जे सहयोग गरेका छौ । आजको दिनमा गर्ने त्यस्तो सहयोग बढेर गएको छ । सबै काम एनआरएनए गर्छ भन्ने हुँदैन ।

भिजन २०२० को संस्थागत संरचनाको बिषय विवादमा आएको छ, किन ?
एनआरएनए अहिले राम्रो फल लाग्ने बोट भएको छ । यसमा अनावश्यक विवाद आएको छ । संस्थालाई समय अनुसार परिवर्तन गर्नुपर्छ । त्यसको लागि भिजन २०२० आएको हो । यो प्रस्तावको रुपमा आएको छ । त्यो आउने क्रममा छ । यो प्रस्ताव विश्व सम्मेलनमा प्रस्तुत हुन्छ । निर्णय गर्ने काम सम्मेलनले गर्छ । सांगठिन संरचनामा परिवर्तन गर्नको लागि ल्याइएको छ । यो पारित हुनपनि सक्छ नहुँनपनि सक्छ । यसमा विवाद छैन ।

तपाई यसको पक्षमा कि विपक्षमा ?
समय अनुसार संगठनलाई परिवर्तन गर्नुपर्छ । मेरा सुझावहरु मैले राखेको छु । त्यस आधारमा तपाईले मलाई यसको पक्षमा पनि भन्न सक्नुहुन्छ, विपक्षमा पनि भन्न सक्नुहुन्छ । परिमार्जन सहित यसलाई पारित गर्नुपर्छ भन्ने मेरो धारणा हो ।

सन् २००३ देखि सुरु भएको एनआरएन अभियानभित्र नेपालमा हुने दलगत र जातिगत नै राजनीति देखियो, तपाईहरुले नयाँ कुरा सिकाउनेभन्दा पनि यहीका खराब कुरा नै अनुसरण गर्नु भएन ?
कहिले काही साथीहरुले सोध्नुहुन्छ कि यहाँभित्रको मुख्य समस्या के हो भनेर । मैले उहाँहरुलाई एनआरएन अभियान भित्रको समस्यामा तपाइले अहिले उठाउनु भएकै बिषय पर्छ भनेर भन्ने गरेको छु । चारवर्ष अगाडि महासचिव निर्वाचित भएपछि मैले मुख्य राजनीति दलमा निवेदन दिएर एनआरएनए भित्र राजनीति नघुसाइ दिनुस् भनेर गएको थिए । मैले संस्थामा राजनीति नगर्नको लागि आग्रह गरेको थिए । राजनीति भएन भने विदेशमा बस्ने सबै नेपाली अटाउन सक्छन् । संस्था बलियो भएर आउने छ ।

त्यो बेला सबै दलहरुले हस्ताक्षर गरेर दिनुपरेपनि दिन्छु भन्नुभयो । व्यवहारमा भने त्यो देखिएन ।

समस्या राजनीति दलबाट मात्र सिर्जना भएको होइन । समस्या हामीबाट पनि भएको हो । हामी पहिलो पुस्ताका व्यक्तिहरु यहीको राजनीति देखेर गएको हो । यहीको राजनीतिक प्रभाव परेको हो । समग्रमा यसलाई समाधान गर्न नसक्ने स्थितीमा नभएको हो । म साथीहरुलाई पनि राजनीति र जातिगत रुपमा नजानको लागि आग्रह गर्छु । नेपालकै समाजको प्रभाव एनआरएन अभियानमा परेको हो । हाम्रो समाजमा दल विहिन व्यक्ति पाउन सजिलो छैन ।

चुनाव त जितिन्छ नि ?
चुनाव लड्ने व्यक्ति चुनाव जित्नको लागि लड्ने हो । साथीहरुबाट विश्वास भएन र नतिजा आफ्नो पक्षमा नआएपनि म एनआरएन अभियानमा सक्रिय नै हुन्छु ।


क्लिकमान्डु