चाडपर्वमा आरामले घर जान सकिने, नारायणगढ मुग्लिन सडक सहज बन्यो



फाइल

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड सहज बनेसँगै राजधानीमा रहेर चाडपर्व मनाउन बाहिरिनुपर्ने र राजधानीसहित अन्य जिल्ला जानुपर्ने यात्रु लाभान्वित भएका छन् ।

विस्तारका क्रममा रहेको सो सडकका ठाउँ–ठाउँमा पहिरो खसेपछि घण्टौँसम्म यात्रुले सडकमा बिताउनुपर्ने अवस्था थियो । सरकारी तवरबाट चाडपर्वलाई लक्षित गरी नारायणगढ मुग्लिन सडकलाई यातायात सहज बनाउन विशेष निर्देशनसँगै गत एक साता यता यात्रुले सडक सहज रुपमा पार गर्न सकेका छन् ।

यसअघि दुई दिनसम्म सडकमा नै रात बिताउनु परेका चालकहरु एक घण्टा ३० मिनेट देखि २ घण्टा ३० मिनेटसम्ममा सडक पार गर्न सकेपछि खुशी पनि भएका छन् । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका ना१७च ५२३५ नंको कारका चालक सुवास गहतराजले एक घण्टा ३० मिनेटमा मुग्लिनबाट आँपटारी आइपुगेको बताए ।

भरतपुरको आँपटारीमा गहतराजको पछिपछि आएको बा२ख ५१७ नंको माइक्रोका चालक माइला महर्जनलाई यो सडक पार गर्न दुई घण्टा लाग्यो । त्यसको पछि पछि आइरहेको ना६ख २४१० नंको ट्रकका चालक पुनराम विकलाई मुग्लिनबाट नारायणगढसम्म आइपुग्न २ घण्टा ३० मिनेट लागेको बताए ।

‘उहाँहरु सबै काठमाडौँबाट आउनुभएको हो । सबैको एउटै भनाइ थियो, ‘सडकको जाम त हट्यो खाल्डाखुल्डी पुर्नुपर्यो,’ उनले भने ।

गत भदौ २७ गते भौतिक पूर्बाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङले सो सडकको निरीक्षण गरी चाडपर्वलाई लक्षित गरेर सडक सहज बनाउन निर्देशन दिइन् । साउन महिनाभित्र खाल्डा पुर्ने, सडक छेउमा खसेका पहिरो सफा गरी सडकमा सवारी आवागमन सहज बनाउन उनले निर्देशन पनि दिएका थिए ।

सोहि दिन राति सडकमा पहिरो खसेपछि मध्यरातसम्म सडक अवरुद्ध बनेको थियो । त्यस यता सडकमा पहिरो पनि खसेको छैन ।

नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार भदौ २७ गते यता सडकमा पहिरो खसेको छैन । त्यसको भोलिपल्टबाट रातमा समेत सडक सञ्चालनमा ल्याइएको छ । त्यसयता सडकका कारण यात्रुले कठिनाइ भोग्नु नपरेको खनालले बताए । दाशढुङ्गामा कालोपत्र गर्ने काम भइरहेको भए पनि सवारी आवागमनमा कुनै कठिनाइ नपरेको उनले बताए ।

खाल्डाखुल्डी पुर्ने काम भइरहेको भन्दै उनले धुलो उडेका ठाउँमा आठवटा ट्याङ्कर प्रयोग गरी पानी छर्कने काम पनि भइरहेको बताए । सो सडकको ३६ किमी क्षेत्र मध्ये हाल विस्तारमा रहेको ६ किलो ५०० मिटर सडकको पहिलो तह कालोपत्र भइसकेको छ । सडकको सबै स्थानमा दुईतर्फी आवागमन गर्न मिल्ने भएकाले यात्रुलाई दुःख कम भएको खनालले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार नारायणगढ मुग्लिन सडक पार गर्नुपर्ने यात्रुले डराउनुपर्ने अवस्था अहिले रहेको छैन । पहिरो खस्न सक्ने सम्भावना सडकमा रहे पनि तत्काल हटाउने व्यवस्था भएकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । सडकमा गाडी बिग्रिएमा किनारा लगाउन, जाम भएमा सहज बनाउन, रात र दिनमा सुरक्षा दिन प्रहरी परिचालन गरिएको छ भने केहि सुरक्षाकर्मीलाई तैनाथी अवस्थामा पनि राखिएको प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

चाडपर्वका समयमा सो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारीसाधन गुड्ने गर्दछन् ।


क्लिकमान्डु