सवारी साधनबाट २० अर्ब राजस्व



काठमाडौं । पछिल्लो चार वर्षमा सवारी राजस्व झण्डै तेब्बरले वृद्धि भएको छ । सवारीसाधन भित्रिएपछि त्यसबापत सरकारले आर्थिक वर्ष २०७३/७४ मा २० अर्ब ३२ करोड २९ लाख ६२ हजार रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै ०७०/७१ मा ८ अर्ब ६० करोड ५९ लाख ९१ हजार रुपैयाँ उठाएको थियो ।

सवारी राजस्वमा सवारी साधन कर, सडक निर्माण तथा सम्भार दस्तुर, सवारीचालक अनुमतिपत्र र सवारी इजाजत दस्तुर, यातायात क्षेत्रको आम्दानी, प्रशाननिक दण्ड जरिवाना र प्रशासनिक सेवा शुल्क शिर्षकमा रकम उठाउँदै आएको छ ।

समग्रमा भन्सार सहितको सवारी राजस्व भने १ खर्ब रुपैयाँभन्दा बढी रुपैयाँ सवारी साधानबाट राज्यले प्राप्त गर्दै छ ।

सवारी राजस्व बढ्नुको मुख्य कारण सवारी साधनको आयातमा भएको उल्लेख्य वृद्धि र गत वर्ष सरकारले सवारी साधनमा लाग्दै आएको करमा गरेको बढोत्तरीलाई मानिएको छ ।

०७३/७४ मा देशभर ४ लाख ४४ हजार २ सय ५९ वटा सवारी दर्ता भएकोमा ४ वर्षअघि ०७०/७१ मा १ लाख ९८ हजार ३ सय ४३ वटा सवारी दर्ता भएका थिए ।

०७३/७४ मा २० अर्ब ३२ करोड २९ लाख ६२ हजार रुपैयाँ संकलन हुँदा ०७०/७१ मा ८ अर्ब ६० करोड ५९ लाख ९१ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

यस्तै, ०७१/७२ मा देशभर २ लाख ३९ हजार ५ सय ८३ सवारीसाधन दर्ता भएका छन् । उक्त आवमा सरकारले १२ अर्ब १५ करोड ५४ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । देशभर सबैभन्दा धेरै दुईपांग्रे सवारी मोटरसाइकल दर्ता हुने गरेको छ ।

०७०/७१ मा १ लाख ६३ हजार ९ सय ४५ मोटरसाइकल दर्ता भएकोमा ०७३/७४ मा ३ लाख ५४ हजार ७१ पुगेको यातायात व्यवस्था विभागले सार्वजनिक गरेको तथ्यांकमा छ ।

सवारीसाधनको तर्फको कर तथा गैरकर राजस्व बढ्नुको मुख्य कारण यसअघि लाग्दै आएको दरमा गरिएको वृद्धि भएको विभागको भनाइ छ ।

७३/७४ को सुरुदेखि लागू हुनेगरी गरिएको गैरकर राजस्व बढेकाले उक्त वर्ष राजस्व संकलमा समेत धेरै वृद्धि भएको विभागको भनाई छ ।

सवारी क्षेत्रको राजस्व वृद्धि हुनुमा ०७१/७२ देखि लागू हुने गरी गरिएको सडक सम्भार दस्तुर बढ्नु पनि हो । सरकारले सानारठूला सवारीमा सवारी मूल्यको पाँच प्रतिशत र दुईपांग्रे सवारीमा ३ देखि १० हजार रुपैयाँसम्म सडक सम्भार दस्तुर लिँदै आएको छ ।

यो दर आर्थिक वर्ष २०७३/७४ मा पुनः वृद्धि गरिएको थियो । ०७०/७१ मा ८ अर्ब ६० करोड ५९ लाख ९१ हजार राजस्व संकलन भएकोमा सडक सम्भार दस्तुर लगायतमा भएको वृद्धिले ०७१/७२ मा राजस्व संकलन बढेर १२ अर्ब १५ करोड ५४ लाख ९० हजार रुपैयाँ पुगेको हो ।

सार्वजनिक सवारीको भन्सारदर कम भएपनि अन्य साना सवारीको भन्दा दर सवारी मूल्यको २ सय ४० प्रतिशतसम्म शुल्क लाग्दै आएको छ । सरकारले यस्ता सवारीलाई विलासिताको साधनको रुपमा राखेको छ । त्यस्तै दुईपांग्रे सवारीमा भने करिब ८० प्रतिशत भन्सार लाग्ने गरेको छ ।


पुष्प दुलाल