फेसबुकमा ‘जथाभाबी’ समाचार किन आउँछन् ?
बेलायती भेटरान पत्रकार जोन स्नो बुधवार एक सार्वजनिक कार्यक्रममा फेसबुकमाथि खनिए । फेसबुकका ‘फेक’ समाचारलाई क्यान्सरको संज्ञा दिँदै स्नोले यो प्रजातन्त्र माथिको ठूलो चुनौती हो भने ।
स्नोको आक्रोसलाई बल पुर्याउने थुप्रै तर्क र तथ्यहरू हामीसँग छन् । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको जित सम्भव बनाउन फेसबुकका फेक न्युजहरूको जोड बल रह्यो । युरोपियन युनियनबाट बेलायत छुट्टिने जनमत संग्रहमा पनि फेसबुकको ‘फेक पावर’ हाबी भयो । यस्तै यस्तै ।
१३ वर्ष अगाडि २० वर्षे ठिटोले सुरू गरेको फेसबुकले अहिले विश्व राजनीति खलबलाउने क्षमता राख्छ । पुँजी र आम्दानीका हिसाबले संसारकै बलिया कम्पनीहरूमध्ये पर्दछ । सडकको मान्छेलाई महल र महलको मान्छेलाई सडकमा पुर्याउन सक्ने ‘पावर’ फेसबुक लगायतका सामाजिक सञ्जालसँग छ । अर्थ र राजनीतिको मात्र के कुरा, तपाई हाम्रो घर-परिवार र सम्बन्धहरू जोड्ने वा छुट्टाउने सम्मको शक्ति फेसबुकले आर्जन गरी सकेको छ । अहिले विश्वका २ अर्ब व्यक्तिले फेसबुक चलाउँछन् ।
के हो फेक न्युज ?
गत वर्ष नेपाली इन्टरनेट प्रयोगकर्तामाझ एउटा सन्सनीपूर्ण समाचार फैलियो – चर्चित उद्योगी विनोद चौधरीको लन्डनमा निधन । यसैवर्ष राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधनको खबर स्वमं घिमिरेले पढ्न पाए । सन २०१० मा मेक्सिकोमा भएको भुकम्पको भिडियोले सन २०१५ मा नेपालको भुकम्प भन्दै संसारभर सन्सनी मच्चाइयो । यसबारे बिबिसीले समाचार प्रकाशित गरेको थियो ।
यस्ता हजारौं गलत समाचार हरेक दिन लाखौं सङ्ख्यामा फैलिन्छन् । कतिपय सामान्य प्रकृतिका हुन्छन् त कतिपयले ज्यादै ठुलो क्षति निम्ताउँछन् ।
त्यसो त फेक न्युजको इतिहास सामाजिक सञ्जाल भन्दा धेरै नै पुरानो छ । शक्ति आर्जन गर्न र अरूलाई प्रभाव पार्न परापुर्व कालदेखि नै फेक न्युज प्रभावमा थिए । विश्वयुद्द ताका बेलायतीले ‘गोर्खालीले जिउँदो मान्छेको मासु खान्छन’ भनेर ससनसनी मच्चाएका थिए । अमेरिकी प्रेस सन १९०० को पहिलो दशकमा भएको ‘पीत पत्रकारिता’ का लागि सँधै सम्झनामा छ ।
कसरी बन्छन् फेसबुकमा समाचार ?
फेसबुक सिएनएन, बिबिसी वा नेपाल टेलिभिजन जस्तो समाचार उत्पादन गर्ने कम्पनी हैन् । फेसबुक भनेको चौतारी वा पँधेरामा हुने छलफल जस्तै हो । सबै सूचना, सबै तर्क सहि वा राम्रो प्रयोजनका लागि नै आउँछन् भन्ने छैन् । यसमा समाचार सहि वा गलत भन्ने ठहर गर्ने सम्पादकीय प्रकृया नै हुँदैन् । फेसबुकमा समाचार लेख्नेहरू तपाई हामीजस्तै हुन् जसले सूचना त बाढ्छन् तर सहि गलत ठहर गर्ने पेशा अगालेका हुँदैनन् । व्यक्तिले तयार पारेका सूचनालाई केही विशेष परिस्थितीमा बाहेक फेसबुकले नियन्त्रण गर्दैन् ।
फेसबुकमा समाचार लेख्नेहरू तपाई हामीजस्तै हुन् जसले सूचना त बाढ्छन् तर सहि गलत ठहर गर्ने पेशा अगालेका हुँदैनन् ।
भर्चुवल समुदाय
फेसबुकमा अहिले करोडौं भर्चुवल समुदाय छन् । हामी आफ्ना छिमेकीसँग, आफ्नो सानो समुदायमा जसरी कुराकानी गर्छौं, सुख-दुख, अनुभव, अनुभूति बाँढ्छौं फेसबुकमा पनि गर्ने त्यही हो । फेसबुकका समुदाय भूगोल वा दुरीको आधारमा बन्दैनन्, यी त आफ्ना रूचि, पेशा, भाषा-संस्कृतिका आधारमा बनेका हुन्छन् । फोटोग्राफीको काम गर्ने नेपाली र अफ्रिकन एउटै समुदायमा हुन सक्छन् । गितारमा सौखिनहरूको अर्को समुदाय हुन सक्छ । कृर्षि पढाउने शिक्षकहरूले आफ्ना अनुभव र सीप आफ्नै समुदाय बनाएर बाँड्न सक्छन् ।
तपाइको फेसबुकमा अरबी भाषामा लेखिएको समाचार आएको छ? सायद छैन होला । किनकी तपाईको भर्चुवल समुदायमा अरबी भाषी वा चिनियाँ भाषी समेटिएका छैनन् । तपाईले फेसबुकमा जे जस्ता सूचना र सामाग्री आउँछन् ती तपाईको समुदायले नै उत्पादन गर्ने हो, अरूले बनाएर पठाउने होइन् । जुन दिनदेखि तपाई फेसबुकमा जोडिनु भयो, त्यसमा तपाइले कस्ता व्यक्तिलाई साथी बनाउनु भयो भन्ने कुराले नै तपाइको फेसबुक वालमा कस्ता सूचना आउने भन्ने निर्धारण हुन्छ ।
तपाइको फेसबुकमा अरबी भाषामा लेखिएको समाचार आएको छ? सायद छैन होला । किनकी तपाईको भर्चुवल समुदायमा अरबी भाषी वा चिनियाँ भाषी समेटिएका छैनन् ।
गतल समाचारका अनेक नियत ?
गलत समाचार एउटै नियतले फैलिन्छन् भन्ने छैन् । विज्ञापन वा अरू आर्थिक लाभ लिने, राजनीतिक र अरू लोकप्रियता हाँसिल गर्ने उदेश्यले यस्ता समाचार उत्पादन हुने गर्छन् । कतिपय समाचार मात्र हल्लीखल्ली मच्चाउने उदेश्यले बन्छन् । तथ्य र बुझाइको समस्याले गर्दा कतिपय समाचार भने राम्रो नियतले बनाइए पनि फेक न्युजका रूपमा फैलिन सक्छन् ।
को हुन्छन् फेक न्युजको सिकार ?
फेसबुकमा गलत सूचनाको सिकार बन्नेहरू सूचनाको स्रोत र नियतमाथि विश्लेषण गर्ने क्षमता (मिडिया लिट्रेसी/ इन्टरनेट लिट्रेसी) कमजोर भएकाहरू बढि पर्ने गर्दछन् । गलत नियतले तयार पारिएका सूचनाले यस्ता व्यक्तिलाई सजिलै प्रभावित पार्न सक्छ । हामी परम्परागत रेडियो, टिभी र पत्रिकाका समाचारमा विश्वास गर्ने बानी परेकाहरूले सामाजिक सञ्जालका समाचारलाई पनि त्यही रूपमा लिन्छौं । गत वर्ष अमेरिकामा पेव रिसर्च सेन्टरले गरेको अध्ययनमा ६५ प्रतिशत नागरिकले सामाजिक सञ्जालका फेक समाचारले आफूमा दुबिधा सिर्जना गर्ने बताएका थिए ।
६५ प्रतिशत नागरिकले सामाजिक सञ्जालका फेक समाचारले आफूमा दुबिधा सिर्जना गर्ने बताएका थिए ।
फेसबुकले व्यक्तिलाई मात्र होइन सरकारलाई पनि अप्ठेरो पारेको छ । सिरिया, इरान, चीन जस्ता देशमा फेसबुक पुरै प्रतिबन्धित छ । छिमेकी मुलुक भारतको काश्मीर क्षेत्र, बंगाल सरकारले दार्जिलिङमा पनि बेला बेला सामाजिक सञ्जाल माथि हस्तक्षेप गर्दै आएका छन् । त्यसो त समाचार मात्र होइन, सहि समाचारसँग पनि यस्ता सरकार तर्सिन्छन् ।
रेडियोको समाचार बुलेटिन जस्तो होइन, सामाजिक सञ्जालमा त निरन्तर बहस हुन्छ, तार्किक निष्कर्षमा नपुगी एउटै सूचनामा धारणा बनाउनु हुँदैन । यस्ता बहसमा आफूलाई चित्त नबुझ्ने तर्क र तथ्यलाई पनि सहज लिने र आफ्नो धारणा पनि राख्दै जाने हो । तर कतिपयले गलत नियतले बाडेका सूचना, समाचारमा भने जोगिन सक्नु पर्दछ नै ।
राम्रा कुरा धेरै छन्
सामाजिक सञ्जालमा नराम्रा भन्दा राम्रा कुराहरू धेरै हुन्छन् । नकारात्मक धारणा मात्र नबनाउनुहोस् । कतिपय नाम चलेका सञ्चार माध्यमले गरेका गलत सूचना प्रवाहमा सामाजिक सञ्जालले सच्याउने काम पनि गरेका हुन्छन् । मानवीय विपत्तिबाट जोगाउन रेडियो, टिभी र पत्रिका भन्दा सामाजिक सञ्जाल धेरै प्रभावकारी हुन्छन् । नेपालमा भूकम्प र बाढीको विपत्तीमा फेसबुक, ट्वीटरले ज्यादै राम्रो भुमिका खेलेका छन् ।
गलत समाचारबाट जोगिन के गर्ने ?
फेसबुकका सञ्चालक मार्क जुकरबर्ग अहिले फेक न्युजको समाधान निकाल्न पर्ने सम्बन्धी निकै दबाबमा छन् । यौनजन्य, हिंस्रक र अपराध उत्पेरित गर्ने खालका सामाग्रीमा फेसबुकले पहिले देखिनै नियन्त्रणको काम गर्दै आएको थियो । राजनीतिक, आर्थिक र सामाजिक विषयमा पनि जथाभाबी पोष्टलाई नियन्त्रण गर्ने गरी काम थालिएको जुकरबर्गले गत वर्ष घोषणा गरेका थिए । भनेका थिए – ‘हामी यसबारे अत्यन्त गम्भिर छौं ।’
यस्ता गलत सामाग्रीबाट जोगिन धेरै काम तपाई आफै पनि गर्न सक्नुहुन्छ । आफ्ना साथी थप गर्दा, फलो गर्दा ख्याल गर्नुहोस् । जथाभाबी अपरिचितलाई साथी नबनाउनुहोस् । तपाइको वालमा गलत सूचना, खासगरी यौनजन्य, हिंस्रक, उत्तेजक सामाग्री देखिएमा यस्तो पोष्ट सँगै दाँयापट्टी छेउँमा हुने सानो एरो थिच्नुहोस्, ‘रिपोर्ट दिस’ भन्ने थिचेर फेसबुकलाई रिपोर्ट गर्नुहोस् । यसले गर्दा त्यो पोस्ट अरू साथीहरूकोमा पुग्ने सम्भावना घट्दै जान्छ ।
सामाग्री राम्रोसँग नबुझी नहेरी सेयर र लाइक नगर्नुहोस् । तपाइले सेयर गरेपछी तपाइको समुदायमा यो फैलिँदै जान्छ । गलत सामग्री फैलाउन तपाई पनि जिम्मावार हुनुहुने छ । धेरै भ्रामक र गलत सूचना बाड्ने साथीलाई आफ्नो सूचिबाट हटाउने वा अनफलो गर्नुहोस् ।
- नचिनि साथी नबनाउने
- गलत समाचारको रिपोर्ट गर्ने
- जथाभावी लाइक र सेयर नगर्ने
- गलत साथीलाई अनफलो वा ब्लक गर्ने
- भरपर्दा समाचार संस्था र पत्रकारलाई फलो गर्ने
- अरूका कुरा पनि सुनेर धारणा बनाउनु होस्
गलत सूचना विरुद् सहि सूचना फैलाउन सहयोग गर्नुहोस् । तपाई जानकार भएको विषयको सूचना तपाइले दिनुभयो भने गलत व्यक्ति त्यसै पछाडी पर्छन् । कृपया निश्कृय नबस्नुस् ।
परिचित र भरपर्दा समाचार संस्थाहरूको पेज फलो गर्नुहोस् । राम्रा-स्थापित पत्रकार, राजनीतिक दलका नेता, व्यवसायी वा कलारकारको पेज फलो गर्नुहोस् । यस्ता एकाउन्टमा भेरिफाइड ट्याग छ भने झनै विश्वासको आधार बन्छ । झुक्काउने नक्कली नाम र एकाउन्टसँग सचेत हुनुहोस् ।
र अन्तमा, जसले जे सुकै सूचना दिए पनि त्यसबारे अरू व्यक्ति वा स्रोतको कुरा पनि सुनेर धारणा बनाउनुहोस् । सूचना विश्लेषणका लागि आफ्नै क्षमता बढाउनुहोस् ।