प्रधानमन्त्रीले भने- पत्रकारितामा दुःख छ भन्ने मैले राम्ररी बुझेको छु



काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि सुरू भएको नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन गर्दै उनले मुलुकका विभिन्न समयमा भएका परिवर्तनमा पत्रकारिता जगत्को अत्यन्त महत्वपूर्ण योगदान रहेको र  अब देश निर्माणमा समेत सञ्चार क्षेत्रबाट अझ बढी योगदान हुनुपर्नेमा जोड दिए ।

एक प्रसङ्गमा उनले भने, ‘नेपालमा मिडिया धेरै छन्, ती आर्थिक रुपमा कमजोर छन्, पत्रकारितामा दुःख छ भन्ने मैले राम्ररी बुझेको छु ।’

अभिव्यक्ति र पूर्ण प्रेस स्वतन्त्रताको हक संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै उनले संविधान कार्यान्वयनका लागि निर्धारित समयभित्रै सबै निर्वाचन गर्नुपर्ने बताए।

उद्घाटन समारोहमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आमसञ्चार नीति र श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारिता क्षेत्रलाई स्वतन्त्रतासँगसँगै मर्यादित बनाउनुपर्नेमा जोड दिए।

नेकपा ९एमाले० का प्रचार तथा प्रकाशन विभाग प्रमुख योगश भट्टराई, नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महत र नेकपा ९माओवादी० का प्रवक्ता पम्फा भुसालले मुलुकको वर्तमान समस्या समाधानका लागि दलहरू आपसमा मिलेर जानुपर्ने बताए ।

पत्रकार पुरस्कृत

प्रधानमन्त्री देउवाले पत्रकार महासंघले स्थापना गरेको  ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार विजयकुमार पाण्डेलाई प्रदान गरे। पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।

त्यसैगरी ‘गोविन्द वियोगी राष्ट्रिय पत्रकारिता पुरस्कार’  वरिष्ठ पत्रकार भैरव रिसाल र कृष्ण सेन ‘इच्छुक’ राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार कोमल बराललाई प्रदान गरिएको छ । ती पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ छ ।

त्यस्तै ‘उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ पत्रकार सीमा सिंह शर्मा र ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ स् पुष्कर थापा ९मरणोपरान्त० लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ छ ।

कार्यक्रममा ‘स्वतन्त्र सेनानी सम्मान’ हर्ष सुब्बा ९सुनसरी०, अशोक रौनियार ९धनुषा०, वसन्त पोखरेल ९रूपन्देही० र रामबहादुर केसी ९सिन्धुपाल्चोक० लगायत १२ जनालाई प्रदान गरिएको छ ।

सोही अवसरमा पत्रकार महासंघ भारत शाखाले ४० हजार रुपैयाँ र पत्रकार महासंघ काभ्रे शाखाले ५० हजार रुपैयाँ बाढीपीडितलाई आर्थिक सहयोग गरेका छन् ।

नयाँ नेतृत्वका लागि प्रत्येक तीन/तीन वर्षमा हुने महाधिवेशनले नयाँ कार्यसमितिसमेत चयन गर्ने छ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष दुई, महासचिव १, सचिव ६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

यस पटकदेखि दलित र  मधेशी सचिव पनि थपिएको महासंघका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए ।

सात प्रदेशसहित काठमाडौँ उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० प्रदेशमा नयाँ नेतृत्व चयन गरिने छ । प्रत्येकबाट दुई केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । महाधिवेशनमा एक हजार ५१५ प्रतिनिधिको सहभागिता हुनेछ । महासंघमा करिब १० हजार पत्रकार आबद्ध छन् ।


क्लिकमान्डु