बाढी पिडीतलाई सामान राहत दिनेले भदौ ३० भित्र दिइसक्नु पर्ने




काठमाडौं । बाढी पिडीतलाई राहतमा सामान दिन चाहनेले आगामी भदौ ३० गतेभित्रमा सहयोग दिइसक्नु पर्ने भएको छ । शुक्रबार मुख्य सचिब राजेन्द्र किसोर क्षेत्रीको अध्यक्षतामा बसेको सचिब बैठकले यस्तो निर्णय गरेको हो ।

विपद् ब्यवस्थापनमा बैदेशिक सहयोग दिन चाहेमा त्यस्तो सहयोग स्वीकार गर्ने निर्णय यसअघि नै मन्त्रिपरिषद बैठकले गरेको थियो । सो बैठकले गरेको निर्णय परराष्ट्र मन्त्रालय मार्फत सबै कुटनीतिक नियोगहरुलाई जानकारी गराउने निर्णय पनि सचिब बैठकले गरेको छ ।

नगद सहयोग गर्न चाहने बिदेशस्थित ब्यक्ति तथा संस्थाहरुले प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषको नाममा स्ट्यान्डर्ड चार्टर्ड बैंकको खाता नम्बर ०००१०१३२४३८०१ मा जम्मा गर्न सक्ने ब्यवस्था मिलाइएको मुख्य सचिबको कार्यालयले जानकारी दिएको छ । भदौ ३० सम्म चलान (डेलिभरी) हुने बस्तुगत सहयोग लिने ब्यवस्था मिलाइएको र त्यस्तो सहयोग गृह मन्त्रालयले तोकको स्थानमा हस्तान्तरण गर्ने ब्यवस्था मिलाइने सो बैठकले निर्णय गरेको छ ।

बस्तुगत सहयोग दिन चाहने ब्यक्ति वा संस्थाले सम्बन्धित जिल्ला दैबी प्रकोप उद्धार समितिसँग समन्वय गरी सो समितिले तोकेको प्राथमिकता र क्षेत्रमा सम्बन्धित स्थानीय तहले राहत वितरण गर्न सक्ने ब्यवस्था मिलाइएको छ । राहत उपलब्ध गराउने ब्यक्ति वा संघ संस्थाले सो क्रममा सहभागी हुन चाहेमा सहभागी गराइने निर्णय पनि सचिब बैठकले गरेको छ ।

यस्तै विषयगत मन्त्रालयहरुबाट खोजी, उद्धार, राहत तथा पुनस्र्थापनाका सम्बन्धमा भए गरेका कार्य प्रगतिको दैनिक विवरण गृह मन्त्रालयको केन्द्रीय दैबी प्रकोप उद्धार समितिलाई उपलब्ध गराउने ब्यवस्था पनि मिलाउने निर्णय भएको छ ।

प्रभावित क्षेत्रका सडक, बत्ती, विजुली, संचार, स्वच्छ खानेपानी लगायतका सेवा सुबिधाहरु तत्काल सुचारु गर्न विषयगत मन्त्रालयहरुले उच्च प्राथमिकताका साथ कार्य गर्ने निर्णय पनि सचिब बैठकले गरेको छ ।

विषयगत मन्त्रालयहरुले आआफ्नो संयन्त्र परिचालन गरी विपदबाट भएको सार्वजनिक सम्पत्तिको क्षति वा नोक्सानी विवरण लिइ केन्द्रीय दैबी प्रकोप उद्धार समितिलाई उपलब्ध गराउने निर्णय पनि सचिब बैठकको छ । त्यस्तो विवरण लिदा स्थानीय तहको सहयोग लिने पनि निर्णय भएको छ । ब्यक्तिगत सम्पत्तिको क्षति वा नोक्सानीको हकमा जिल्ला दैबी प्रकोप उद्धार समितिले स्थानीय तहसँग समन्वय गरी गृह मन्त्रालयबाट तोकिएको ढाँचा बमोजिम संकलन संकलन गर्ने र सोको विवरण १० दिनभित्रमा केन्द्रीय दैबी प्रकोप उद्धार समितिमा उपलब्ध गराउने निर्णय पनि सचिब बैठकमा भएको छ ।

विपद् प्रभावित क्षेत्रमा प्रकोप महामारी फैलिन नदिन मरेका जीवजन्तु, पशुपक्षी लगायतको ब्यवस्थापन गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पशुपक्षी विकास मन्त्रालय र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहसँग सहयोग लिई तत्काल गर्ने र सोको प्रगति विवरण केन्द्रीय दैबी प्रकोप उद्धार समितिमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।


क्लिकमान्डु