भैरहवामा घरजग्गा कारोबार ठप्प, व्यवसायी भन्छन्- ब्याज तिर्न नसकेर समस्यामा परेँ



भैरहवा । रुपन्देहीको व्यापारिक सहर भैरवहा कुनै समय घरजग्गा कारोबारका लागि हब नै मानिन्थ्यो । व्यापार÷व्यवसाय, रोजगारका लागि अबसर खोज्दै भैरवहा आउनेहरु यतै घरघडेरी जोड्न मरिमेट्थे । जसले यहाँ घरजग्गाको कारोबार निकै मौलाएको थियो ।

कारोबार मौलाउँदै गएपछि जग्गाको मूल्य पनि उत्कर्षमा पुगेको थियो । खेतीयोग्य जग्गाहरु पनि व्यवसायीहरुले प्लटिङ गरि टुक्र्याएर घडेरीमा बेच्थे । यतिसम्म कि जग्गाको कारोबार फस्टाउँदै गएपछि तरकारी बेच्नेदेखि पान पसलेसम्म जग्गा कारोबारमा सक्रिय थिए ।

‘हामीले कारोबार गर्ने भनेको बैंकबाट हो, जब बैंकले नै कर्जामा रोक लगाएपछि के गर्ने ? विगतमा लिएको कर्जाको ब्याज तिर्दा तिर्दै समस्यामा परेको छु,’ व्यवसायीले दुखेसो पोखे ।

तर, पछिल्लो ५ महिनायता भैरवहा मात्रै होइन, रुपन्देही जिल्लामै घरजग्गाको कारोबार ठप्प भएको छ । लगानी योग्य पुँजी (तरलता) अभावका कारण बैंकहरुले घरजग्गामा लगानी गर्न छाडेपछि यो कारोबार ठप्प भएको व्यवसायीहरु बताउँछन् ।

‘गत माघ महिनासम्म जग्गाको कारोबार राम्रैसँग भइरहेको थियो, तर फागुनदेखि ठप्प भएको छ,’ एक जग्गा व्यवसायीले क्लिकमाण्डूसँग भने, ‘बैंकले ऋण दिनै छाडे, त्यसपछि कारोबार ठप्प भएको हो ।’

बैंकहरुले घरजग्गा कर्जामा कडाइ गरेपछि गत फागुनयता घरजग्गा सम्बन्धि ठुल्ठुला कारोबार रोकिएको हो । कारोबार रोकिए पनि जग्गाको मुल्यमा कुनै गिरवाट नआएको ती व्यवसायी बताउँछन् ।

मालपोतको तथ्याङ्क अनुसार यसपटक बुटवल भैरहवाको बीचमा रहेको तिलोत्तमा नगरपालिकाभित्र जग्गाको किनबेच सबैभन्दा धेरै भएको छ ।

‘जग्गाको कारोबार भएको छैन तर मूल्य भने घटेको छैन,’ उनले भने, ‘आगामी दिनमा व्यवसायले गति लिने आशामा व्यवसायीहरु मूल्य घटाएर बेच्न तयार छैनन् ।’

राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिबाट घरजग्गा व्यवसायमा प्रवाह हुने कर्जामाथि गरेको कडाई केही खुकुलो बनाउने व्यवसायीहरुको अपेक्षा थियो ।

तर, राष्ट्र बैंकले व्यवसायीहरुको अपेक्षा अनुसारको मौद्रिन नीति ल्याएन । जसकारण आफूहरु अझधेरै निराश भएको व्यवसायीहरुको गुनासो छ ।

‘हामीले कारोबार गर्ने भनेको बैंकबाट हो, जब बैंकले नै कर्जामा रोक लगाएपछि के गर्ने ? विगतमा लिएको कर्जाको ब्याज तिर्दा तिर्दै समस्यामा परेको छु,’ ती व्यवसायीले दुखेसो पोखे ।

घरजग्गाबाट डेढ अर्ब राजस्व

रुपन्देहीमा घरजग्गा कारोबारबाट एक बर्षमा डेढ अर्ब रुपैयाँ बढी राजश्व संकलन भएको छ । मालपोत कार्यालय रुपन्देहीका अनुसार गत आर्थिक बर्ष २०७३/२०७४ मा जिल्लामा घर जग्गाको कारोबार बापतको १ अर्ब ५० करोड, ७१ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

‘कारोबारमा शिथिलता नआएको भए २ अर्ब राजस्व उठ्थ्यो,’ मालपोत कार्यालयका एक कर्मचारीले भने ।

संकलित राजश्वमध्ये रजिष्ट्रेशन दस्तुर अर्थात् घर जग्गा किनबेच गर्दा तिर्नुपर्ने राजश्व १ अर्ब ९ करोड ७० लाख ८६ हजार रुपैयाँ संकलन भएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा यो रकम झण्डै साढे १७ करोड रुपैंयाले मात्रै बढी हो ।

जग्गा कारोबारीका अनुसार रुपन्देहीमा लुम्बिनी अंचलका पहाडी, छिमेकी तथा अन्य जिल्लाहरुबाट समेत आवास तथा व्यापारिक प्रायोजनका लागि जग्गा खरीद गर्नेहरुको संख्या हरेक बर्ष बढ्दो छ ।

आर्थिक बर्ष २०७२/२०७३ मा रजिष्ट्रेशनबापतको राजश्व ९२ करोड ४३ लाख संकलन भएको थियो । रुपन्देहीमा एक बर्षमा ३७ हजार ५ सय ४७ वटा पुर्जा बिक्री भएका छन । पुर्जा बिक्रीबाट जिल्लामा ९ लाख २६ हजार रुपैँया राजश्व जम्मा भएको छ ।

त्यस्तै लाभकर बापत २९ करोड ९० लाख ४३ हजार उठेको छ । यसका अलावा मालपोतले सेवा शुल्क, जग्गा रोक्का लगायतका शिर्षकमा पनि राजश्व संकलन गरेको छ ।

मालपोतका अधिकृत भन्छन्- स-सानो कारोबार भइरहेको छ

मालापोत कार्यालय भैरहवाका सुचना अधिकृत दामोदर भण्डारी पनि घर जग्गाको लगानीमा बैंकले कडाइ गरेपछि भैरहवा र आसपासका क्षेत्रमा जग्गाको ठुला कारोबारमा कमी आएको बताउँछन् । जसकारण राजश्व संकलनमा पनि असर परेको उनको भनाई छ ।

‘बैंकको जग्गा कर्जा रोकिएपछि ठुल्ठुला कारोबार भएका छैनन् तर व्यक्तिगत र व्यवसायिक प्रयोजनका लागि हुने खरिद बिक्री राम्रै छ,’ भण्डारीले भने ।

तिलोत्तमा नगरपालिकामा सबैभन्दा धेरै कारोबार

मालपोतको तथ्याङ्क अनुसार यसपटक बुटवल भैरहवाको बीचमा रहेको तिलोत्तमा नगरपालिकाभित्र जग्गाको किनबेच सबैभन्दा धेरै भएको छ ।

बसाइँ सराइ गरी आउनेहरुका साथै औद्योगिक लगानीकर्ताको रोजाइमा तिलोत्तमाका ग्रामिण भेग पर्ने गरेको मालपोत काार्यालय बुटवलका लेखा अधिकृत रामप्रसाद ज्ञवालीले बताए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिका (भैरहवा) भित्र पनि घर जग्गाको कारोबार उच्च रहेको मालपोत कार्यालय भैरहवाले जनाएको छ ।

पश्चिमाञ्चलको व्यापारिक, आर्थिक तथा शैक्षिक केन्द्रको रुपमा विकास हुदै गएको रुपन्देहीमा बसाइ सराइ गरी आउनेहरुको संख्या बर्षेनि बढ्दो छ ।

यसकारण भैरवहामा आकर्षण

सबैभन्दा धेरै मानिस बसाइँ सराइ गरी आउने जिल्लाहरु मध्येमा यो जिल्ला दोस्रो नम्बरमा पर्छ ।

भैरहवामा अन्तर्राष्ट्रिय बिमानस्थल, विशेष आर्थिक क्षेत्र सेज, बुटवल वेलहिया ६ लेन व्यापापरिक मार्ग, बुद्धसर्किट निमार्ण, लुम्बिनी गुरुयोजना लगायतका विकासे योजनाहरु जिल्लामा प्राथमिकताका साथ अघि बढिरहेका छन् ।

पर्यटन, व्यवसायिक कृषि तथा अन्य उद्योग व्यापार व्यवसायमा प्रसस्त सम्भावना बढ्नुका साथै छिमेकी जिल्लाको तुलनामा शिक्षा, स्वास्थ्य तथा भौतिक पुर्वाधाार निर्माणका कामले गति लिएकाले यहाँ घरजग्गा खरीद गर्नेहरु बढेका हुन् ।

जग्गा कारोबारीका अनुसार रुपन्देहीमा लुम्बिनी अंचलका पहाडी, छिमेकी तथा अन्य जिल्लाहरुबाट समेत आवास तथा व्यापारिक प्रायोजनका लागि जग्गा खरीद गर्नेहरुको संख्या हरेक बर्ष बढ्दो छ ।

जसकाकारण बुटवल, भैरहवा तथा तिलोत्तमा नगरपालिकाका साथै जिल्लाका ग्रामिण भेगमासमेत जग्गाको कारोबार तीब्ररुपमा अघि बढेको छ ।


पुष्प दुलाल