सरकारले ५० अर्ब राजस्वको लोभ गर्दा एउटै कम्पनीले गुमायो ४९० अर्ब




नयाँ कर लगाउने सरकारको एउटा निर्णयले एउटै कम्पनीले ४ खर्ब ९० अर्ब भारु गुमाउनु परेको छ । भारतमा जीएसटी काउन्सीलले चुरोटमा कर बढाएपछि आइटीसीको सेयर मुल्यमा १५ प्रतिशतको गिरावट आएको छ, जसका कारण कम्पनीको बजार पुँजीकरण ४९ हजार करोड भारुले घटेको छ ।

भारत सरकारले अतिरिक्त राजस्वको लागि चुरोटमा कर बढाएको हो । चुरोटमा कर बढाएपछि भारत सरकारको राजस्वमा ५ हजार करोड भारुको बढोत्तरी हुने छ, जुन पहिला सिधै उत्पादकहरुको ढुकुटीमा गैरहेको थियो ।

जीएसटी काउन्सीलले सोमबार चुरोटको लम्बाइको हिसाबले कर निर्धारण गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै आइटीसीको सेयर मुल्य १५ प्रतिशतले झरेको छ । सोमबार कम्पनीको सेयर मुल्य ३२५.७५ भारुमा बन्द भएको थियो । मंगलबार कम्पनीको सेयर मुल्य ११ प्रतिशत घटेर २९३.२० भारुमा खुल्यो । र, कारोबारको दौरान थप घटेर २७७ भारुमा बन्द भयो ।

यसरी सेयर मुल्य १५ प्रतिशतले घट्दा आइटीसीको बजार पुँजीकरण ४९ हजार करोडले घटेको छ । सोमबार कम्पनीको बजार पुँजीकरण ३ लाख ९४ हजार ९ सय ७२ करोड भारु थियो भने मंगलबार घटेर ३ लाख ५० हजार ४ सय ४९ करोडमा आइपुगेको छ ।

यो भन्दा पहिले आइटीसीको सेयर मुल्य जुलाई ३ तारिखमा ३ सय ५३ भारु पुगेको थियो, जुन अहिलेसम्मै उच्च थियो ।

एउटै सेयरधनीले गुमाए ८ हजार करोड भारु
आइटीसीको सयेर मुल्य यसरी एकै दिन १५ प्रतिशतले घट्दा कम्पनीको सबैभन्दा ठूलो सेयरधनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) ले मात्र ८ हजार १ सय ५० करोड भारु गुमाएको छ ।

राज्यद्धारा सञ्चालित बीमा कम्पनीले कारोबार शुरु भएको केही मिनेटमै ७ हजार करोड भारु गुमाएको हो । करोबार शुरु भएदेखि नै आइटीसीको सेयरमा बिक्री चाप देखिएको थियो ।

एलआइसीसँग आइटीसीको १६.२९ प्रतिशत सेयर हिस्सेदारी रहेको छ । पछिल्ला बर्षहरुमा एलआइसीले आइटीसीमा बिस्तारै आफ्नो हिस्सेदारी बढाउँदै लगेको थियो ।

आइटीसीकमा आएको गिरावटबाट भारतको आन्तरिक बीमा कम्पनीहरुले मात्र ११ हजार २ सय ५० करोड भारु गुमाएका छन् ।


क्लिकमान्डु