प्रयोगशाला परीक्षण गरिएका केरा रोप्दै, दुई हजार ६२० बिगाहामा केराखेती



चितवन। किसानले प्रयोगशाला  परीक्षण (टिस्युकल्चर) गरेका केराका बिरुवा रोप्न थालेका छन् ।

केराको फेदबाट निस्किएका गाना र पोथ्राको प्रयोग गरी बिरुवा निकाल्दै आएका किसान गानोको टिस्युकल्चर गरेर उत्पादन गरिएका बिरुवातर्फ आकर्षित हुन थालेका छन् ।

यस वर्ष किसानले पाँच हजार ५०० बिरुवा माग गरेकामा केहीले लगाउन थालेका चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले बताए । ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत भारतको महाराष्ट्र राज्यबाट बिरुवा ल्याई लगाउन थालिएको छ ।

टिस्युकल्चर गरेका बिरुवा रोग प्रतिरोधात्कम र उत्पादन क्षमता बढी हुने गर्छ । ‘यस वर्ष ५० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिएको हो,’ चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजन गौतमले भने ।

प्रति बिरुवा ५० रुपैयाँ पर्छ ।

केराका बोट पहेँलो हुँदै जाने, गुबो कुहिने र बोट सुक्दै जाने रोग देखा परेपछि कृषिविज्ञले टिस्युकल्चर गरेको  बिरुवा रोप्न सुझाव दिएका छन् । जिल्लाका अधिकांश किसान मालभोग केरा लगाउँछन । विसं २०६८ देखि उद्योग वाणिज्य संघ चितवनले केराखेती विस्तार गर्न ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम सञ्चालन गरेको हो ।

जिल्लामा ६०० भन्दा बढी किसानले दुई हजार ६२० बिगाहामा केराखेती गर्दै आएका छन् । यहाँ वार्षिक एक अर्ब रुपैयाँ बढीको केराको कारोबार हुन्छ ।


क्लिकमान्डु