सस्तोमा सामान किन्न भारतीय बजार जाने दिन गए




काठमाडौं । उपभोग्य सामान सस्तोमा पाइन्छ भन्ने सोचेर भारतीय बजारमा जाने गर्नुभएको छ वा सोचमा हुनुहुन्छ ? हो भने बिचार गर्नुहोस् । नेपाली बजारमा भन्दा सस्तो मूल्यमा भारतीय बजारमा सामान पाइने सोचेर किनमेलको लागि जादै हुनुहुन्छ भने तपाईलाई नेपालभन्दा महंगो पर्छ ।

भारत सरकारले आगामी हप्तादेखि वस्तु तथा सेवा कर (जिएसटी) लागू गर्दैछ । यसले भारतीय वस्तुको मूल्य बढाउँछ । आगामी सातादेखि मूल्य बढ्ने भन्दै अहिले भारतीय बजारमा विभिन्न अनलाइन साइटमा छुटको बहार चलेको छ ।

भारतको कर प्रशासनमा ठूलो सुधार मानिएको जिएसटी नेपालमा लागू भएको मूल्य अभिबृद्धि कर (भ्याट) जस्तै हो । भारत सरकारले जिएसटी कर न्यूनतम ५ प्रतिशत लगाउनेछ । वस्तु र सेवा हेरेर करको अनुपात बढ्ने छ । जिएसटीको दर ५, १२ र १८ प्रतिशतसम्म लाग्ने छ ।

कृषि उपजमा कर लाग्ने छैन । तर, ब्राण्डेड सामानमा जिएसटी लाग्ने छ ।

दुई तिहाई औपचारिक व्यापार भारतसँग हुने हुँदा भारतले लिने आर्थिक नीतिको प्रभाव स्वभाविक रुपमा नेपाली बजारमा पर्छ । भारतले स्वतन्त्रतापछि कर प्रणालीमा सबैभन्दा ठूलो सुधार गरेको अहिले हो । यसले राज्य सरकारपिच्छे लाग्ने करलाई अन्त्य गरेको छ । यद्यपि भारतमा पनि जिएसटीबारे उपभोक्तामा अन्यौल छ ।

नेपाल र भारतबीच हुने खुला सिमानाले अनौपचारिक बजारलाई बढावा दिने गरेको छ । सर्वसाधारण सस्तो सामान पाइने भन्दै भारतीय सिमावर्ती बजारमा किनमेलको लागि जाने होस् या व्यापारीले अनौपचारिक माध्यमबाट सामान भित्र्याउने व्यापार वर्षौदेखि चल्दै आएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका जिएसटीले नेपाल र भारतबीच हुने अनौपचारिक व्यापारलाई घटाउन मद्दत गर्ने बताउँछन् ।

‘भारतबाट नेपालमा निर्यात हुने वस्तुमा जिएसटी लाग्दैन, यसले औपचारिक रुपमा हुने व्यापारलाई बढाउन मद्दत गर्छ,’ मुरारकाले क्लिकमाण्डूसँग भने ।

भारत सरकारले औपचारिक रुपमा निर्यात हुने वस्तुमा जिएसटी लगाउने छैन । उदाहरणको लागि भारतीय बजारमा साडी खरिद गर्न जाँदा त्यसमा जिएसटी लाग्छ । तर, औपचारिक माध्यमबाट भन्सार तिरेर आयात गर्दा जिएसटी लाग्दैन । नेपाली बजारमै भारतीय बजारमा पाइने मूल्यमा सामान पाइन सक्ने हुन्छ । भारतीय बजार जानुपर्ने समयको लागत र त्यसको खर्च जोड्दा नेपाली बजारमा सस्तो पर्न आउँछ ।

अनौपचारिक बजारबाट सामान भित्र्याउनेले जिएसटी तिर्नुपर्ने हुन्छ । जुन लागत महंगो पर्छ ।

पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा पनि जिएसटीको फाइदा औपचारिक रुपमा आयात गर्नेलाई हुने बताउँछन् ।

‘जिएसटीले भारतबाट अनौपचारिक तरिकाले सामान भित्र्याउन लागत महंगो पर्छ, अनौपचारिक व्यापारमा लागत बढी भएपछि स्वभाविक रुपमा औपचारिक रुपमा आयात बढ्छ,’ ओझाले भने ।

जिएसटी लागू भएपछि भारतबाट निर्यात हुने सामानमा जिएसटी नलाग्ने र आयात हुने सामानमा जिएसटी लाग्ने भनिएको छ । नेपाल भारतबीच भएको वाणिज्यसन्धीले नेपालले भारत निर्यात गर्दा सुविधा पाउने गरेको छ । महासंघका पूर्व अध्यक्ष मुरारका निर्यातलाई खासै असर नगर्ने भन्दै सर्भिस करको विषयमा अन्यौल कायम रहेको बताउँछन् ।

भारतले आयातित सबै बस्तुमा जिएसटी लागू गर्ने भनेको छ । तर, नेपालबाट भारत निर्यात गर्दा नेपाली बस्तुमा जिएसटी लाग्ने नलाग्ने अझै प्रष्ट भएको छैन । पूर्व वाणिज्य सचिव ओझा भने भारत सरकारले आयातमा जिएसटी लगाउने हुँदा नेपालको निर्यात महंगो हुने बताउँछन् ।


क्लिकमान्डु